भूकम्पले नबिथोलेको काठमाडौंको तस्बिर– मणि लोहनी

भूकम्पले नबिथोलेको काठमाडौंको तस्बिर– मणि लोहनी


Mani Lohaniभूकम्पले काठमाडांैको तस्बिर बदलिएको छ ।
कस्तो थियो काठमाडौं ? कस्तो भएको छ । मन्दिर र सम्पदाहरू भत्किएका छन् । मानिसको घर र रहनसहन बदलिएको छ । मानिसका डर र आशङ्काको आयतन फेरिएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्प आउनुभन्दा केही महिना मात्र अगाडि कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘काठमाडौं र अझ पर… एक बदलिँदो तस्बिर’ बजारमा आएको थियो ।
चित्रमय कविताको यो सङ्ग्रह नेपाली र अङ्ग्रेजी दुवै भाषामा एकसाथ आएको छ । त्यसो त भीष्मका यसभन्दा अगाडिका केही कृति पनि नेपाली र अङ्ग्रेजीमा प्रकाशित भएका छन् । हुन त भीष्मका केही सिर्जना अङ्ग्रेजीको अलावा कोरियन, जापानिज, सर्वेजियन, तमिल र हिन्दी भाषामा पनि प्रकाशित छन् । अक्सर अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली कविताको प्रतिनिधित्व गर्छन् भीष्म । कति मञ्चहरूमा नेपाली कविताको शान र गरिमालाई बढाएका छन् उनले । अन्तर्राष्ट्रिय कवि–लेखकहरूसँगको सरसङ्गतमा भीष्मले नेपाली कविताको उचाइलाई थप मजबुत र चिरस्थायी बनाएका छन् ।
भीष्मका कविता अझ भनौँ भीष्मका रचना स्वदेशी पाठकका लागि मात्र होइनन् । उनी नेपालबाहिरका अन्य भाषीहरूका लागि पनि आफ्ना सिर्जनाको पहुँच बढाउन खप्पिस छन् । उनलाई के थाहा छ भने साहित्यलाई कुनै देश र भाषाले सीमित बनाउन सक्दैन । तसर्थ उनी सबैसबैका लागि लेख्छन् । र, सबैसबैमा आफ्ना रचनाहरू पु-याउनका लागि अनुवादलाई महत्व दिन्छन् । उनको पछिल्लो कृति ‘काठमाडौं र अझ पर…. एक बदलिँदाँ तस्बिर’ भूकम्पअघिको काठमाडौं उपत्यकाको जिउँदोजाग्दो तस्बिर हो । त्यसो त भूकम्पले पनि भीष्मले कवितामा खिचेको तस्बिरलाई बिथोलेको छैन ।
काठमाडौं मन्दिरहरूको सहर हो । भगवान् र देवीदेउताहरूको सहर हो । यहाँका गल्लीमा मान्छेभन्दा ज्यादा देवीदेउता भेटिन्छन् । सहरका चोक र चौबाटोहरूमा मानिसका सपनाभन्दा ज्यादा देवीदेउताका सपनाहरू झुन्डिरहेका देखिन्छन् । यहाँका मानिसभन्दा ज्यादा देवीदेउताहरू चर्चित छन् । हो भीष्मले आफ्ना कवितामा त्यही असङ्ख्य देवीदेउताका तस्बिर उतारेका छन् । देवी–देउतासँगै बाँच्न विवश काठमाडौंबासीका तस्बिरहरू उतारेका छन्– शब्दहरूमा । साथमा छन् उनले आफैँले खिचेका सुन्दर तस्बिरहरू । प्रत्येक कवितामा, कवितालाई थप प्रस्ट पार्ने गरी तस्बिरहरू राखिएका छन् । लाग्छ, कविता लेख्दै हिँडिरहेका भीष्मलाई पच्छाउँदै हिँडिरहेका छन् फोटोग्राफर भीष्म उप्रेती नै । भीष्मले शब्दहरूमा उतारेको चित्र र तस्बिरमा खिचेको दृश्य दुवै उस्तैउस्तै लाग्छ । यिनले फोटो खिच्दै कविता लेखे होलान् कि कविता लेख्दै फोटो खिचे होलान् ? छुट्याउन कठिन पर्छ । तर, पहिले कविता लेखे पनि या फोटो खिचे पनि दुवै सुन्दर र दृश्यलाई थप आकर्षक र प्रस्ट पार्न सक्षम छन् । त्यसो त ‘काठमाडौं र अझ पर…. एक बदलिँदो तस्बिर’मा भएका सबै कविता भीष्मले लेखेको भए पनि केही फोटाहरू भने भीष्मका दुई विदेशी साथीले पनि खिचेका छन् । तर, अधिकांश तस्बिर भीष्म आफैँले खिचेका हुन् । भीष्म शब्दमा तस्बिर खिचिहिँड्ने माहिर फोटोग्राफर हुन् । यिनले खिचेका तस्बिरमा शब्दहरूमार्फत बन्ने तस्बिर उनैले खिचेका तस्बिरहरूभन्दा कता हुन् कता महत्वपूर्ण र शक्तिशाली छन् । तस्बिर त बदलिएला । तर, भीष्मका शब्दहरूमा खिचिएको तस्बिर भने चीरस्थायी छन् । मलाई लाग्छ, भीष्मको कविताको सबल पक्ष पनि यही नै हो ।
