जिन्दगी ठूलो कि इज्जत ?

जिन्दगी ठूलो कि इज्जत ?


nisedhगत आइतबार बिहान रौतहटबाट सुचिन्द्र यादवले फोनमा भने, ‘म्याडम, हाम्रोतिरका महिला आफूमथि भएका अन्याय बाहिर भन्न सक्दैनन् । हामीलाई पनि छोरी–बुहारीका कुरा सकेसम्म बाहिर नआइदिए हुन्थ्यो जस्तो लाग्छ, तर के गर्नु यसपटक त धेरै नै अत्याचार भयो, कति दिन सहेर बस्ने ?’ उनको गाउँ मुडलवाकी एक महिलामाथि गाउँकै मानिसबाट बलात्कारको प्रयास भएको रहेछ । यो मुद्दालाई प्रहरीले गम्भीरतापूर्वक हेरिदियोस् भन्ने उनको भनाइ थियो । टेलिफोनमा उनका कुरा सुन्नुभन्दा अघिल्लो साँझ आफ्नी छोरीको मृत्यु सहिरहेका एक बाबु टेलिभिजनमा (घरको छतबाट हाम फालेर मृत्यु भएकी भनिएकी नतासा क्षेत्रीका बाबु) भनिरहेका थिए, ‘घरको कुरा बाहिर ल्याउनुहुँदैन भन्ने संस्कृति र कुल–खान्दानको इज्जत धान्ने हुँदा मेरी छोरीको ज्यान गयो ।’ यो पङ्क्तिकारले आजभन्दा १३ वर्षअघि यही शीर्षकमा लेख लेख्दा विभिन्न कारणले त्यसको अनेक चर्चा–परिचर्चा भएको थियो । तर, आज १३ वर्षपछि पनि हाम्रो दृष्टिकोणमा खासै परिवर्तन भएको छैन । हामी मौखिक दुव्र्यवहारलाई सकेसम्म यातनाको नाम दिन चाहदैनौँ र सानातिना शारीरिक दुव्र्यवहार पनि सहेरै बस्छौँ । दुव्र्यवहार गर्ने या यातना दिनेलाई कुल–खान्दान, सामाजिक प्रतिष्ठा, पारिवारिक संस्कार, संस्कृतिलगायतका कुराको कुनै पर्वाह हुँदैन, तर पीडित हुनेले भने ती सबै कुराका नाममा सहेर बसेर सांस्कृतिक मौनता (कल्चरल साइलेन्स) साँधेर बस्नुपर्छ । जिन्दगीलाई जोखिममा राखेर यसप्रकारको इज्जत धान्ने काम हाम्रो समाजमा नगन्य सङ्ख्यामा पुरुष र धेरै महिलाले गर्दै आएका छन् ।
मेरी छोरीलाई दाइजोका नाममा जलाइयो, मेरी बहिनीले माइतीको इज्जत जाला भनेर आत्महत्या गरी, मेरी भतिजीमाथि रातदिन अत्याचार गरियो, तर हामीले केही गर्न सकेनौँ । अन्ततः स्टोभ पड्केको नाममा उसको हत्या भयो । लोग्नेले दिने तनाव सहन नसकेर पल्ला घरकी बुहारी रूखमा झुण्डिएर मरी, तल्ला घरकी कान्छी त भीरबाट हाम फालेर मरी रे । कुराहरू धेरै सुनिए र कति त मिडियामा पनि आए, तर हामीले कहिल्यै खोजी गरेनौँ कि आखिर तिनीहरू किन झुन्डिए ? या हामफालेर मरे ? आत्महत्या गर्नुपछाडिका कारणको खोजी गर्ने गरिएको छैन । धेरैजसो अवस्थामा कारण थाहा पाएर पनि गर्न सक्ने केही छैन । कानुनले प्रमाण खोज्छ, आफन्तले कुल–खान्दानको इज्जत खोज्छन्, खान्दानको नाक जोगाउने क्रममा जतिसुकै पीडादायी कुरा हुन् सकेसम्म बाहिर ल्याउन चाहँदैनन् । फलतः महिला सुरुसुरुमा बाबुआमाको या भनौँ घरपरिवारको इज्जत र अलि पछाडि गएर छोराछोरीको भविष्यका लागि आत्महत्याका नाममा चुपचाप संसार छोडेर जान्छन् । अचम्म त के छ भने मानिसलाई पीडा दिने अरू कोही नभएर मानिस नै हुन् । अझ टाढाका नभएर आफन्त नै हुन् । संसारमा मानिसबाहेक कुनै पनि प्राणीले आफ्नै जातिलाई यसप्रकारको दुःख दिँदैनन् । बाघले बाघलाई खाँदैन, सिंहले सिंहलाई मार्दैन, न त गाई–भैंसीले नै एक–अर्कालाई सिध्याउने या पीडा दिने काम गर्छन् । न त अन्य कुनै प्राणी कहिल्यै आत्महत्या गर्ने अवस्थामै पुग्छन् । यसको कारण उनीहरूले एक–अर्कालाई नदिने दुःख र चेतना दुवै हुन् ।
