ताल, तालिया र तर्कनाहरू – मणि लोहनी

ताल, तालिया र तर्कनाहरू – मणि लोहनी


Mani Lohaniतालको उकालो । उकालोमै भेट भयो तालियासँग ।
टन्टलापुर घाममा तालको उदेकलाग्दो उकालो । फुङ्ग उडेको ढुङ्ग्यानी पहाड र त्यसको बीचमा मानिसहरूको हातमा रहेको मृत्युरेखाजस्तो बाटो ।
त्यसो त तालको यो अन्तिम उकालो पनि हो । यो उकालोमा आफूसँगसँगै हिँडिरहेजस्तो लाग्छ, मृत्यु । हुन त जन्मसँगै छायाजस्तो रहेको छ मृत्यु हामीसँगै । कुनबेला कहाँनेर मृत्युले भड्खालोमा हाल्ने हो केही थाहा छैन । ढुङ्ग्यानी पहाडमा एकदेखि तीन फुटसम्मको चौडाइमा खोपिएको बाटो र तल एकनासले बगिरहेको गहिरो मस्र्याङ्दी । हिँडाइको ताल बिग्रियो कि खसियो मस्र्याङ्दीमा । खुट्टामै टाँसिएको छ डर । यही साँघुरो बाटामा भेटिन्छन् भारी बोकेका खच्चडहरू र घन्टीको कर्कस आवाज । यो यात्राभरि मैले कहीँ पनि खच्चडका घाँटीमा झुन्डिएको घन्टबाट निस्किएको आवाजमा आनन्द लिन सकिनँ । सबै ठाउँमा उही एकनासको एकोहोरो टङटङ । मस्र्याङ्दीको बगाई र खच्चड घन्टीको आवाजमा खासै भिन्नता रहेन यो यात्राभरि । खासै आकर्षण पनि रहेन । दुवैमा पीडा मात्र सुनियो । दुःख र अप्ठ्यारो मात्रै ।
साथीहरू सबै पछाडि परेका छन् । ठाकुर र म हुलका हुल खच्चडहरूलाई उछिन्दै तालको टुप्पोमा आइपुगेका छौँ । बाटोको सानो क्याफेमा हामीले केही जापानिज्हरू भेटेका थियौँ । उनीहरू पनि छुटे । हामी उकालियौँ । र, उकालोको टुप्पैमा भेट भयो तालियासँग । सानी मसिनी इजरायली किशोरी तालियासँग ।
‘तालियाको अर्थ के हुन्छ थाहा छ ?’ गफिँदै गएपछि मैले सोधेँ ।
‘हामीकहाँ त यो एउटा धार्मिक मन्त्रको एक आरम्भ हो । तर, यताचाहिँ क्ल्यापिङलाई बुझाउँदो रहेछ होइन ?’ उनी मुस्कुराएजस्तो लाग्यो । इजरायलतिर मणिको अर्थ के हुन्छ होला ? मैले कहिल्यै सोचिनँ । उनले नेपाल आउनुअघि नै आफ्नो नामको नेपाली अर्थ बुझेर आएकी हुनुपर्छ । कि यतै कसैले बताए उनलाई ?
‘कसरी थाहा पायौ ?’ तालको ढोकैमा अडेस लागेर मैले सोधेँ ।
‘नेपाल आउनुअघि उतै बुझेर आएकी ।’
‘कोसँग आएको ?’ ठाकुरले फोटो खिचिरहँदा म उनीतिर नजिकिएँ ।
‘ड्याड र ममसँग ।’
कुरा गर्दै हामी तालतिर ओर्लियौँ । बाटैमा छ मस्र्याङ्दी । अघिसम्म सयौँ फिट तल रहेको मस्र्याङ्दी अहिले आफूसँगै छ । हामी जुत्ता खोलेर खुट्टा पानीमा डुबाउँछौँ । तालिया हामीसँगै ढुङ्गामा टुसुक्क बस्छिन् । र, हाम्रो फोटो खिचिदिन्छिन् । कुरैकुरामा थाहा हुन्छ, यो यात्रामा उनीसँग साथ रहेकी आमा तालियाको आफ्नै आमा भए पनि बाबुचाँहिँ झड्केलो रहेछ । आमाले पछि बिहे गरेको । उनको आफ्नो बाबु त बन्जी मास्टर भएर बसेको रहेछ– इजरायलको पश्चिमी सहरमा । तालियाका बाबु वर्षौं पहिले नेपालको भोटेकोसीमा बन्जी स्थापना गर्ने बेला नेपाल आएका पनि रहेछन्, विशेषज्ञको रूपमा र डेढ महिना नेपाल बसेका रहेछन् ।
‘मम् त किन आइन् थाहा छैन, मचाहिँ आफ्नोपन भुल्न आएकी ।’
‘के रे के भन्यौ ?’ उनले आफ्नै पाराको अङ्ग्रेजीमा भनेको मैले नबुझेको हो कि भनेर सोधेँ । तर, होइन । उनले भनेको नै मैले बुझेको रहेछु । उनी आफ्नोपन भुल्न नै आएकी रहिछिन् । भनिन्, ‘आफ्नोपनको सम्झनाले दुःखसिवाय अरू केही दिँदैन ।’ उनी च्याँठिठ्इन्, ‘सम्बन्धसँग घीन लाग्छ मलाई । म भुल्न चाहन्छु सबै सम्बन्धहरूलाई ।’ अङ्ग्रेजीमा उनले यसो भनेकी थिइन्, ‘फक् अल रिलेसनस् । आइ वान्ट टू फर्गेट इट ।’
