सुखी सोनु किन भन्छिन् आफैँलाई अभागी ?

सुखी सोनु किन भन्छिन् आफैँलाई अभागी ?


funtimeनाम र दाम जीवनको पर्याप्तता होइन न त पूर्ण सन्तुष्टि नै । पैसाले सुख मिल्छ तर खुसी मिल्दैन । आत्मसन्तुष्टि र सुखी जीवनका लागि आखिर माया नै ठूलो रहेछ । त्यसैले त भनिएको होला, ‘संसार मायामै अडिएको छ ।’ हो, यतिखेर निर्मात्री तथा अभिनेतृ सोनु थारूलाई यस्तै आभाष भइरहेको छ । त्यसैले त उनी भन्छिन्, ‘चाहेजस्तो भए फिल्मी क्षेत्र नै छाडिदिन्छु ।’ तर, फिल्मी क्षेत्र छाडेर के गर्ने ? कता जाने भन्नेचाहिँ उनीसँग प्रस्ट जवाफ छैन ।
सोनु थारू भाषा चलचित्रकी चर्चित अभिनेतृ तथा निर्मात्री हुन् । एक दशकभन्दा बढी समय उनले चलचित्र निर्माण र अभिनयमै बिताइसकेकी छिन् । तर, यतिले मात्र उनलाई पुगेको छैन । उनीसँग नाम पनि छ र दाम पनि कमाइरहेकी छिन् । वर्षैपिच्छे एउटा चलचित्र बनाउँछिन् । तैपनि उनलाई जीवनबाट सन्तुष्टि मिलेको छैन । सोनु भन्छिन्, ‘जीवनमा नाम र पैसाले मात्र नहुँदोरै’छ ।’ हुन त उनीसँग पाँच वर्षीया छोरी प्राञ्जेल भए पनि उनलाई यतिखेर एक्लो महसुस भइरहेको छ । ‘छोरी छे, साथ छैन’ उनी भन्छिन्, ‘खुसी हुनका लागि न्यानो माया पनि चाहिँदोरहेछ । अहिले मलाई यस्तै महसुस भइरहेका छ ।’ उनले अहिले आप्mना कमजोरी पनि ठम्याउन थालेकी छिन् । उनी भन्छिन्, ‘चाँडो विश्वास गर्नु मेरो कमजोरी हो । जसले गर्दा म धेरै ठाउँमा फसेकी छु ।’
सोनुले चलचित्र निर्माणमा लागेर नाम मात्र कमाइनन्, आफ्नो समुदायको कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन पनि गर्दै आएकी छिन् । जसबाट उनले नेपाली दर्शक र आफ्नो समुदायको सम्मान र माया पाइरहेकी छिन् । तर, उनलाई जुन पाउनुपर्ने मायाकै अभाव छ । सोनु भन्छिन्, ‘माया प्रेमका बारेमा म अभागी रै’छु ।’ हुन पनि उनको जीवनका दरारै–दरार छन्, आफ्नै चलचित्रजस्तो । प्रारम्भमै उनले थारू भाषा चलचित्र ‘दरार’ बनाएकी थिइन् । चलचित्रले राम्रै चर्चा पायो । तर, त्यसपछि सोनुको व्यक्तिगत जीवनमा दरारका रेसा कोरिन थाले । ती रेसाले अझै पनि उनलाई छोडेको छैन । त्यसैले बेला–बेला उनी दिक्क मान्छिन् र भन्छिन्, ‘जीवन सोचेजस्तो नहुँदोरै’छ । जीवनलाई परिपूरक बनाउन सङ्घर्ष नगरेकी पनि होइन । तर, कता–कता चिप्लिरहेकी छु ।’ सोनु आफ्नो जीवनमा दुईपटक चिप्लिएकी छन् अर्थात् उनले दुईजनासँग जीवन गाँसिन्, खुसी जीवन जिउने अभिलाषासहित । तर, त्यही खुसीको अभिलाषा उनलाई अहिले पीडा भएको छ । अहिले उनीसँग भएको खुसी भनेकै प्राञ्जली हुन् । सोनु भन्छिन्, ‘मेरो मुटु भनेकै छोरी हुन् । वैशाख १२ मा भूकम्प आउँदा छोरी काठमाडौंमा छाडेर सुटिङका लागि म दाङमा थिएँ । त्यसबेला छोरीलाई सम्झेर बेहोस नै भएँ ।’
०५८/५९ सालतिर कलाकारितामा करिअर सुरु गर्दा उनी जीवन सङ्घर्ष हो भन्थिन् । र, जतिसुकै सङ्घर्ष र मिहिनेत गर्न तयार रहेको सनाउँथिन् । उनले भनेजस्तै सङ्घर्ष पनि गर्दै आएकी छिन् । तर, पाँचौँ चलचित्र निर्माण गरिरहँदा भने उनले थाकेको महसुस गरेकी छिन् । सोनु केही दिनअघि मात्र चलचित्र ‘तुम मिल गिलो’को सुटिङ सकाएर दाङबाट राजधानी फर्केकी हुन् । ‘तुम मिल गिलो’ उनको होम प्रोडक्सन सोना फिल्म्सको पाँचौँ प्रस्तुति हो । यसै चलचित्रबारे अनौपचारिक कुराकानीमा सोनुले आफ्ना विगत र वर्तमानका पाटा सुनाएकी हुन् । यो चलचित्र निर्माण सक्न आफूलाई निकै हम्मे–हम्मे परेको दुःखेसो सोनुले सुनाउन भ्याइन् । ‘तुम मिल गिलो’को सुटिङ सक्न हम्मे पर्नुको मुख्य कारण त महाभूकम्प र त्यसपछिका निरन्तर परकम्प नै हुन् । त्यसपछि एक्लो प्रयास । उनले भनिन्, ‘सुरुवाती दिनमा कलाकारितामा रमाइलो हुन्थ्यो । अहिले त व्यावसायिक बनाएकी छु । त्यसैले कठिन मोड आए पनि गरिरहेकी छु ।’
सोनु राजनीतिमा पनि चासो राख्छिन् । चलचित्र अभिनय र निर्माणसँगै उनी थरुहट तराई पार्टी नेपालको राजनीति गर्छिन् । सोनु यस पार्टीको केन्द्रीय सदस्यका अलावा सांस्कृतिक विभाग प्रमुख हुन् । तर, उनी राजनीतिले पनि पार नलाग्ने तर्क राख्छिन् । ‘राजनीति त देश, जनता र समुदायका लागि गर्ने हो,’ उनी भन्छिन्, ‘जीवन चलाउन त व्यवसाय नै गर्नुपर्छ । त्यसैले भविष्यमा कुनै व्यवसाय गर्नेछु ।’ उनले चलचित्र निर्माणलाई पनि व्यापारकै रूपमा लिएकी छिन् ।
‘तुम मिल गिलो’को च्यारिटी दशैँमा राजधानीमा गर्ने सोनुको सोच छ । ‘अहिले सुटिङ मात्र सकेर राखेकी छु,’ उनले भनिन्, ‘अब केही दिनमै सम्पादनमा लाग्नेछु । भरसक आगामी दशैँमा च्यारिटी गर्ने सोच छ ।’ यससँगै उनले अर्को प्रोजेक्ट पनि थाल्दै छिन् । उनले ‘मस्तौली’ अर्थात् मायालु निर्माण गर्ने बताएकी छिन् । जुन चलचित्र आफ्नै जीवन भोगाइमा केन्द्रित हुने उनले सुनाइन् ।

