राष्ट्रवादी आन्दोलनको अग्रिम मोर्चा

राष्ट्रवादी आन्दोलनको अग्रिम मोर्चा


  • विजय खड्का

१५ फागुनको बिहानी । फुङलिङको मौसम निकै चिसो थियो । चारैतिर हुस्सु, कञ्चनजङ्घा रेञ्जलाई बादलुको घुम्टोले ढाकेको अवस्था, चिसोको बाबजुद जनतामा उत्साह देखिन्थ्यो । एउटा बेग्लै कुतूहल, सडकमा चहलपहल छ । नयाँ अनुहार यत्रतत्र देखिन्थे । हिन्दू, बौद्ध, किरात, मधेस, पहाड, हिमालको प्रतिनिधित्व गर्ने झाँकीसहितको स्वाभिमान यात्राको रथ १४ गते मध्यरातमा नै फुङलिङ बजार प्रवेश गरिसकेको थियो ।

बिहानीको करिब ९ः३० बजे राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा ठूलो जनसमुदाय बजार अवस्थित पाथीभरामाताको दर्शन गर्न बाजागाजाको साथ बडो उत्साहपूर्ण मुद्रामा निस्कियो । १४ गते पाथीभरा मन्दिरमा अनुष्ठान गरी फर्केको राप्रपाको धार्मिक टोली पनि त्यही जुलुसमा समाहित भयो । फुङलिङ बजारको सानो सडक राप्रपा र सनातन धर्मका झण्डाहरूले शोभायमान भयो । हिन्दूराष्ट्र जिन्दावादको गगनभेदी नाराले फुङफिङ बजार गुञ्जायमान हुँदा जनजाति बहुल ताप्लेजुङका स्थानीयले जुलुसलाई हार्दिकतापूर्वक स्वागत गरे ।

जनजाति सङ्गठनको नाममा स्वाभिमान यात्राको विपक्षमा निकालिएको विरोधको खासै प्रभाव परेन । राप्रपा नेताहरूले सभालाई सम्बोधन गर्दै नेपाल हिन्दूराष्ट्र हुनुपर्ने जिकिर गरे, ताप्लेजुङको सभा सकिएको केही क्षणमै एउटा दुःखद समाचार छायो । मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटना हामी सबैको मन खिन्न भयो । अध्यक्षज्यूले शोक व्यक्त गर्नुभयो, सभामा मौन धारण गरियो । निर्धारित कार्यक्रम रोक्न सम्भव थिएन । ताप्लेजुङदेखि पाँचथर हुँदै इलामको जनजाति बहुल क्षेत्रमा राप्रपाले दश सानाठूला आमसभा तथा कोणसभा गऱ्यो । जनताको उत्साहप्रद उपस्थिति रह्यो । राप्रपाको किल्ला, पूर्वको रणनीतिक महत्वको स्थान झापामा राप्रपाले निकै ठूलो, भव्य र महत्वपूर्ण सभा गऱ्यो । उक्त सभा उत्साहपूर्ण मात्र नरही यात्राको पूर्ण रक्तसञ्चारमा कोसेढुङ्गा नै रह्यो ।

अहिले राजसंस्थाको विषयमा फैलाइएको अनर्गल भ्रमहरू र दुस्प्रचार जनताले बिस्तारै बुझ्न लागेका छन् । राजा मुलुक र जनताको लागि आवश्यक भएको जनता तथा राजनीतिक दलले पनि महसुुस गर्दै छन् । राजाको भ्रमणमा उत्साहजनक उपस्थिति रहने गरेको छ । यो भ्रमणले आममधेसी जनता राजसंस्था र हिन्दूराष्ट्रको मुद्दामा थप सकारात्मक हुने कुरा निःसन्देह छ ।

झापाबाट सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, हेटौँडा हुँदै भैरहवासम्म पुग्दा लगभग ८५ आमसभा, कोणसभा र धार्मिक अनुष्ठान तथा कार्यक्रमहरू समाप्त भएका छन्, मधेसबहुल प्रदेश २ मा पनि जनताले राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भव्यताका साथ स्वागत गरे । आफ्नो मत राखे, सुझाव दिए, ऐक्यबद्धता प्रदर्शन गरे । राप्रपा अध्यक्ष कमल थापाले मधेस क्षेत्रमै प्रचण्डको सरकारमा सामेल हुनु रणनीतिक भूल भएको भन्दै जनतासँग माफी मागे । अब सत्ताको भन्दा सिद्धान्तको राजनीतिमा केन्द्रित हुने वचन दिए । अर्काे सभामा राष्ट्र विखण्डनको नारा उचाल्ने सिके राउतलाई मधेसकै भूमिबाट चुनौती दिए । राष्ट्र विखण्डनको संवेदनशील विषयमा सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । जनतासँग प्रत्यक्ष संवाद, धार्मिक व्यक्तित्व तथा समाजसँग छलफल अन्तरक्रिया, मन्दिरहरूमा अनुष्ठान, भजन–कीर्तन गर्दै उल्लासमय र उत्साहित ढङ्गले राप्रपाको स्वाभिमान यात्रा अगाडि बढ्दै छ । आमसभामा उल्लेख्य उपस्थिति रहेको छ, सडकमा नै पत्रकार सम्मेलन गरिएको छ, आमसञ्चारमाध्यमले यात्राको समचारलाई महत्व दिएका छन् ।

