हिरोइनहरूको खडेरी

हिरोइनहरूको खडेरी


funtimeतपाईं हिरोइन केका लागि बनेको र किन बनेको ? यो प्रश्नमा अधिकांश हिरोइनको जवाफ फरक–फरक आउने गर्छ । कोही भन्छन् पहिलेदेखि नै रहर पूरा गर्न त कोही भन्छन् नाम चलाउन त कोही भन्छन् नाम र दाम कमाउन ।
यसरी जवाफमा एकरूपता नदेखिएजस्तै पछिल्लोपटक सिनेमाको हिरोइन बन्न आउनुको पछाडि भने एउटै कारण बन्ने गरेको छ र अधिकांश हिरोइनको चाहना, इच्छा र उद्देश्य पनि मेल खाएको छ । सिनेमाको हिरोइन भएपछि नाम चलाउने, मिडियामा नाम बिकाउने अनि कार्यक्रमको बहानामा मुलुकबाहिर पुगेपछि उतै लुकेर बस्ने । गजबको सोच, उद्देश्य र गन्तव्य पहिल्याउन थालेका छन् नेपाली सिनेमाका नायिकाले केही समययता आएर । सिनेमाको पर्दाको झुल्काइलाई प्रचारप्रसारको सशक्त माध्यम बनाएर विदेश भासिने क्रम पछिल्लोपटक निकै बढ्न थालेको छ । हिरोइन भएपछि त्यसअनुरूपको जीवनशैली बाँच्नुपर्ने उनीहरूको बाध्यता एकातिर छ भने त्यो जीवनशैली बाँच्न नसकेपछि विदेश भासिनु पनि अर्को बाध्यता हो ।
नायिकाहरू अब अमेरिका पुगेपछि उतैको परिवेशमा भुल्न थालेका छन् भने त्यो थालेका छन् भने त्यो परिवेशले तानेपछि उनीहरूको लहलहैमा अरू पनि आकर्षणमा पर्ने गरेका छन् । माथि प्रस्तुत नामावलीका नायिकाहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् भने केही हिरोइन अब चाँडै कार्यक्रममा अमेरिका जाने तयारीमा छन् । अब अमेरिका जाने कलाकारहरू आफूहरू अमेरिकामा नबस्ने कुरा त बताउँछन् तर पछि के हुन्छ ? उनीहरूलाई नै थाहा छैन । त्यसो त अमेरिकामा सङ्ख्यात्मक रूपले बढी नै हिरोइनहरू बसेका छन् भने अमेरिका छाडेर नेपाल फर्कने नायिका पनि भएका होइनन् । अभिनेत्री प्रियंका कार्कीचाहिँ अमेरिका छाडेर नेपाल फर्किएकी अभिनेत्री हुन् । अमेरिका र अन्य देशले अरूलाई तान्यो, तर प्रियंका कार्कीलाई भने तान्न सकेन ।
पहिले काम होइन कार्यक्रम गर्न विदेश जान लागेको भन्ने र राम्रो अवसर पाउनासाथ उतै बस्ने कलाकारको ठूलै जमात अहिले पनि तयार छ । उनीहरू केवल अवसर र मौकाको पर्खाइमा मात्र छन् । नायक–नायिकाहरूको दाँजोमा गायक/गायिकाको ठूलै लर्को पनि विदेशतिर भासिएको छ यतिबेला । नेपालमा रामै्र नाम र शान भएकाहरूको विदेश पलायनका कारण नयाँ पुस्तामा ‘कलाकार भएपछि विदेश जान पाइन्छ’ भन्ने फोस्रो मानसिकता जन्माइदिएको पाइन्छ ।
चलेका र बिकेका नायिकाको विदेश पलायन यतिबेला गतिलै रूपमा अगाडि बढिरहेको छ । यता यही मौका र अवसरलाई आफ्नो सुखद यात्राको रूपमा लिँदै नवप्रवेशीहरूले सिनेमाको पर्दामा काम गर्ने अवसर पाउन थालेका छन् । सानोतिनो भूमिकातिर अभिनय गर्ने नवनायिकाहरूले अहिले दिग्गज नायिकाको अभावमा राम्रो भूमिका पाउन थालेका छन् । यसकारणले पनि यी नवप्रवेशीहरूको अहिले भुइँमा खुट्टा छैन ।
सिनेमा निर्माणको सङ्ख्या बढ्दो छ, तर पर्दामा चाहिने नायिकाहरूको अभाव भने खट्कँदो छ । चलेका नायिकाको अभावका कारण नयाँहरूले अवसर त पाएका छन्, तर यो र यस्तो अवसरले चलचित्र क्षेत्रको भविष्य उज्यालो नभएर अँध्यारो बनाउने निश्चित देखिन्छ ।