शाहिदको विवाहमा पानको चर्चा
करिना कपुर, प्रियङ्का चोपडाजस्ता सुपर एक्स्ट्रेससँग प्रेम र रोमान्स गरिसकेका बलिउड स्टार शाहिद कपुरले मिरा राजपुत नामक गैरफिल्मी युवतीसँग भव्य विवाह गरेका छन् । दिल्लीको छत्रपुरस्थित एक फार्महाउसमा हिजो मंगलबार सम्पन्न वैवाहिक समारोहमा पाँच सयभन्दा बढी विशेष आमन्त्रित पाहुनाको जमघट थियो भने आगामी आइतबार गुडगाउँस्थित होटल ओवरायमा आयोजना हुने रिसेप्सनमा विभिन्न क्षेत्रका नामी हस्तीका साथै टप सेलेब्रिटीहरू सरिक हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उक्त होटलमा शाहिदका लागि बुक गरिएको प्रतिरात दश लाखभन्दा बढी पर्ने ‘प्रेसिडेन्टियल सुइट’देखि विवाहअघि बाँडिएको निमन्त्रणा कार्डसम्मको भारतीय मनोरञ्जन बजारमा यतिबेला चर्चा व्याप्त छ । वलिउडका पुराना हस्ती पंकज कपुरका छोरा शाहिदको विवाहमा उनका ‘तीनवटै आमा’हरू सरिक हुने समाचारलाई पनि मिडियाले विशेष फोकस गरेका थिए । शाहिदलाई जन्म दिने आमाका अलावा उनलाई हुर्काउने धाईआमा र सौताने आमासमेत शाहिदको विवाहको प्रसङ्गमा मिडियामा छाएका हुन् । यसका अलावा वलिउड कलाकारको विवाह–पार्टीमा अनिवार्यजस्तै मान्न थालिएको जयपुरको प्रसिद्ध पान विक्रेता ‘अन्नु मोबाइल पान भण्डार’बाट झिकाइएको आठ सय थान खजुर पानको पनि अग्रिम चर्चा भएको छ भने राधा स्वामी सत्संगसँग जोडिएको शाहिदको परिवारले सोही धर्म अवलम्बन गरेको राजपुत परिवारसँग वैवाहिक सम्बन्ध जोडेको र नवदुलही मीरा शाहिदको बाल्यकालकै सङ्गिनी रहेको सन्दर्भलाई पनि व्यापक मात्रामा उल्लेख गरेको पाइएको छ ।