‘शताब्दीयौँदेखि त्यहीँ खडा छ मन्दिर
र मन्दिरभित्र ध्यानस्थ छ भगवान्
मानिसहरूले निरन्तर बजाइरहेका
घन्टाहरूदेखि समेत बेखबर ।
यसरी नै चलिरहेको छ परम्परा ।’
‘काठमाडौं र अझ पर…. एक बदलिँदो तस्बिर’भित्र रहेका भीष्मका कविता छोटा छन् । साना र मसिना छन् । कविता पढ्न धेरै समय लाग्दैन । तर, कविताको प्रभाव र झन्कार भने निकै लामो समयसम्म रहिरहन्छ । यही नै हो भीष्मको कविताको सुन्दर पक्ष । उनी कवितामा विचारका अनावश्यक भार थोपर्दैनन् । कविताभित्र, कविताको अवचेतनमा नै शिक्षाको ठूलो पाटो लुकेको हुन्छ, तर भीष्म आफैँ जानी–जानी शिक्षा दिन लाग्दैनन् । उनलाई के थाहा छ भने शिक्षा भनेको अनुभूत गर्ने कुरा हो । सिक्दै जाने हो । कसैले सिकाएको शिक्षा त क्षणभरको हुन्छ । जीवन जिउने क्रममा प्राप्त हुने शिक्षाका अगाडि विश्वविद्यालयका शिक्षा फितला र कमजोर बन्छन् । सुन्दर कविताले दिने शिक्षा, मन आनन्दित पार्ने सङ्गीतबाट प्राप्त हुने शिक्षा या आकर्षक पेन्टिङहरूमा लुकेको शिक्षाको कुरै बेग्लै । यी सामान्य शिक्षाहरू होइनन् । जीवन भोगेर प्राप्त भएका शिक्षाहरूजस्तै हुन् । चिरस्थायी शिक्षा । हो भीष्मका कवितामा चिरस्थायी ज्ञानहरू लुकेका छन् ।
यो कवितासङ्ग्रह पढिरहँदा मलाई अर्को कुरा पनि निकै रमाइलो लाग्यो । त्यो हो यस कवितासङ्ग्रहभित्र भेटिने मानिसहरू । भीष्मका समकालीनहरू भीष्मलाई पटकपटक आरोप लगाइरहन्थे, ‘भीष्मका कवितामा मानिस हुँदैनन् । पहाड हुन्छ, समुद्र हुन्छ, आकाश, खोलानाला, रूखबिरुवा हुन्छ, तर मान्छे हुँदैन ।’ उनका समकालीनहरूको यो आरोपमा सत्यता कम र ईष्र्या बढी थियो । तर, त्यही इष्र्यायुक्त आरोपलाई पनि निर्धक्कसँग चिरेको छ ‘काठमाडौं र अझ पर…. एक बदलिँदो तस्बिर’ले । यसभित्रका अधिकांश कविता मानिसका कविता हुन् । मानिसमाथि लेखिएका कविता । मानिसको रहनसहन र जीवनपद्धतिसँग जोडिएको कविता ।
‘मन्दिर र छाताहरू दुवै छन् सँगसँगै
भगवान् र मानिसहरू पनि छन् सँगसँगै
मन्दिरभित्रको भगवान् भने
हजारौँ वर्षसम्म पनि उही नै रहन्छ उस्तै
तर छाता जसरी नै
छाता ओढ्ने मान्छेहरू भने बदलिँदै जान्छन् …।’
यसअघि भीष्मका कविताका सात र निबन्धका आठ कृति प्रकाशित छन् । कविता र निबन्धमा एकसाथ सक्रिय यी कवि नेपाली साहित्यका एक गम्भीर र महत्वपूर्ण साधक हुन् । तर, पछिल्लो समय केही मिडियाले र केही प्रकाशकले लेखकको मापन गर्ने जुन परिपाटी बढेको छ । त्यसमा भने यिनी पक्कै पनि अटाएका छैनन् । किनभने यिनी केही सीमित व्यक्ति र केही निश्चित मिडियाका लागि लेखिरहेका छैनन् । भीष्मको लेखन आमपाठकका लागि हो । जो सचेत र सिर्जनशील लेखन पर्खी बसिरहेका छन् । देशको निश्चित सीमा र भूगोलभन्दा माथि सबैका लागि लेखिरहेका भीष्मको सिर्जनशील यात्रा सबैका लागि महत्वपूर्ण उपलब्धि पनि हो ।