विश्व विविध

विश्व विविध


ramailo-ghamailo2चिनियाँले चाड मनाउँदा अधिकारकर्मीलाई टेन्सन
बितेको साता पूरै विश्वले योग दिवस र फादर्स डे मनाउँदै गर्दा उता चीन भने डग मिट फेस्टिभलको धुनमा थियो । सुन्दैमा आश्चर्य लाग्छ, चीनको ग्वाङ्सी प्रान्तस्थित युलिन सहरमा कुकुरको मासु खाने चाड मनाउँदा दुई दिनमै दश हजार कुकुर र बिरालोको बध गरिएको थियो । सन् १९९० देखि मनाउन थालिएको उक्त फेस्टिभलमा हरेक वर्ष दश हजार कुकुर, चार हजार जति बिरालो र केही हजार अन्य जीवजन्तु मारेर खाने गरिन्छ । अहम् कुरा त यो छ कि फेस्टिभल आउनुअघि नै कुकुर र बिरालोलाई खोरमा बन्द गरिन्छ र चाड मनाउने दिन अत्यन्त क्रूरताका साथ तिनको हत्या गर्ने प्रचलन छ । पशु अधिकारकर्मीहरूले यसरी क्रूरतापूर्वक हत्या गरेर कुकुर–बिरालोको मासु खाने प्रचलन बन्द गराउन यतिबेला क्याम्पेन चलाइरहेका छन् । उक्त क्याम्पेनको समर्थनमा झन्डै चालीस लाख मानिसले हस्ताक्षरसमेत गरिसकेका छन् । स्थानीय प्रशासनले चाहिँ सरकारी तवरबाट यस्तो चाड मनाउन कुनै प्रोत्साहन नगरिएको तर्क गर्दै आँखा चिम्लने गरेको अधिकारकर्मीहरूको आरोप छ ।

साबुन खाने गर्भवती
गर्भवती अवस्थामा महिलाले अमिलो–पिरो खान मन पराउँछन् भन्ने त सबैले देखेजानेकै कुरा हो । यस्तो बेला सहरबजारमा बस्ने धेरैजसो महिला चिकन, आइसक्रिम, सेन्डविचजस्ता खानेकुरा खान हरदम लालायित रहन्छन् । तर, बेलायतको ब्रिस्टलनिवासी एक महिला गर्भवती अवस्थामा साबुन खाने लत बसेपछि चर्चित बन्न पुगेकी छिन् । आठ महिनाकी गर्भवती जेस गेफोर्डलाई एक दिन अचानक के खाउँ के खाउँ भन्ने तलतल लागेपछि आफ्नो अघिल्तिर रहेको साबुन चाट्न मन लागेछ । त्यसरी पहिलोपटक साबुन चाट्दा उनलाई त्यसको स्वाद असाध्यै मन परेछ । फलतः त्यसयता दिनहुँ उनले डोव ब्राण्डको साबुन बिहान–बेलुकी नै खाँदै आएकी छिन् । साबुनको अलावा ह्यान्ड सेनेटाइजर पनि उनको खान्की हुने गरेको छ । सुन्दा जति नै अनौठो लागे पनि जेस भने आफूलाई साबुनको स्वाद अत्यन्त स्वादिलो लाग्ने गरेको बताउँछिन् । साबुन खाने आदतकै कारण पेटमा भएको बच्चालाई कुनै असर नपर्ने जानकारी चिकित्सकले दिएकोले जेस निकै प्रफुल्ल छिन् ।

अजिङ्गरले दुम्सी निलेपछि…!
संसारमा भोक नलाग्ने प्राणी कुन होला ? मानिस होस् कि चराचुरुङ्गी, जनावर हुन् कि कीरा–फट्याङ्ग्रा, सबै भोकाउँछन् र जसरी होस् आ–आफ्नो आहारा जुटाउँछन् पनि । चित्रमा देखाइएको अजिङ्गर पनि निकै भोकाएको रहेछ । तर, भोक मेटाएर जीवन धान्न खोज्दा दुर्भाग्यले उल्टै उसले मृत्यु निलेपछि चर्चाको विषय बन्न पुग्यो । घटना दक्षिण अफ्रिकाको हो । भोको अजिङ्गरको सामु एक १३ किलोको दुम्सी प्रकट भएछ । ठुल्ठूला प्राणीलाई पनि सुलुत्तै निल्न सक्ने अजिङ्गरले एक झपटमै दुम्सीलाई मुखमा त हुल्यो, तर त्यसको केही समयपछि नै आफैँ कालको मुखमा पुग्यो । सुरुमा त ठूलो जीव निलेकोले पचाउन नसकेर अजिङ्गर मरेको ठानियो । पछि त्यसको पेट चिरेर हेर्दा मात्रै मृत्युको रहस्य खुल्यो । दुम्सीलाई जति–जति निल्दै गयो, त्यसका तीखा काँडाको कारण अजिङ्गरको शरीर पनि भित्रभित्रै छियाछिया हुँदै गएछ । भयानक दर्द सहन नसकी आहारा बनाउन खोजेको दुम्सीसँगै अजिङ्गरको पनि प्राणपखेरू उड्न पुग्यो ।

घोडा ताक्दा यस्तो सास्ती
पटक–पटक घोडासँग यौनसम्पर्क गरेर सजाय भोगेका एक अमेरिकी पछिल्लोपटक घोडाको लात खाएपछि अस्पताल भर्ना भएका छन् । घटना टेक्सासको हो । कास्टिटो नामक व्यक्तिले छिमेकीको घोडालाई पटक–पटक बलात्कार गर्दै आएका थिए । यस अपराधबापत दुईपटक त उनले जेलको हावासमेत खाइसकेका थिए । तर, घोडासँग सम्बन्ध राख्ने लतमा फसेका ४५ वर्षीय कास्टिटोको आदतमा सुधार आएन । पछिल्लोपटक पनि घोडासँग यौनसम्बन्ध राख्न खोज्दा रिसाएको घोडाले जोडले लात मार्दा उनको खुट्टा नै भाँचिन पुग्यो, फलतः यतिबेला उनी अस्पतालमा छन् । घोडाप्रतिको आसक्तिकै कारण घाइते बन्न पुगेका कास्टिटोले आफू कारको ठक्करबाट घाइते बनेको भन्दै प्रहरीलाई ढाँट्न खोजेपछि उनलाई ६ महिना जेलको हावा खुवाउने कारबाही अघि बढाइएको छ ।