कपिलले किन लिए विश्राम ?
भारतकै नम्बर एक कमेडी शोका प्रस्तोता कपिल शर्माले ‘कमेडी नाइट्स अफ कपिल’बाट विश्राम लिएका छन् । विगत तीन वर्षदेखि कमेडी शो सञ्चालन गर्दै आएका कपिलले स्वास्थ्यको कारण देखाउँदै विश्राम लिएका हुन् भने सोको जानकारी कपिल आफैँले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । उनलाई के भएको हो त्यसको बारेमा खुलासा नगरिए पनि छोटो समयमा स्वदेश र विदेशमा चर्चित बन्न पुगेको ‘कमेडी नाइट्स अफ कपिल’को विशेष प्रस्तुतिकै कारण छोटो समयमै कपिल करोडौँ दर्शकमाझ लोकप्रिय बन्न पुगेका छन् । कपिलको शोमा वलिउड हस्तीहरू आफ्नो सिनेमाको प्रचारप्रसारको लागि पनि सहभागी हुने गर्थे, जसमा महानायक अभिताभ बच्चनदेखि सङ्गीतकार, वलिउड नायक, नायिका, खेलाडी र सामाजिक कार्यकर्ताहरूले आफ्नो उपस्थिति जनाइसकेका छन् । शोको अन्तिम एपिसोडमा सलमान खानले हिस्सा लिएका थिए ।

पत्रकार पाठक ‘सुगंगा पुरस्कार’बाट सम्मानित
सुगंगा स्मृति कोष बागलुङले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ राससका कार्यकारी सम्पादक एवम् पत्रकार एकराज पाठकलाई प्रदान गरेको छ । हालै बाग्लुङमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले नगद २५ हजार राशिसहित प्रमाणपत्र प्रदान गर्नुभयो । पत्रिकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत् पाठकलाई पुरस्कृत गरिएको कोषले जनाएको छ । बाग्लुङ्का अग्रज पत्रकार विदुर खड्काले आमा सुमित्रा खड्का र धर्मपत्नी गंगा खड्काको स्मृतिमा स्थापना गर्नुभएको कोषले प्रत्येक दुई वर्षमा ‘सुगंगा पुरस्कार’ वितरण गर्दै आएको छ ।
बागलुङको अमलाचौरमा जन्मेर पत्रिकारिता क्षेत्रमा राष्ट्रिय छवि बनाउनुभएका पाठक विगत दुई दशकदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ । पुरस्कार प्रदान गर्दै प्रजिअ पौडेलले पत्रकारिता पेसामा पाठकको थप उन्नतीको कामना गर्नुभयो भने कोषका अध्यक्ष काजी रोशनले पत्रकार पाठकले बाग्लुङको गौरव बढाउनुभएको भन्दै प्रशंसा गर्नुभयो । पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार पाठकले पुरस्कारले उर्जा र प्रेरणा थपेको बताउनुभयो । कोषबाट पाएको पुरस्कार रकमबाट पाठकले आफ्नी स्वर्गीय दिदी कौशिलादेवीको सम्झनामा स्मृति प्रतिष्ठान स्थापनाको घोषणा समेत उहाँले गर्नुभयो । एकराज पाठकका सूचना सङ्घर्ष, राससको इतिहास, सूचनाको हक प्राप्ति र प्रयोगलगायतका पुस्तक प्रकाशित छ ।