तालिया मुस्किलले २४ की भइन् होलिन् । तर, सम्बन्धप्रति यो कत्रो वितृष्णा ? के सम्बन्ध भनेको असन्तुष्टिका पहाडहरू हुन् ? र, हामीहरू सब अभिशप्त छौँ त्यो पहाड चढ्न…..चढिरहन् ?? जुनसुकै परिवेश र भूगोलमा पनि सम्बन्धसँग यो तनाव किन ? कि मानिस एक्लै जन्मिन्छ, एक्लै मर्छ भन्ने दर्शन नै सत्य हो ? के जिन्दगीमा भेटिने सम्बन्धहरू भ्रम मात्र हुन् ? या दुःख अनुभव गर्नलाई यी सब आवश्यक छन् ? सम्झेर म हैरान हुन्छु ।
खिचिक्क । आवाज आएतिर म हेर्छु । मेरो अघिल्तिर तालिया खिलखिलाउँछिन् । एकोहोरो मस्याङ्दीतिर हराइरहेको म । फोटो खिचेको आवाजले उनीतिर फर्किन्छु । मेरै फोटो खिचेकी रहिछिन् उनले । उनकै क्यामराले । अलि उता ठाकुर ठूलो ढुङ्गामा बसेर खुइइ्य गर्दै थियो । थाकेको छ ऊ । म पनि थाकेको छु । बिहानदेखि एकनास हिँडेको हिँड्यै छौँ हामी । भोक पनि लागिसक्यो । भोक नलागोस् पनि किन ? साढे १२ बजिसक्यो । अब दिन जान कतिबेर लाग्छ र । तालमा नै खाना खाने कार्यक्रम छ ।
पानीसँग खेलिरहेका हुन्छौँ हामी मस्र्याङ्दीकोे तीरमा । मस्र्याङ्दीको चिसो र निर्मल पानीसँग । तालिया अघि नै आफ्नो मम् र झड्केलो बाबुसँग अगाडि बढिसकी । साथीहरू तीरमा नै आइपुग्छन् । एकछिन फोटो खिच्छौँ र हामी प्रवेश गर्छौं– मनाङको पहिलो बस्ती तालमा ।
लम्पसार सुतेर फैलिएको लामो बस्ती । एकनासका सुन्दर घरहरू । प्रत्येक घरमा रहेको ससाना बगैँचा र ढुङ्गा छापेको सफा बाटो । यही तालबाट सुरु भयो मनाङ । एउटी गुरुङ्सेनीको होटेलमा छिरेर खाना खान्छौँ । यामले बिहानै फोन गरेर खानाको अर्डर गरिसकेको रहेछ । चिसो ठाउँ, तातो खाना, सिमीको दाल र बिहानदेखिको भोक । खाना अलि बढी नै रुच्छ । खाना खाइसकेलगत्तै होटेलको पटाङ्गिनीमा कविगोष्ठी हुन्छ । सम्भवतः यो यात्राको पहिलो कविगोष्ठी । स्थानीय आमा समूहकी अध्यक्ष, प्रहरी चौकी इन्चार्ज र स्कुलका हेडमास्टर मञ्चमा बस्छन् । हामीहरू कविता सुनाउँछौँ– यही बाटामा लेखिएका कविता । कविताभरि बिग्रेको बाटो, चिसो परिवेश र गरिबीहरू भेटिन्छन् ।
लमजुङको भुलभुलेबाट हाम्रो यात्रामा साथै रहेका एकजना मास्टर यही विद्यालयमा पढाउँदारहेछन् । यो स्कुलमा उनले पढाएको ११ वर्ष भइसकेछ । उनीसँगै हामी उनले पढाउने स्कुल हेर्न जान्छौँ ।
‘मस्र्याङ्दीकोे बाढीले स्कुललाई पनि छोडेन ।’ बूढो मास्टरले भने ।
गएको असारमा आएको बाढीले स्कुलको आधा चउर र एउटा भवनको एक कुनो बगाएर लगेछ । मस्र्याङ्दीको धार हेर्दा अझै बगाउने निश्चित छ । गाउँलेले मिलेर अहिलेलाई बालुवा भरेको बोराले थेगेका छन् – स्कुल । प्रकृतिले पनि किन दीनदुःखीलाई नै दुःख दिने होला ? मलाई नमजा लाग्छ । स्कुलमाथिको विपत्ति देखेपछि भीष्मदाइ कविता लेख्नुहुन्छ । भीष्मदाइको कवितामा स्कुलमाथिको विपत्ति तस्बिरजस्तो उत्रिन्छ । बगाएर लैजानलाई थुप्रै चिजहरू छन् यहाँ । खच्चडले झारेका लादीहरू । मान्छेले गरेका फोहोरहरू । बाटो छेकेर ठिङ्ग उभिएका ढुङ्गाहरू । अज्ञानता, अभाव र फोस्रा अहम्हरू । बगाएर लैजानलाई थुप्रै चिजहरू छन् यस गाउँमा । तर, मस्र्याङ्दी नदी, यी केहीलाई नबगाएर किन सधँै स्कुल ताकेर बग्छ ? र, कहिले सपना खेल्ने चउर बगाउँछ । कहिले सपनाहरू कोपिलाउने भवनको पर्खाल भत्काउँछ ।
तालबाट हामी धारापानीतिर लाग्छौँ ।
तालको फराकिलो फाँट सकेर उकालो परेको खोँचतिर लाग्दै गर्दा माथि पहराबाट फालहालेको लोभलाग्दो विशाल झरनाले हामीलाई रोक्छ । फोटोहरू खिच्छौँ ।