इन्द्रेणी

इन्द्रेणी


indreniभानुजयन्तीमा बालकविगोष्ठी
२०२औँ आदिकवि भानुजयन्तीको अवसरमा प्रतियोगितात्मक कविता गोष्ठीको आयोजना गरिएको छ । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले ज्ञान विकास निम्नमाध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगितात्मक कविता गोष्ठीको आयोजना गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा आयोजित गोष्ठीमा सुशील तामाङ, कान्ति तामाङ, सुनिला खड्का एवम् सुमन सैंजुले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि प्राज्ञ डा. ज्ञानु पाण्डेले भानुजयन्तीको महत्वमाथि प्रकाश पार्दै आदिकवि भानुभक्तको योगदानका कारणले गर्दा नै विश्वभर छरिएर रहेका नेपालीलाई भाषिक रूपले एक भएर बस्ने अन्तरपे्ररणा प्राप्त भएको बताउनुभएको थियो । उक्त कार्यक्रममा पे्रम भण्डारी र नविना सापकोटाले पनि कविता वाचन गर्नुभएको थियो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक रमा थापाले विद्यार्थीको सिर्जनात्मक क्षमता बढाउन प्रतिष्ठानले पु¥याएको सहयोगप्रति खुसी व्यक्त गर्नुभयो ।

