झन्डै हातमा परिसकेको प्रधानमन्त्री पद लिनेतिर नलागेर संविधान निर्माणतर्फ केन्द्रित रहनुभएका एमाले अध्यक्ष केपी ओलीमाथि गम्भीर धोखाधडीका सङ्केतहरू देखिएका छन् । संविधान जारी गरेर पद हस्तान्तरण गर्ने वचन सुशील कोइरालाबाट पाएपछि गत जेठमा सरकार बदल्ने खेलबाट पछि हट्दै केपी ओली संविधान निर्माणमा केन्द्रित हुनुभएको थियो । एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई साक्षी राखेर सुशील कोइरालाले ‘संविधान जारी हुनेबित्तिकै म तपार्इंलाई पद हस्तान्तरण गर्छु’ भनेपछि ओलीको मन पग्लिएको थियो र उहाँ सरकार परिवर्तन खेल स्थगित गर्न राजी हुनुभएको थियो । असार मसान्तभित्र (२०७२) संविधान जारी हुने र आफूलाई प्रधानमन्त्रीको जिम्मेवारी पनि सहजै प्राप्त हुने विश्वासमा रहनुभएका ओलीमाथि प्रधानमन्त्री सुशील कोइरालाबाट मात्र नभई आफ्नै पार्टीका नेता माधव नेपाल, एमाओवादी र फोरम लोकतान्त्रिकबाट समेत धोखाधडी हुनसक्ने देखिएको छ । सुशील कोइरालाले आफ्ना निकटवर्तीहरूसँग ‘केपी ओली तानाशाही चरित्रका व्यक्ति भएकाले उनलाई प्रधानमन्त्री बनाउनु उपयुक्त नहुने’ भनी बताउन थाल्नुभएको झन्डै महिना दिन भइसकेको छ । गत साता एक प्रभावशाली कूटनीतिक नियोगका प्रतिनिधिसँग पनि कोइरालाले ओलीलाई प्रधानमन्त्री बनाउन नसकिने धारणा प्रकट गर्नुभएको थियो । ती कूटनीतिकर्मीसँग कोइरालाको भनाइ थियो, ‘संविधान जारी भएमा म अवश्य राजीनामा गर्नेछु, तर कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा म एक्लैले निर्णय गर्न सक्दिनँ । पार्टीको केन्द्रीय समितिले निर्णय लिन्छ । म केपीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न सक्दिनँ ।’ यसले सुशीलबाट ओलीले धोखा पाउने स्पष्ट सङ्केत गरेको छ । एमालेकै नेता माधवकुमार नेपालले पनि सोह्रबुँदे सम्झौता गर्ने समयताक केपीलाई प्रधानमन्त्री बन्न आफ्नोतर्फबाट सम्पूर्ण सहयोग गर्ने ‘एक्टिङ’ गर्नुभएको थियो । माधवको व्यवहार सकारात्मक भएको महसुस गरेर ओलीले अन्य दलहरूसँग छलफल गरी उपयुक्त वातावरण बनाउने जिम्मेवारी माधव नेपाललाई सुम्पनुभएको थियो । माधव नेपालले त्यसबेला भन्नुभएको थियो, ‘सुशीलजीले संविधान जारी गरेर पदत्याग गर्ने भन्नुभएको छ, समझदारीमा सहजै काम हुन्छ भन्ने काङ्गे्रससँग किन कन्फन्टे«सनमा जानु ? एक महिनापछि त स्वतः प्रधानमन्त्री बनिहाल्नुहुन्छ ।’ यसरी माधव बैठकमा प्रस्तुत हुनुभएपछि केपी ओली पग्लनुभएको थियो । सुशील नेतृत्वको सरकार छोडेर एमाले बाहिरिने निर्णयमा पुग्नै लागेका बेला माधव नेपालमा देखिएको परिवर्तन नियोजित थियो भन्ने ओलीले बुझ्न सक्नुभएन । ओलीलाई प्रधानमन्त्री बन्न आएको एउटा महत्वपूर्ण अवसरलाई घर्काइदिएपछि माधव नेपालले उहाँसँग निहुँ खोज्दै आउनुभएको छ । खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिजस्तो मामुली विषयलाई लिएर नेपालले ओलीविरुद्ध हस्ताक्षर अभियान नै चलाएर धोखाधडीको स्पष्ट सङ्केत दिइसक्नुभएको छ । अहिले नेपाल खुला र गोप्य दुवै ढङ्गले ओलीलाई प्रधानमन्त्री बन्न नदिने खेलमा सक्रिय हुनुभएको छ ।
उता साक्षी बसेका एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष विजय गच्छदारले पनि ओलीलाई प्रधानमन्त्री बन्न सहयोग पु-याउने सम्भावना कम भइसकेको छ । त्यसो त आफ्नो सर्वाधिक आलोचक भूमिकामा रहेका प्रचण्ड र गच्छदारले ओलीलाई सघाउने भन्ने कुरा सुरुमै अविश्वसनीय थियो । धेरैले त्यसलाई एउटा चालबाजीका रूपमा बुझेका थिए । तर, स्वयम् ओली उहाँहरूमाथि विश्वस्त हुनुले सबैलाई चकित पारेको थियो । अब कुनै पनि दिन प्रचण्ड र गच्छदारले भावी प्रधानमन्त्रीका विषयमा सार्वजनिक रूपमै बोली फेरे भने आश्चर्य हुने छैन । यसरी केपी ओली चौतर्फी धोखाधडीको सिकार बन्नुहुने सम्भावना बढेको छ ।
चार दलबीच आयोग बनाएर सीमाङ्कन गर्ने सहमति बनेकोमा अहिले आएर सीमाङ्कनसमेत गरेर संविधान जारी गर्ने अभिव्यक्ति जिम्मेवार नेताहरूबाट सार्वजनिक हुन थालेको छ । यदि सीमाङ्कन गरेर मात्र संविधान जारी गर्न खोजिने हो भने परिस्थिति बदलिने र तत्काल संविधान जारी हुने सम्भावना नरहने निश्चित छ । त्यसैले पछिल्लो समयमा विकसित घटनाक्रमले संविधान जारी हुने समय लम्बिनसक्ने सङ्केत दिएको छ । जहिले संविधान जारी भए पनि ओलीलाई प्रधानमन्त्री बनाइने सम्भावना झनै घटेको छ ।
प्रतिक्रिया