फन टाइम

फन टाइम


funtime
अझै तरुनीले आँखा लगाउँछन्
वरिष्ठ, पुराना र दिग्गज कलाकार हुन् भीमबहादुर थापा । सडकनाटकदेखि रेडियो नेपाल हुँदै टेलिभिजन र ठूलो पर्दाको चलचित्रसम्म उनको काम, शान र मान चर्चित छ । पूर्वसेना थापाले यसै साता मात्र आफ्नो ९० वर्षको जन्मदिन मनाए । केही नयाँ र पुराना पुस्ताका हास्यकलाकारका साथ उनले जन्मदिन मनाएका थिए । त्यसै समयमा यी नब्बे वर्षीय कलाकारसँग केही रमाइलो कुराकानी गरिएको थियो ।
० जन्मदिनको शुभकामना !
– जस–जसले मलाई जन्मदिनको शुभकामना दिनुभयो सबैलाई धन्यवाद ।
० यो उमेरसम्म पनि यस्तो हट्टाकट्टाको रहस्यचाहिँ के हो ?
– दैनिक व्यायाम अनि सकारात्मक सोच र काममा व्यस्तता ।
० अब त बूढो भइयो जस्तो लाग्छ होला है ?
– कसले भनेको म बूढो भएँ भनेर ? मैले आफूलाई कहिले पनि बूढो ठानिनँ । र, म बूढो पनि हुन्न ।
० अहिलेसम्म बूढो भएको महसुस भएको छैन ?
– छैन, छैन । त्यो शब्द नै म उच्चारण गर्न चाहन्न । म त आफूलाई झनै जवान र युवक पो ठान्न थालेको छु आजभोलि ।
० तपाईंलाई त धेरैले वृद्ध युवक भनेर जिस्क्याउँछन् भन्छन् नि ?
– जिस्क्याउनेहरूको मुख थुन्न सकिन्छ र ? मलाई जिस्क्याउनेहरू नै बूढा हुन् । र, जसले आफूलाई बूढो भएको महसुस गर्छ त्यो मानिस त्यसै गल्छ र पछाडि पर्छ ।
० बाटोमा हिँड्दा यसो तरुनी केटी देख्यो भने खुब आँखा लगाउनुहुन्छ रे हो ?
– म होइन, उनीहरू नै मलाई आँखा लगाउँछन् ।
० तरुनी केटीले चाहिँ तपाईंलाई किन आँखा लगाउने ?
– यो उमेरमा पनि यस्तो रातोपिरो कसरी भएको होला भनेर मेरो तारिफ गर्दै ममाथि आँखा लगाएका हुन् ।
० भनेपछि चलचित्रमा अभिनय गर्ने जोस र जाँगर मरेको छैन ?
– कसरी मर्छ ? हरेक दिन नयाँ जोस, ऊर्जा र जाँगर आउँछ । अहिले पनि जस्तोसुकै भूमिका निभाउन सक्छु ।

टेलिभिजनकर्मी अस्टे«लियाको चुनावमा
कुनै समय नेपाल टेलिभिजन र एनटीभी प्लसबाट अभिमानसिंह बस्नेत टेलिभिजन कार्यक्रम बनाउँथे । कार्यक्रमको निर्माण, निर्देशन र परिकल्पना गर्थे उनी । अलि फरक खालको सोच र शैलीका टेलिभिजन कार्यक्रम निर्माण गरेर चर्चा पाएका अभिमान अहिले भने अस्टे«लियामा रहेका नेपालीमाझ पनि रामै्र चर्चामा छन् ।
केही समयअघि अस्टे«लिया पुगेका उनी अब भने संस्थागत रूपमा नै आफूलाई स्थापित गरेर नेपालीका लागि केही गरूँ भन्ने योजनामा लागिपरेका छन् । ‘यसकारणले पनि मैले एनआरएन अस्टे«लियामा हुन लागेको चुनावमा उम्मेदवारी दिने घोषणा गरेको हुँ,’ उनले भने । अभिमानले यसपटकको चुनावमा स्टेट कोअर्डिनेर (उपाध्यक्ष) को पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
अभिमानले समय–समयमा कामबाट पाएको फुर्सदमा अस्टे«लियामा नेपाली चलचित्र गीत–सङ्गीत र कला–संस्कृतिको विस्तार गर्ने कार्यमा पनि आफूलाई उभ्याइरहेका छन् । शनिबार हुन गइरहेको चुनावमा आफूलाई नेपालीले साथ दिने विश्वास उनले लिएका छन् । आफ्नो चुनावी घोषणामा अभिमानले अस्टे«लियामा नेपाली कला–संस्कृतिलाई पनि भरपूर स्थान दिने र त्यसको प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेरि भिडन्त
कहिले रित्तो हात त कहिले खातका खात । अहिले यस्तै अवस्था आउने भएको छ नेपाली चलचित्रको रिलिजमा । वैशाखदेखि कुनै पनि नयाँ सिनेमा रिलिज भएका छैनन् । मुलुक सङ्कटमा परेको अवस्थामा दर्शकहरू नहुने कारण देखाएर नयाँ सिनेमाका निर्माताहरू उपयुक्त मितिको प्रतीक्षामा रहेका छन् । यतिबेला सिनेमा हलहरू पुराना चलचित्रहरू चलाउन बाध्य भएका छन् भने अब यो अवस्थामा आगामी महिनादेखि सुधार आउने देखिन्छ ।
विडम्बना ! अहिले नयाँ चलचित्र छैनन् । तर, भदौमा एकसाथ जाममा परेको सवारीसाधनहरू गुडेजस्तो गरेर सिनेमा रिलिज हुने भएका छन् । यसरी अन्धाधुन्ध रूपमा सिनेमा रिलिज हुँदा निर्माताहरूबीच नै तँछाड–मछाडको अवस्था आउने निश्चित देखिएको छ । भदौ महिनामा नयाँ चलचित्रको रिलिजमा भिडन्त हुँदा निर्माताहरू आफैँ मारमा पर्ने देखिन्छन् । भदौका लागि आधा दर्जन सिनेमाले रिलिजको डेट निश्चित गरिसकेका छन् भने यो भीडमा कसैले पनि आफूलाई कमजोर ठानेका छैनन् र एक–अर्कासँग जुध्न तयार नै भएर बसेका छन् । अब हेर्नु छ कि यो भिडन्तमा को पछारिने हो, डुब्ने हो या को उत्रने वा या उकासिने हो ।

