पर्यटकीय हव बन्दै धादिङको ‘धुँवाकोट भंगेरिचुली’

पर्यटकीय हव बन्दै धादिङको ‘धुँवाकोट भंगेरिचुली’


धादिङको निलकण्ठ नगरपालिकाभित्र पर्ने भंगेरिचुली क्षेत्रलाई पर्यटनसँग जोड्न स्थानीय कस्सिएका छन् । स्थानीयबासी वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन लागीपरेका हुन् । स्थानीय रुपमा नै अझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न कार्यक्रमहरु शुरु गरेका हुन् ।

विगतमा नाग पूजा गरिंदै आएको उक्त स्थानमा शिवरात्रीको अवसर पारेर शिवमन्दिरको उद्घाटन गरिएको छ । मन्दिर निर्माणका लागि नेपाल पर्यटन वोर्डबाट कुल ३१ लाख १० हजार बजेट छुट्याईएकोमा जम्मा २६ लाख ५५ हजार प्राप्त भएको भंगेरिचुली शिवमन्दिर संरक्षण समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । २०७२ साल बैशाखबाट निर्माण शुरु गरिएको मन्दिर र मन्दिरसम्म पुग्नको लागि सिंडी निर्माणको लागि पर्यटन वोर्ड बाहेक स्थानीय जनश्रमदानबाट सहयोग प्राप्त भई भएको श्रेष्ठले बताए। भंगेरिचुली मन्दिरलाई डडेलोबाट जोगाउँदै क्षेत्रको सम्रक्षण गर्दै बस्ने भवन बनाउन, वरिपरी बार लगाउन आवश्यक रहेको श्रेष्ठ बताउँछन् ।


किम्बदन्तीमा भंगेरिचुली

भंगेरिचुली नेपाल एकीकरण हुनुअघि घलेराजाले शासन गरेको ठाउँ रहेको स्थानीय कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । राजाहरुको सिपाहीको लागि पर्यट खेल्ने ठाउँको रुपमा टुँडिखेल अहिलेपनि रहेको उनले बताए । घले राजाको उद्गमस्थल भएको केहि पुराना संरचनाका इट्टाहरु पनि भेटिएको उनी बताउँछन् । भंगेरिचुलीमा घले राजाको बुबा, छोरी बस्ने गरेका र राजाको निधन पश्चात छोरीमात्र रहेकोले छोरी एक्लै बस्न नसकेर सबै सम्पत्ती त्यही गाडेर काठमाडौं गएको किम्बदन्ती छ । सो ठाउँमा लट्टाधारी जोगी आएर तपस्या बसेको ठाउंमा ब्रह्मचारी आएर जोगीको शिर छेदन गरेको किम्बदन्ती पनि पाइन्छ । तरवारले शिर छेदन पश्चात टाउको र जीउ छुटिएकोले भीरबाट लड्दै गरेर तल झरेको टाउको तल्लो भागमा पुगेकोले भंगेरी भैरव र जीउ माथिल्लो भागमा अड्किएकोले भंगेरी भैरवी देवीको रुपमा भोगखानीको पुजा गर्न शुरु गरिएको बुढापाकाको भनाइ छ ।

विगतदेखि हिउँदको समयमा पानी नपरेपछि खिर चढाएर पुजा गर्ने गरिएको, देवी वा भंगेरी आएर भैरव भएर प्रसाद खाने गरेको र हर हर महादेव भन्दै पूजा गरेपछि पानी पर्ने गरेको मन्दिरका पुजारी नरहरी न्यौपानेले बताए ।


भंगेरिचुलीबाट देखिने दृश्यहरु
भंगेरिचुलीबाट डाँडाबाट गणेश हिमाल, मानाचुली हिमाललगायत हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । भंगेरिचुली डाँडाबाट पूर्वमा नुवाकोट, पश्चिममा गोरखा, उत्तर र दक्षिणमा धादिङकै भूभाग पर्दछ । सोही ठाउँबाट मध्ये पहाडी लोकमार्ग अन्तर्गत कटुन्जे, बेत्रावती क्षेत्रमा सिधा रुपमा जोडिएका सडकको दृश्यावलोकन गर्न सकिछ । भंगेरिचुली मन्दिरसम्म पुग्नका लागि तलबाट करिब १२ सय सिंडी निर्माण गरिएका छन् ।


यस क्षेत्रमा घलेराजाहरुले प्रयोग गरेको ढिकी जाँतो देखेको र सो हालपनि रहेको स्थानीय समाजसेवी कृष्ण प्रसाद रिमाल बताउँछन् । त्यस समयमा घले राजाहरुले डाँडा बसेर शासन गर्दा त्यसबाट तल हेर्दा जनताको घरमा धुँवा आएको देखेपछि मात्र खाना खाने गरेको कारण नै यस ठाउँको नाम धुँवाकोट राखिएको भनाइ रहेको रिमालले बताए। पर्यटकीय हवको रुपमा विकास गरेको लागि पर्यटन व्यवसायी राजेन्द्र सापकोटा लगायत कृष्णकुमारी घिमिरे, शिवकुमार श्रेष्ठ, नवराज दुवाडी लगायत सबै व्यक्तिहरुको भूमिका उल्लेक्य रहेको कारण अहिलेको अवस्था सम्भव भएको रिमालले बताए ।


धादिंङ् क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद खेमप्रसाद लोहनीले भंगेरिचुली क्षेत्रलाई समेट्दै पर्यटकीय हिसाबले समेट्ने गरि सुनौलो बजार, खाल्टेपात्ले, काउले, धुँवाकोट, भंगेरिचुलीदेखि सम्जुंङ् हुँदै गणेश हिमालसम्म पर्यटकीय पैदलमार्गको रुपमा विकास गर्ने काम शुरु भएको बताउँछन् ।

भंगेरिचुली क्षेत्रलाई ‘टुरिजम हव’ बनाउनको लागि मास्टर प्लान अनुरुप डीपीआर तयार गरिएको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले जानकारी दिए । डीपीआर तयार भएपनि निर्माणका लागि आवश्यक आर्थिक श्रोत जुटाउन नगरपालिकाले सबैसंग सहकार्य गरिरहेको ढुंगानाले बताए ।