भीख मागेरै पन्ध्र करोड
कुवेतमा एक यस्तो मगन्ते पक्राउ परेका छन्, जसका साथबाट प्रहरीले करोडौँ नगद बरामद गरेको छ । इस्लाम कानुनअनुसार मस्जिदमा भीख माग्न पाइँदैन, तर ती मगन्तेले आफ्नो घर नभएकाले त्यसको व्यवस्था गर्न आफूलाई नगद आवश्यक परेको भन्दै खुलेआम भीख मागिरहेको थियो । कुनै गैरकुवेतीले यसरी राजधानी सिटीकै मस्जिदमा बसेर भीख मागिरहेको फेलापरेपछि प्रहरीले तुरुन्त हिरासतमा लिएर छानबिन थाल्यो । छानबिनपछि प्रहरीहरू नै आश्चर्यमा परे, किनकि उक्त भिखारीको बैंक खातामा त पाँच लाख कुवेती दिनार (पन्ध्र करोडभन्दा बढी रुपैयाँ) रकम रहेको रहस्योद्घाटन भयो । भीख मागेरै करोडौँ रकम जम्मा गरी करोडपति बनिसक्दा पनि भीख माग्न नछोडेको देख्दा को आश्चर्यमा नपरिरहला त ?
भविष्यवक्ता गधा
अहिलेको जमाना नै यस्तो छ कि जहाँकहीँका मानिस पनि आफूलाई निकै आधुनिक र पढेबुझेको सम्झन्छन् । तर, जतिसुकै रुढीवादीविरोधी दाबी गरे पनि ज्योतिषी हेराएर भविष्य जान्न खोज्नेहरूको संसारमा कमी छैन । ज्योतिषशास्त्र अध्ययन गरेर ज्योतिषीय गणित बुझेका व्यक्तिसँग भविष्य हेराइमाग्नु त जायजै पनि होला, तर भविष्य थाहा पाउने नाममा सबभन्दा मूर्ख जनावर मानिने गधालाई नै ज्योतिषी तुल्याएको सन्दर्भलाई कुन रूपमा लिने ? अन्धविश्वासको यो प्रसङ्ग भारत राजस्थानको हो । भारत आफूलाई ‘डिजिटल इन्डिया’को रूपमा चित्रित गरिरहेको छ, तर राजस्थानमा आफ्नो भविष्य जान्न दिनहुँ सयौँ मानिस गंगाराम नामक एक गधासमक्ष लाइन लागेर उभिएका हुन्छन् । गंगारामको मालिकले उक्त ज्योतिषी गधालाई दिनमा सातपटक प्रस्तुत गर्छन्, भविष्य जान्न चाहनेहरू दश रुपैयाँ भारुको टिकट काटेर गधासामु उभिन्छन् । आफूलाई सोध्न मन लागेको प्रश्न गधा–मालिकलाई सुनाउने र उसले गधासँग सोधिटोपल्ने नौटङ्की त्यहाँ चल्छ । गधाले टाउको हल्लाउँछ, अनि गधाको हवाला दिएर ‘तपाईंको भविष्य यस्तो रहेछ’ भन्दै गधा–मालिकले भविष्यवाणी सुनाइदिन्छ ।
उड्दाउड्दै सुन्दरीसँग सेल्फी लिएपछि…
अर्जेन्टिनाकी एक मोडलका कारण त्यहाँका दुई पाइलटले जागिरबाट हात धुनुपरेको छ । सिनेअभिनेत्रीको रूपमा समेत लोकप्रिय रहेकी विक्की सिपोलिटाकिसलाई बीचमा राखेर उडिरहेको प्लेनको क्याबिनमा सेल्फी लिन पाउँदा दुई पाइलट निकै खुसी र मख्ख थिए । तर, उनीहरूको यो खुसी धेरै दिन टिक्न सकेन । जब चुलबुले मोडलले उक्त तस्बिर ट्विट गरिदिइन्, अर्जेन्टिनाको टीभी च्यानल टीएनले त्यसलाई प्रमुखताका साथ प्रसारण गरिदियो । आफ्ना पाइलटहरू ड्युटीकै अवस्थामा सुन्दरी मोडलसँग तस्बिर खिचेर मस्ती मारेको सन्दर्भलाई एयरोलाइन्स अर्जैन्टिनासका अध्यक्षले सहन गर्न सकेनन्, फलतः तत्काल ती दुवै पाइलटलाई सेवाबाट बर्खास्त गरियो ।
धेरै पानी पिउनु पनि खतर्नाक
राम्रो स्वास्थ्यको निम्ति प्रशस्त पानी पिउने सल्लाह दिनेहरू आजकाल जताततै भेटिन्छन् । कैयन चिकित्सकले पनि यस्तै सुझाव दिइरहेका हुन्छन् । तर, तिर्खै नलागी जथाभावी पानी पिउने आदत बोकेका व्यक्ति होसियार हुनुपर्ने भएको छ । स्वस्थ र सुन्दर रहनका लागि दिनमा ६ देखि ८ ग्लास पानी पिउनु त उत्तम नै भए पनि विनाप्यास धेरै पानी पिउँदा हृदयाघातलगायत अनेक रोगको चपेटामा पर्न सक्ने सम्भावना कैयन गुणा बढ्ने अमेरिकाको लोयला युनिभर्सिटी मेडिकल सेन्टरका अनुसन्धानकर्ताको दाबी छ । वैज्ञानिकहरूका अनुसार हाम्रो शरीरको रचना अत्यन्त वैज्ञानिक तवरबाट भएको छ । सामान्य अवस्थामा शरीरले आफूलाई आवश्यक तरल पदार्थको स्तर उचित ढङ्गले आफै नियन्त्रित गर्दछ । पिसाब र पसिनाको माध्यमबाट अतिरिक्त सोडियम शरीरबाट निस्कन्छ, तर बिनाप्यास धेरै पानी पिउने गरेमा शरीरका लागि आवश्यक सोडियम पनि पिसाबबाट बाहिरिने हुन्छ । जसबाट मुटु, किड्नी र मस्तिष्कसम्बन्धी अनेक समस्या पैदा हुन सक्ने अनुसन्धानकर्ताहरूको दाबी छ ।
प्रतिक्रिया