लन्डनको विख्यात हलमा नेपाली साङ्गीतिक कार्यक्रम
लन्डन/ गत आइतबार साँझ लन्डनस्थित नामुद एवम् प्रसिद्ध रोयाल अल्बर्ट हलमा नेपाली कलाकारहरूको साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । पाँच हजार दुई सय ७२ सिट क्षमता भएको सो हलमा कार्यक्रम गर्नुलाई संसारभरमा एक प्रतिष्ठाको रूपमा हेरिन्छ । सोही हलमा पहिलोपटक नेपाली साङ्गीतिक साँझ सम्पन्न भएको हो ।
गत अप्रिलको २५ तारिख नेपालको गोर्खा जिल्लालाई केन्द्रबिन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गई निकै मानवजीवनका साथै धनमालको नोक्सानी भएको सन्दर्भलाई पारेर च्यारिटेबल संस्था हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा र गायक योगेश्वर अमात्यको संयोजनमा उक्त साङ्गीतिक साँझ सम्पन्न भएको हो । ‘एन इभिनिङ फर गोर्खा’ नामक साङ्गीतिक साँझबाट उठाइएको रकममा खर्च कटाएर बाँकी रकम भूकम्पको केन्द्रबिन्दु परेको जिल्ला गोर्खालाई आर्थिक सहयोगलगायत राहतका अन्य सामग्रीहरू उपलब्ध गराउने भनिएको थियो । यसै कार्यक्रमको बारेमा पूर्वमा गरिएको एक पत्रकार सम्मेलनमा कार्यक्रमका आयोजक हेल्प नेपाल नेटवर्क यूके र संयोजक गायक योगेश अमात्यबाट अनुमानित रूपमा गरिएको आँकडाअनुसार ७५,००० पाउन्डबराबरको खर्च कटाएर लगभग ४५,००० पाउन्डजति गोर्खावासी भूकम्पपीडितलाई राहत नगद प्रदान गर्ने भनिएकोमा आइतबार भएको उक्त रोयल अल्बर्ट हलमा भएको नेपालीको ऐतिहासिक साङ्गीतिक साँझको उपलब्धि रह्यो त ?
छोटो समयमा आयोजना गरिएको कार्यक्रम भए पनि बेलायती नेपाली मिडियाहरूमा त्यसको प्रचारप्रसार व्यापक रूपमा भएको थियो । समयमै सुरु भएको उक्त ऐतिहासिक सांगीतिक साँझमा लगभग २,१०० जति दर्शकहरू सहभागी थिए । विशाल हलका विविध खण्डहरूमा छरिएर बसेका दर्शकहरू परैबाट पनि स्पष्ट देखिन्थे । हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष प्रणव ज्ञवालीले स्वागत मन्तव्य दिएपछि १७ जनाको विशाल टोलीले सांगीतिक साँझको सुरुवात गरेको थियो । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश अमात्य, दीपक थापा, जेम्स प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङले दुई चरण गरेर कार्यक्रममा आफ्नो प्रस्तुति दिए, जसको सञ्चालन भूषण दाहालले गरेका थिए । कार्यक्रममा योगेश अमात्यले गाएको ‘मेरो देश’ बोलको गीतलाई धेरै मन पराइएको थियो भने दीप श्रेष्ठको ‘बितेका कुरा…’ र ओमविक्रम विष्टको ‘म मौनतामा…’ बोलको गीत तथा प्रस्तुतिलाई विशेष मन पराइएको थियो ।
यत्रो ठूलो जम्बो टोली ल्याएर उक्त विशाल हलमा ठूलो खर्च राशि तिरेर तीन घन्टाको अवधिभरि सञ्चालन गरिएको कार्यक्रमले के नै मुनाफा ल्याउँछ र कति नै गोर्खा जिल्लाका भूकम्पपीडितलाई राहतस्वरूप जाला ? कार्यक्रमको गणितीय विवरण केही दिनमा गरिने आयोजकहरूबाट भनिएको भए तापनि सजिलै अनुमान गर्न सकिन्छ, भूकम्पपीडित च्यारिटीको अवसरलाई दुनियाँकै प्रतिष्ठितमध्ये एक हलमा सांगीतिक कार्यक्रम गरेर आयोजकले क्यास गर्नबाट चुके पनि नेपाली १७ जनाको साङ्गीतिक जम्बो टोलीले आ–आफ्ना क्यारिएरको प्रोफाइलमा एक माइलस्टोन भने थपेका हुन् । तिनलाई आगामी दिनमा लन्डनको रोयाल अल्बर्ट हलमा साङ्गीतिक साँझ दिएको भन्ने गरिमा नै काफी हुनेछ, जसको बारम्बार पुष्टि कलाकारहरूले आफ्ना भनाइमार्फत गरेका थिए ।
– प्रकाश के.सी. (लन्डनबाट)