महिलाको आत्महत्याको दर दिन प्रतिदिन बढ्दो छ । पहिलापहिला पनि महिलालाई पीडा नदिइएको होइन । हाम्रा जिजुआमा, हजुरआमा पुस्ताले भोगेको जिन्दगीको भुक्तमान अहिलेको पुस्ताले कल्पना पनि गर्न सक्दैन । तर, उहाँहरूमा आफूमाथि जे–जस्तो अत्याचार भए पनि सहेर बस्नुपर्छ भन्ने प्रकारको चेतना थियो । सोही प्रकारको हुर्काई र सामाजिकीकरणले काम गरेको थियो । तर, अहिले हुर्काइ र चेतनास्तर दुवै फरक छ । परिस्थिति फरक बन्दै गयो, तर दृष्टिकोण फरक हुन सकेन । कारण इज्जतका नाममा अहिले पनि युवती आफ्नो स्वतन्त्र जिन्दगीको निर्णय गर्न सक्दैनन्, सकिरहेका छैनन् । म आफैँ केही गर्छु, समाजले निर्धारण गरिदिएको परिवार र आफ्नो इज्जत आफैँ र आफ्नै प्रकारले स्थापित गर्छु भन्ने आत्मविश्वास पलाउन सकेको छैन । यसबीचमा भएको परिवर्तनचाहिँ के हो भने अब बाबु, दाजुहरू मात्र नभएर समाजका अन्य सचेत पुरुषले पनि महिलामाथिका अत्याचारको विरुद्धमा मुख खोल्न थालेका छन् । छोरीचेलीको इज्जत परिवारमा मात्र सीमित नभएर जबसम्म गाउँ, समुदाय र मुलुककै सम्मानसँग जोडिँदैन तबसम्म दृष्टिकोणमा परिवर्तनको तीव्रता सम्भव छैन । उदाहरणका लागि गाउँको एउटा परिवारकी छोरी बेचिन्छे, तर त्यसको असर उसको परिवारलाई मात्र पर्दैन, त्यो पूरै समुदाय र अन्ततः राष्ट्रलाई परिरहेको हुन्छ । बाहिरबाट हेर्नेले सिन्धुपाल्चोककी साहिँली बेचिई भन्दैनन्, नेपालका महिला बेचिए या बेचिँदै छन् भन्छन् । यसरी दूरगाउँकी छोरीको इज्जत राष्ट्रको इज्जतसँग जोडिएको हुन्छ ।
जिन्दगी रहे इज्जत आर्जन गर्न सकिन्छ, तर मानसिक अवस्था नै बिग्रने खालको र जीवन नै नरहने प्रकारको खोक्रो इज्जतको के अर्थ ? त्यसैले भर्खरै विवाहित या अन्य कुनै पनि अवस्थाका आफ्ना छोरी या दिदीबहिनीहरूले आफूलाई परिवारमा बस्न असहज छ भनेर परिवारका कुनै सदस्यलाई भनेको जानकारी हुँदाहुँदै यसलाई परिवारको इज्जतसँग जोडेर नहेरौँ । पीडा पाउनेको होइन इज्जत त पीडा दिनेको जाने हो । मान–सम्मानमा कमी त अरूलाई दुःख दिनेको हुने हो । घटना भइसकेपछि यसो गर्न पाएको भए… भन्ने धेरैलाई पर्छ, तर अब घटना हुनुअघि नै ‘अब यसो गर्ने’ भनेर निर्णय गर्नु आवश्यक छ । योभन्दा पनि धेरै जरुरीचाहिँ छोरीलाई आफैँ आफ्नो मानसम्मान, आत्मसम्मान र परिवारको इज्जत बन्न सक्ने स्थानमा पु-याउनु छ । जबसम्म उनीहरू बाबु, दाजु या परिवारको इज्जतभन्दा बढी आफँै आफ्नो इज्जत आर्जन गर्ने र त्यसलाई निर्वाह गर्ने अवस्थामा पुग्दैनन् तबसम्म यो या त्यो रूपमा उनीहरूमाथि कुनै न कुनै प्रकारका अत्याचारहरू भइनै रहन्छन् । हिंसारहित जीवन बाँच्नका लागि आत्मनिर्भरता आवश्यक छ । आत्मनिर्भरताले मानिसलाई आत्मविश्वास दिलाउँछ । कसैले दिएको पीडाले आत्महत्याको अवस्थाको सिर्जना हुनु या कुनै पनि नाममा पीडा सहेर बस्ने परिस्थिति बन्नु भनेको व्यक्ति या कुनै एउटा परिवारको इज्जतसँग मात्रै जोडिएको कुरा होइन, यो राज्यको इज्जतसँग जोडिएको कुरा हो । ‘नेपालमा आफूमाथिको अन्याय, अत्याचार सहन नसकेर महिलाले अत्याचार गर्छन्’ या ‘महिलामाथि बलात्कार हुन्छ’ भन्ने कुराले देशको इज्जत कहाँ रह्यो ? यो मुलुकका पुरुषहरूको सम्मान कसरी बच्यो ? सबै पुरुष पीडा दिने या बलात्कारी छन् र ? अवश्य छैनन् । असल पुरुषले अब महिलासँग जोडिएको इज्जतको दायरा र परिभाषालाई बदल्न अघि बढ्नु आवश्यक छ ।