एउटा सामान्य स्वास्नीमानिस मात्र होइनन् सविता बिमली ।
असामान्य मनस्थितिहरूबाट गुज्रिएकी सविता सामान्यउन्मुख छिन् । उनी चाहन्छिन्– जीवन मनहरूको खिचातानी मात्र नबनोस् । यो एउटा अवसर पनि हो । उत्सव बन्नुपर्छ जीवन । महोत्सवउन्मुख सपनाहरूको भीडमा बाँच्नुपर्छ जीवन । र, जिन्दगीलाई रेलिगेसनमा पार्नुहुँदैन । कहाँ रेलिगेसनमा सीमित हुन्छ जिन्दगी ? यी र यस्तै सोचाइहरूले घेरिएकी सविता एउटा सामान्य स्वास्नीमानिस मात्र होइनन् ।
सविता कलेज पढाउँछिन् । पत्रपत्रिकामा पुस्तक समीक्षाहरू लेख्छिन् । कविता पनि राम्रो लेख्छिन् । आफ्नो जीवन जिउने क्रममा जिन्दगीलाई नजिकबाट नियालेकी सविता बिमली आफ्ना लेखनहरूमा जीवनका चरम बाध्यता र नियतिलाई प्रस्ट्याउँछिन् ।
उनको कविताको किताब छ– ‘रेलिगेसन जिन्दगी’ । शीर्षक पढ्दा नै आममानिसको नियतिजस्तो लाग्छ । यो किताब हातमा परेदेखि नै म पढ्न हतारिएँ । भूकम्पले आफ्नै जिन्दगी अन्योलमा परिरहेको बेला रेलिगेसन जिन्दगी पढ्न थालँे । एउटा अद्भूत र फरक अवस्थामा । जीवन र जगत्माथि नै भरोसा गर्न कठिन भइरहेको बेला केही दर्शनले भरिएका सविताका बौद्धिक कविता पढ्न थालँे ।
‘यो बेलगाम समय
सरक्क तानेर छेउमा
राखुँझैँ लाग्छ’
निकै छिटो किताब सकियो । मसिना, छोटा कविताको यो किताव पढ्न एक घन्टा पनि लागेन । कविता सजिला । पढ्न पनि र बुझ्न पनि सजिला । जीवनका नियति र बाध्यताको आधारभूमिमा लेखिएका सविताका सबै कवितामा आफ्ना रहर र सपनाको खोजी छ । यो उनको आफ्नो सपना र रहरको मात्र कुरा होइन । आममानिस र यो समयमा बाँचिरहेका आमस्वास्नीमानिस जो स्वाभिमानका साथ अघि बढिरहेछन् र बेलाबेलामा समाजको चाह र परिवारको दबाबमा परिरहेका छन् । उनीहरूको स्वर छ कवितामा । उनीहरूको सपना छ कवितामा । उनीहरूको आग्रह र पूर्वाग्रह छ कवितामा । जीवनसँग आशावादी यी कवि केही ठाउँमा निराश भेटिन्छिन् । अन्योलग्रस्त वर्तमानले कहिलेकाहीँ निराश बनाउनु स्वाभाविक पनि हो ।
‘जीवनको यो साँझमा
खै कसरी लाग्यो गोल….
हानेर आफैँविरुद्ध एक आत्मघाती गोल
रेलिगेसन जिन्दगी बाँचिरहेछ मान्छे ।’
हो, सविता बिमलीका कविता पढिरहँदा मलाई मेरो देशमा आज लेखिइरहेका कविताहरूप्रति सम्मान जागेको छ । यो समय कविता शक्तिशाली बन्दै गएका छन् । कविताको शक्ति वाचनका दुई–चार कार्यक्रममा वा एकाध पत्रिकामा आएका चर्चाका आधारमा मापन हुँदैन । कविता मनसँग जोडिएको साहित्यको बौद्धिक विधा हो । कविता पढ्न र बुझ्न भिन्न सीप र धैर्य चाहिन्छ । नेताको भाषणजस्तो वा चलनचल्तीको गीतजस्तो सजिलै बुझिन्न कविता । र, त्यति सजिलै त्यसले चर्चा–परिचर्चा पनि प्राप्त गर्दैन । त्यसो त हिजोआज केही सीमित पत्रपत्रिका, केही सीमित समालोचक र केही सीमित प्रकाशकहरू साहित्यमा एक–एक नाम र दर्जा दिन व्यस्त छन् । तिनीहरूले दिने नाम र दर्जामा सविता बिमली नअटाउन सक्छिन् । तर, सविताका रेलिगेसन जिन्दगीभित्रका केही कविताले उनलाई कविताका असर पारखीको मनमा भने सधैँ अटाउने छिन् । काखमा सूर्योदय, विनिर्माण प्रेमको, एक प्रश्न सिद्धार्थलाई, नीला अक्षरको खोजीमा, सकमबरी, उसकी प्रेमिकाको बयान, झरिरहेको तारा, बर्जित प्रेम र रेलिगेसन जिन्दगी सविताका अब्बल कविताहरू हुन् । त्यसो त उनका सबै कविताले मन झङ्कृत गर्ने सामथ्र्य राख्छन्, तर यी कविताले समकालीन नेपाली कवितामा आफूलाई दरिलोसँग उभ्याएका छन् ।
‘सुगोगबीरको चुम्बनको
डामलाई ताछेर सदाका लागि
वसन्तको पारिलो बिहानीमा
नीला फूलहरूमाथि टेकेर
सुस्ताइरहेकी
ऊ आजकी सकमबरी !!’
कवितामा सविताले उठाएको मुद्दा भनेको मान्छेका नीला नियतिहरू नै हुन् । मध्यमवर्गीय मानिसको दैनिकी नै हो । समाजको आजको स्वर र सपना, मानिसले भोग्ने जीवन र रहरहरू, स्वास्नीमान्छेभित्रको हृदय र परिस्थितिले हृदय छोप्न बाध्य नीलो नियती– सविताले कवितामार्फत उठाएका विषयहरू यिनै हुन् । उनलाई के थाहा छ भने मानिस स्वतन्त्र प्राणी हो । तर, मानिस स्वतन्त्र बाँच्न सक्दैन । मानिसभित्रको यही चाह र अप्राप्य स्वतन्त्रतामाथि सविताले कविता लेखेकी छिन् ।
नीलो रंग मिहिनेतको रंग हो । मध्यमवर्गीय मानिसको बाध्यताको रंग हो । यो अहिले हामीले बाँचिरहेको समयको रंग पनि हो । कहिले कसरी छुटकारा पाउनु यो नीलो रंगको सन्देहपूर्ण नियतिबाट ? हो, कवि सविता बिमलीले यही अवस्थाका कविता समेटेर तयार पारेकी छिन्– रेलिगेसन जिन्दगी । यो अहिलेका कविता हुन् । हामीले बाँचेको समयका कविता । म कवि बिमलीलाई राम्रा कविताका लागि बधाई दिन्छु ।
प्रतिक्रिया