यो उत्साह तथा सबै क्षेत्रको सहयोग र सद्भावले स्वाभिमान यात्रा सफलतापूर्वक अगाडि बढ्ने निश्चित छ । करिब २८०० किलोमिटर तय गर्ने यो राष्ट्रिय स्वाभिमान यात्रा पहिलो चरणमा ३६ जिल्लाको यात्रा तय गर्नेछ । सानाठूला ५०० सभा, कोणसभा, धार्मिक अनुष्ठान हुनेछ, जनतासँग प्रत्यक्ष संवाद हुनेछ । जनताको दैनिक समस्या, विकास निर्माण, सामाजिक कुरीतिलगायतको विषयमा राप्रपाले जनतासँग अन्तरक्रिया गर्नेछ, जनताले अहिले निर्धक्कसँग आफ्नो कुरा पार्टीलाई भनिराखेका छन्, यो हौसला निरन्तर जारी रहनेछ ।

नेपालीको राष्ट्रिय स्वाभिमान गिरेको बेला, सरकार, मुख्य राजनीतिक दलहरू किंकर्तव्यविमुख भएको अवस्थामा जनतालाई यो यात्राले सञ्जीवनीको काम गरेको छ । अब जनता ब्युँझिएका छन् । ०६२÷६३ को आन्दोलनमा नउठाइएको मुद्दामा राजनीतिक दलहरू प्रवेश गरेर किन गलत निर्णय गरे जनताले प्रश्न सोध्न थालेका छन्, राजसंस्था, सनातन हिन्दूराष्ट्र नहुँदा राष्ट्रियता कमजोर भएको महसुुस गरिरहेका छन् । यी तमाम सवालहरूको जवाफ दिँदै जनतालाई सचेत, दृढ र सबल बनाउन यो यात्रा कोसेढुङ्गा हुनेछ भन्नेमा दुईमत छैन ।

राप्रपाको स्वाभिमान यात्राको सेरोफेरोमा राजाबाट तराईको केही जिल्लाको भ्रमण हुन गइरहेको छ । अहिले राजसंस्थाको विषयमा फैलाइएको अनर्गल भ्रमहरू र दुस्प्रचार जनताले बिस्तारै बुझ्न लागेका छन् । राजा मुलुक र जनताको लागि आवश्यक भएको जनता तथा राजनीतिक दलले पनि महसुुस गर्दै छन् । राजाको भ्रमणमा उत्साहजनक उपस्थिति रहने गरेको छ । यो भ्रमणले आममधेसी जनता राजसंस्था र हिन्दूराष्ट्रको मुद्दामा थप सकारात्मक हुने कुरा निःसन्देह छ ।

अहिले वर्षा, हिमपात, जाडो केहीको प्रवाह नगरी राप्रपाको नेता तथा कार्यकर्ता आधा महिनाको लागि पूर्व मेची–पश्चिम महाकालीदेखि राजधानी काठमाडौंसम्मको लामो यात्रा तय गर्दै छन् । विगतमा भएको कमी–कमजोरीको जनतासमक्ष आत्मालोचित हुँदै भविष्यमा सत्ताभन्दा सिद्धान्त, निष्ठा र मुलुकलाई केन्द्रबिन्दु बनएर जनताको सेवामा जाने कुरामा जनतालाई आश्वस्त बनाउँदै छन् । जनताले राप्रपाको यो कदमलाई सहर्ष स्वीकार गरेका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारले जनताको आशा, भरोसामा तुषारापात गरेको छ । प्रतिपक्षी काङ्ग्रेस कम्युनिस्टको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको मुद्दा समातेर भाइ कम्युनिस्ट भएको र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न चुकेको अवस्थामा राष्ट्रवादी शक्तिलाई जनताले खोजेका छन् । जनताको विश्वास जित्दै तमाम देशभक्त राष्ट्रवादी शक्तिहरूलाई गोलबन्द गर्दै राप्रपाको नेतृत्वमा यो मुलुकको स्वाधीनता, समृद्धि तथा सनातन मूल्य र मान्यताको लागि गरिने जनआन्दोलनलाई सरकारले नजरअन्दाज गरे नेपाली जनताले सडकबाट नै हिन्दूराष्ट्र पुनर्स्थापित गर्नेछन् ।

राप्रपालगायत राष्ट्रवादी शक्तिले यो मुद्दालाई नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सके परिवर्तन निश्चित छ । मुलुकले विगत १२ वर्षदेखि भोग्दै आएको बेतिथि, विसङ्गति, भ्रष्टाचार, दुराचार, अराजकतालाई विस्थापित गर्न आन्दोलन अपरिहार्य तत्व हो । अबको आन्दोलनको नेतृत्व लिने नैतिक साहस भएको एक मात्र पार्टी राप्रपा हो । राप्रपाले सबै देशभक्त प्रजातान्त्रिक शक्ति, समूह, व्यक्ति तथा संस्थासँग गोलबन्द हुँदै मुलुकको तमाम विसङ्गति र विकृतिको विरूद्धमा विगुल फुक्न सक्नुपर्दछ । यो सफलतापछि मुलुकको राजनीतिले केही समयभित्र नै नयाँ कोर्स लिनेमा स्वदेश तथा प्रवासमा रहने तमाम राष्ट्रवादी समुदाय निश्चिन्त छन् । जय राष्ट्रवाद !

(लेखक राप्रपाका केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख हुन् ।)