तिमी छौ र म छु यहाँ, यो मन त्यस्तै बोलिरा’छ
जता हे-यो खाली शून्य त्यसैले त यो मन जलिरा’छ ।
यो मन भन्छ तिमीसँग एकपल पनि नछुट्टिऔँ
यो मन त्यस्तै फुरुङ्ग छ तिम्रो नयन चुमिरहुँ ।
विवशता र बाध्यताले परेको छ अलग हुन
यो मन त्यसै आतुर भा’छ तिमीसँग रमाउन ।
शरीर पनि यताउता ढलपल होला होला जस्तो
मनमा पनि कताकता काउकुती लागे जस्तो ।
एउटै मुटु टुक्रिएर दुइटा भो कि जस्तो लाग्छ
रक्तसञ्चार रोकिएर निर्जीव हुँ कि जस्तो लाग्छ ।
आफैँमाथि प्रश्न जन्मिएर उत्तर खोज्न कहाँ जाऊँ म ?
मलाई छोडी एक्लै–एक्लै भौँतारिएको कहाँ छौ हँ ?
तिम्रो साथको आभाष हुन्छ मन्द–मन्द हावा चल्दा
तिम्रो काखको न्यानोपना लाग्छ मलाई आगो बल्दा ।
लाग्छ मलाई तिमीभित्रै हराउन पाए हुन्थ्यो
खुसी–खुसी तिमै्र साथमा रमाउन पाए हुन्थ्यो ।
– गान्तोक, सिक्कम, भारत
प्रतिक्रिया