सिङ्गै नेपाल दर्शाउने एउटा कवितासङ्ग्रह
नेपाली साहित्याकाशमा उदाएको एउटा अर्को नक्षत्र अभयकुमारका कविताहरूको सङ्ग्रह ‘जात्रा’ महाभूकम्प आउनुअघि नै सार्वजनिक भएको हो । कवितासङ्ग्रह सार्वजनिक भएपछिका केही साता एक गैरनेपाली साहित्यकारको नेपाली कविताबारे चर्चा भइरहने अपेक्षा गरिएको थियो । तर, त्यसै साता वैशाख १२ गते भूकम्प आएपश्चात् नेपालमा भूकम्पबाहेक अन्य कुनै विषयको चर्चा हुन छाड्यो, त्यसैले चर्चामा आउनैपर्ने उक्त ग्रन्थ छायामा पर्नुप¥यो । नेपालको परिचय उजागर गर्ने एक सय सोह्र कविताहरू सबै लघु आकारका छन्, तर साहित्यमा थोरै शब्दमा धेरै कुरा प्रकट गर्न सकिने प्रमाण अभयकुमारका कविता बनेका छन् । नेपालका महत्वपूर्ण सम्पदा, प्रकृति, समुदाय र पात्रलाई केन्द्रबिन्दुमा राखेर रचिएका समग्र कविताको सार नेपाल बनेको अनुभूति पाठकलाई हुन्छ । करिब तीन वर्षअघि मात्रै नेपाल टेकेका अभयले कति गहिराइमा बुझेछन् नेपाललाई । कविता पढ्नेहरू हरेकको मनमा आश्चर्यभाव पैदा हुनसक्छ ।
कवितासङ्ग्रहको नाम ‘जात्रा’ राखिनुको कारण खुलाइएको छैन । अनेकौँ जात्राले परम्परा र संस्कृतिको रूप लिएको हुनाले सङ्ग्रहको नाम ‘जात्रा’ चयन गरिएको हो या वर्षैभरि हामी नेपालीले जात्रा महसुस गरेझैँ कूटनीतिक सेवाका यी कविले पनि त्यस्तै महसुस गरेका हुन् यो अनुमान मात्र गर्न सकिने पक्ष रह्यो । तर, एक परिपक्व कूटनीतिज्ञसमेत रहेका अभयले व्यंग्यात्मक अर्थमा आफ्नो कीर्तिको नाम ‘जात्रा’ राखेको ठान्न सकिँदैन । शिव, मत्स्येन्द्रनाथ, कुमारी, इन्द्र, बिस्केट, घोडे, गाई आदि नाममा नेपालमा लाग्ने ‘जात्रा’ परम्पराबाट अभिपे्ररित भएर नै ‘जात्रा’ नामकरण भएको बुझ्नु सही हुनेछ । कवितासङ्ग्रहको जात्रा खण्डमा ‘इन्द्रजात्रा’ शीर्षकअन्तर्गत कवि यसरी प्रकट भएका छन्–
स्वर्गका देवता
बादलको पोसाकमा सजिएर
पारिजातका फूल चोर्दा चोर्दै
समातिन्छन्
र बाँधिन्छन् टाउकोदेखि पैतालासम्म ।
उनको अमत्र्य ऐरावत
काठमाडौंका सडक खोस्रन थाल्छ
एउटी आमा छोरा खोज्दै छिन्
स्वर्गमा कम्पन सुरु भएको छ
अप्ठ्यारो मान्दै छन् मत्र्यलोकका जीवहरू
पासोमा इन्द्रलाई देखेर ।
मुक्त हुन्छन् पासोबाट इन्द्र,
भोजभतेर लाग्छ, लावालस्कर
बिहानको कुहिरोका लागि त उपत्यकाले बरदान नै पाएको छ
इन्द्रकी आमाको सारीको फेर समातेर
मृतकहरू स्वर्गसँग मद्दत माग्दै छन्
हावामा विचरित चङ्गाजस्तै
ब्रह्माण्डका भुमरीमा उल्झिएका आत्माहरू
मैदानमा खस्दै छन् ।
यसरी कविले इन्द्रजात्राप्रति आफ्ना भावना सङ्क्षिप्तमा पोखेर जात्राको बेलिविस्तार नै लगाएका छन् ।
नेपालका युनेस्को विश्व सम्पदा स्थल, काठमाडौंका बिम्बहरूमा, जात्रा, काठमाडौंभित्र, काठमाडौंबाहिर, भूचित्रहरू, व्यक्तित्वहरू र चरित्र चित्राङ्कनजस्ता आठ मूलांशभित्र समेटिएका एक सय सोह्र कविता हरेकले आफ्ना शीर्षकप्रति सम्पूर्ण न्याय गरेका छन् । कतिपय कविता यति मार्मिक छन् कि मन पूरै भिजाउँछ र बिजाउँछ । ‘विपे्रषण पठाउनेकी पत्नी’ शीर्षकमा कविले जे पोखेका छन् त्यसले एउटी अबलाको मनोविज्ञान मात्र उद्घाटन गरेको नभई नेपाली समाजभित्रको एउटा दारुण चित्र प्रस्ट्याएको अनुभूति हुन्छ ।
तिम्रो प्यास बोकेर
म बाख्राहरूसँग दौडिन्छु
यताउता चारैतिर
पहाड उक्लिन्छु
बेसी झर्छु,
झरनामुनि उभिन्छु
तिमीलाई सम्झँदै ।
साँझ
घर फर्केपछि
ताराहरूले भरिएका
सफा आकाशतिर हेर्छु म
आँखा आँसुले भरिन्छन्
म पनि उड्न सक्ने भए
उडेर आउने थिएँ तिमीतिर ।
कहिले आउँछन् बाबा ?
नानीहरूको निरन्तर प्रश्न छ
के भनुँ म तिनलाई ?
थाहा छैन ।
कहिलेकाहीँ पिउँछु बिर्सन
कहिलेकाहीँ बहकिन्छु
अरू आइमाईसँग
नजिकको बस स्पटसम्म ।
त्यस्तै ‘प्रवासी कामदारहरू’ शीर्षकमा कविको वेदना यसरी पोखिएको छ
घरमा काम थिएन
म आफ्नै दुई गोडाले आएँ यहाँसम्म
र प्लाइउडको कफिनमा बन्द भएर फर्किएँ ।
गहिरो निराशा, कामका लामा घडीहरू, अन्तहीन मुक्का र म दशौँ तलाको झ्यालबाट हाम्फालेँ
कुनै बेला म आफ्नो छिमेकको घरमा टेलिभिजन हेर्थें
उनको बिदेसिएको छोराले ल्याएको
म पनि चाहन्थँे आफूसँग पनि होस् त्यस्तै टेलिभिजन
गाउँको साहुसँग ऋण लिएर
म काठमाडौं लागेँ
पर्मिट र भिसा जुटाउन
उभिएँ घन्टौँ लाइनमा
एक्लै भोकै जाडोले काम्दै,
अन्ततः म सफल भएँ विमान चढेर आउन अनौठो भूमिमा ।
आउँदाआउँदै मेरो पासपोर्ट जफत भइसकेको थियो ।
म थुनिएको थिएँ दर्जनौँ अरूसँगै
एकपछि अर्को खात लाग्दै
छैन छुट्टी, जानु छैन कतै
रोबोटजस्तै काममा लागेको थिएँ म,
चर्को घाममा गह्रुँगा धातुको खम्बा उचाल्थेँ
म रुन्थेँ सपनामा
आफ्नै जन्मभूमिमा गोरु जोतेको खेत देखेर ।
स्थान, सम्पदा, चरित्रचित्रण या पात्र जुनसुकै विषयमा सिर्जित कविता हुन्, हरेकले एउटा मर्म बोकेको छ र झकझोर तुल्याउँछ हरेकलाई । सिङ्गै नेपाल बोकेको ‘जात्रा’ कवितासङ्ग्रहले अभयकुमारको कवित्व मात्र प्रस्फुटन गरेको छैन नेपालको वास्तविकता उजागर पनि गरेको छ । त्यसैले यो कीर्ति नेपाली साहित्याकाशमा जीवन्त बनेर अनन्तसम्म चम्किरहने विश्वास गर्न सकिन्छ । कवितामा प्रस्तुत शब्द र शिल्पले अभयकुमारले समग्र नेपाल आत्मसात् गरेको महसुस हुन्छ । त्यसैले अभयकुमार स्मरणीय बनेका छन् र यस निम्ति उनी बधाईका पात्र भएका छन् ।