‘पश्चिम सेती सरकारले बनाउँछ’

‘पश्चिम सेती सरकारले बनाउँछ’


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत् परियोजना वर्तमान सरकारले नै बनाउने बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले बहुचर्चित सो परियोजना वर्तमान सरकारको प्राथमिकतामा रहेको दाबी गरे ।

‘हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गरौँ भनेर भनेका छौँ’, उनले भने, ‘पश्चिम सेती अब भाषणमा हैन काममा देखिनेछ ।’ चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछि डोटीमा फेरि पश्चिम सेतीको चर्चा शुरु भएको छ ।

बुधबार बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमले समग्र जिल्लाभरिमा यसको राम्रै प्रभाव हुनेसमेत मुख्यमन्त्री भट्टले बताए । उनले भने, ‘डोटीबाट राजधानी खोसियो भनेर चिन्ता नलिनोस् विकास किन भएन भनेर खबरदारी गर्नुहोस् हामी विकास गर्नका लागि तयार छौँ ।’