मलाई अमेरिका पुग्यो :: सरोज खनाल
नेपाली सिनेमाका कलाकार कोही अमेरिका भनेपछि मरिहत्ते हाल्छन् भने यता अभिनेता सरोज खनालचाहिँ सदाका लागि अमेरिका छाडेर नेपाल फर्किएका छन् । उनले भने, ‘अब मलाई अमेरिका पुग्यो । म नेपालमा नै बसेर कलाकारिता क्षेत्रलाई निरन्तरता दिन्छु ।’ खनालले विगतमा पनि अमेरिका जाने सोच नभएको र बाध्यताले गर्दा उता बसेको कुरा बताए । ‘आफ्नो सन्तानको भविष्यको चिन्ताले पनि आफू अमेरिका बस्न बाध्य भएको हुँ,’ उनले भने ।
अमेरिकामा रहँदा पनि नेपाली कलाकार र कलाकारितालाई आफूले मिस गरिरहेको कुरा उनले बताए । ‘आज फेरि नयाँ जीवनको सुरुवात गर्न कलाकारितामा लाग्न अमेरिका छाडेर आएको छु,’ उनले भने ।

कुन–कुन हिरोइन कहाँ छन् ?
कृष्टि मैनाली – अमेरिका
जल शाह – अमेरिका
अरुणिमा लम्साल – अमेरिका
ऋचा घिमिर – अमेरिका
निशा अधिकारी – अमेरिका
उषा पौडेल – अमेरिका
पार्वती अधिकारी – युरोप
रञ्जना शर्मा – अमेरिका

मनमोहक महफिल
जिन्दगी नै कहानी हो
सुख दुःख हैरानी हो
उमेरले असी काटे पनि जोसिला कवि, गजलकार तथा वरिष्ठ चिकित्सक कृष्णजंग राणाको गेयात्मक यो शेरबाट प्रारम्भ भयो महफिलको रौनक । महफिलका मुख्य अतिथि डा. राणाले अर्को हिन्दी गजल पनि सुनाए, ‘जमीँ की धुल की तुमको कसम है तुम चले आओ, जमीका दिल बहुत नाजुक नरम है तुम चले आओ ।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा अनामनगरमा सम्पन्न सातौँ महफिलको सुरुवातमा कार्यक्रमका संयोजक वरिष्ठ गजलकार डा. सनतकुमार वस्तीले कवि तथा गजलकारहरूलाई स्वागत गर्दै विगत केही महिनादेखि नेपाली कवि तथा गजलकारहरूले महफिललाई माया गरी महफिलको रौनक बढाइदिएको उल्लेख गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम महफिलमा मुख्य अतिथि डा. कृष्णजंग राणाका साथै त्रिवि हिन्दी विभागका प्रमुख डा. श्वेता दिप्ती, स्रष्टाहरू इम्तियाज वफा, अब्दुल मोविन खान, नवराज पराजुली, गीता खनाल, मिथिला प्याकुरेल, लक्ष्मी जोशी भट्ट, भगवती रोका भूमिका, गीता मैनाली, टंक ढकाललगायतले आ–आफ्ना वजनदार नेपाली, हिन्दी, उर्दू कविता एवम् गजल वाचन गरेर महफिललाई मनमोहक बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा महफिलका संयोजक एवम् गजल क्षेत्रका हस्ती व्यक्तित्व डा. वस्ती गुनगुनाए, ‘एउटा फूल फक्रिदिन्छ अर्को फूल झरे पनि, जिन्दगानी गुनगुनाउँछ जस्तोसुकै परे पनि ।’ उनले आफूले भुइँचालो गएको एक महिनापछि यो गजल गुनगुनाएको बताए ।
मासिक रूपमा हुँदै आएको महफिलको एउटा शृङ्खला भुइँचालोका कारण हुन नसकेको बताउँदै कार्यक्रमका सभापति एवम् अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको बिट मारेका थिए ।