परिस्थिति(एक अमूर्त चिन्तन)-प्रकाश प्रधान

परिस्थिति(एक अमूर्त चिन्तन)-प्रकाश प्रधान


दिन घर्किरहेछ
देश काँपिरहेछ
स्थिति ढलमलाइरहेछ
नेताहरूको कामभन्दा बोली ठूलो चर्को
हामी पत्कर झैं कहाँ कहाँ डढिरहेछौँ
संसार आश्चर्य मानिरहेछ
छिमेक थकथकाइरहेछ
नायक-खलनायक जुधिरहेछन्
हामी पिँध नभएको लोटा गुडिरहेछौँ
हिलोमा माछा मारिरहेछन्
मौकावादी छट्टुहरु मालामाल
भाइ-भाइचाहिँ हात हालाहाल
दलालहरू कमालमाथि कमाल
हामी बेसहारा अन्योल र हाहाकारमा छौँ
समय जति तोके पनि
नअडी बितिहाल्दो छ
जनआकाङ्क्षा जति बिथोलिए नि
नेता मजाक छिर्की र स्वार्थन्ध
हामी अत्तालिएर उपाय खोज्नेमा छौँ
गोली, खुकुरी, लाठी, लुटपाट दैनिकी
घटना दुर्घटना सयौँ जनधन नोक्सानी
बजार, सडक, पानी, बत्ती इमानको बेठेगान
संस्थापन सधैं पङ्गु नेता षड्यन्त्रको सिकार
हामी निराशाको चरम बिन्दु पार
सुध्रने त सङ्केत नै छैन
सहलह मेलजुलको कुरै छैन
निहुँ खोज्ने दोष थुपार्ने मात्रै
नेता महोदयको खेलाँचीमा
हामी निसास्सिएर छटपटीमा छौँ
अब त यस्तो देखियो न भविष्यको खाका
न त स्थायित्वको निश्चिन्तता
अँधेरोमा छामछुम गर्नुपर्ने स्थिति
दल र नेताहरूको घमण्ड र स्वेच्छाचारिताले
हामी थुनामा सताइएको हतास बिरालो हुनुपर्ने त होइन कतै
किन हो खै ! अचेल यस्तै यस्तै
अमूर्त चिन्तनले सताउँदो छ परिस्थिति ।

खै को जाग्यो देशका लागि ?-धना गुरुङ (बिना)
लेकबेसी डाँडाकाँडा
भीर पाखा
देउराली, भन्ज्याङ
खोल्छा र गल्छीहरूमा
रगतका छिटाहरू
अझै पखालिएका छैनन्
निर्दोष निमुखाहरूका
चित्कारपूर्ण कारुणिक आवाजहरू
अझै गुन्जिरहेका छन्
जो सत्य बोल्दा पनि
पाएका सास्ती, यातना र भोगाइ
यस्तै र त
‘हो’ लाई ‘होइन’
‘होइन’ लाई ‘हो’ भन्ने पारेर
नेपालले नेपालीलाई नै बेपत्ता बनाइएको,
घरबास उठाइएको
खान्छु भन्नेहरूको भागबाट खोसिएका राहत

‘खान्न चाहिँदैन !’ भन्ने निर्दोषीहरूलाई
लखेटी-लखेटी
हातखुट्टा बाँधेर खुवाइएको राहतको
के कुरा गर्ने र खै ?
यो देशमा
विकास हुँदैन, विनाश हुन्छ,
किन भन्दा
नेपालीहरू
एकले अरूको खुट्टा तान्नमा दक्ष छन्
लडाउन र जुधाउनमा पोख्त छन्
यर्सथ,
सगरमाथाले मात्र धानिराखेको स्वाभिमान
खै ! भन्न सकिन्न अब
नेपालीमा नेपालीपन नरहेपछि
नेपालीमा नेपालीमन नरहेपछि
कतिखेर के हुन्छ ?
स्वार्थमा रम्न थालेपछि
देशका लागि को जागेको छ र खै ?
इमानदारपथमा को हिँडेको छ र खै ?