रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2यिनको पाठेघर संसारकै बलियो
के कुनै महिलाले २० वर्ष अवधिमा १५ बच्चा जन्माउन सक्छिन् ? यसको जवाफ अवश्य पनि नकारात्मक नै आउँछ । तर, यस्तै दुर्लभ या असामान्य क्षमताका कारण बेलायतकी क्यारोल हरलकल समाचारको विषय बन्न पुगेकी छिन् । ४९ वर्षीया क्यारोल हेर्दा अरूजस्तै सामान्य देखिन्छिन्, तर आममहिलाभन्दा यी बिल्कुल फरक क्षमताकी छिन् । क्यारोलसँग आफ्नै दुई बच्चा छन्, यसबाहेक सन्तान जन्माउन असमर्थ अन्य महिलाका लागि समेत उनले पन्ध्रवटा बच्चा जन्माइदिएकी छिन् । उनलाई संसारकै सबभन्दा बलियो पाठेघर भएकी महिलाको मान्यता हासिल भएको छ । वास्तवमा क्यारोल एक व्यावसायिक ‘सेरोगेट मदर’ हुन् । निकट भविष्यमै उनले अर्कैको निम्ति अर्को एक बच्चालाई जन्म दिँदै छिन् । अर्काको निम्ति बच्चा जन्माइदिने काम गर्दागर्दै बीचमा ब्लडप्रेसरको समस्या पैदा भएपछि चिकित्सकले यस्तो धन्दा छोड्न चेतावनी दिए पनि उनी दोहो¥याएर गर्भवती बनिन् । ‘व्यवसायसँगै निःसन्तान व्यक्तिको सेवा पनि गर्नु छ भने स्वास्थ्यसँग के डराउने ?’ भन्ने क्यारोलले अबचाहिँ प्राकृतिक तरिकाबाट नभई सिजेरियन विधि अपनाएर बच्चा पैदा गर्ने सोच बनाएकी छिन् ।

जुन होटेलमा रोबोटबाट सेवा मिल्छ
जापान भ्रमणमा जानुभएको छ र त्यहाँको एक खास होटेलमा बस्दा सेवामा कुनै जिउँदा मानिस नै हाजिर भएनन् भने तपाईं कस्तो महसुस गर्नुहोला ? मानिस कर्मचारीको ठाउँमा यन्त्रमानवले काम गरेको देख्दा कतै भूतघरमा पो बास गर्न पुगिए छ कि भनी आत्तिन पनि सक्नुहोला । तर, यसमा आत्तिनेभन्दा रोबोटको काम देखेर मख्ख पर्नु मनासिब होला । उक्त होटेलको नाम हो– ‘हेन’, जापानी भाषामा हेनको अर्थ ‘अलौकिक’ हुन्छ । लोकमै नभएको प्रयोग हुनाले होटेलको नाम अलौकिक राखिनु सान्दर्भिक नै लाग्छ । ‘हेन’को पूरै सञ्चालन प्रक्रिया रोबोटहरूले नै सम्हालेका छन् । आगन्तुक प्रवेश गर्दा ढोका खोलेर सामान बोकिदिनेदेखि रिसेप्सनिस्टसम्म रोबोट नै खटिएका छन् । युवतीको आकृतिमा रहेको रिसेप्सनिस्टले आगन्तुकसँग जापानी भाषाको अलावा अङ्ग्रेजीमा पनि कुरा गर्छ । होटेलका सबै काम रोबोटमार्फत नै गराउनुको उद्देश्य केवल मनोरञ्जन दिलाउने नभई विज्ञानले आविष्कार गरेको प्रविधिलाई उपयोगमा ल्याउनु रहेको उक्त होटेल सञ्चालकको तर्क छ । रोबोटलाई काममा लगाउँदा कर्मचारीहरूको जागिर गए पनि होटेल मालिकलाई भने राम्रै बचत भएको बताइन्छ । उक्त होटलमा एक रात बास बसेको जम्मा ७२ डलर शुल्क लाग्छ ।

यी आमाबाट के सिक्ने ?
उनी चाहन्छिन् उनको छोराले अन्य कुनै महिलालाई नाङ्गो देख्नुअघि पहिला उनैलाई नाङ्गो स्वरूपमा देखोस् । किनकि, उनी यो चाहन्नन् कि उनका सन्तानले कुनै पराया महिलालाई नाङ्गो स्वरूपमा देखेर मनमा गलत भावना पैदा नगराउन् । टेलिभिजन अन्तर्वार्तामा चार पुत्रकी यी आमा निर्धक्क भन्छिन् कि कुनै सिनेमा, म्यागेजिनमा वा वास्तविक रूपमै सुडौल युवती देखेपछि तिनले घर आएर मसँग सोधुन्, ‘आमा तपाईंको पेटमा के यस्तो दाग ? तपाईंको स्तन कस्तो झोलिएको ? यस्तो किन ?’ अनि म जवाफ दिनेछु, ‘तिमीहरूलाई गर्भमा हुर्काउनुका साथै कष्टका साथ जन्म दिनुपर्दा मेरा अङ्गको स्वरूप बिग्रिएको हो । यो प्राकृतिक प्रक्रिया हुनाले यसमा मलाई कुनै ग्लानि छैन । उमेर बढ्दै जाँदा हरेक महिलामा यस्तै परिवर्तन आउँछ ।’ उनको थप तर्क के छ भने कुनै महिलाको पुष्ट स्तनलाई नै आफ्ना छोराहरूले सत्य एवम् आदर्श नठानुन्, उनीहरूले पहिले नै बुझ्न सकुन् कि पछि गएर मानिसको शरीर बदलिँदै जान्छ…, महिलाको हकमा खासगरी बच्चालाई जन्म दिएपछि । उनलाई विश्वास छ, पहिले नै आफ्नो नाङ्गो शरीरसँग छोराहरूलाई परिचित गराइदिएपछि पछि उनीहरूले नै कपडाले शरीर ढाक्न अनुरोध गर्नेछन्, आमाको कोठामा प्रवेश गर्नुअघि ढोका ढक्ढक्याउनेछन् । उनी दाबीका साथ भन्छिन्, ‘कुनैबेला जब तिनका पत्नीले आफ्नो बिग्रन थालेको शरीरप्रति जब गुनासो गर्न थाल्नेछन्, त्यतिबेला मेरा छोराहरूले नै उनीहरूलाई ‘तिम्रो शरीर पर्फेक्ट नै छ, चिन्ता नगर’ भनी आश्वस्त तुल्याउनेछन् ।’

पोप पगाल्ने सुन्दरीको दाउ
अर्जेन्टियन ओस्ट्रल एयरलाइनको एक विमानको ककपिटमै प्रवेश गरेर दुई पाइलटको बीचमा बसी सेल्फी तस्बिर लिँदै त्यसलाई सोसल नेटवर्कमार्फत सार्वजनिक गर्ने विवादास्पद मोडल भिक्टोरिया सिपोलिताकिसलाई आफ्नो कारणले पाइलटहरूको जागिर गएको निकै पछुतो लागेछ । ओस्ट्रल एयरलाइनले यात्रुको जीवनमाथि खेलबाड गरेको आरोप लगाउँदै हालै दुवै पाइलटलाई सेवाबाट बर्खास्त गरेको खबर सार्वजनिक भएलगत्तै आफ्नो पापको प्रायश्चित गर्न भिक्टोरियाले पोपसमक्ष उपस्थित हुन चाहिन् । तर, पोप भेट्न गएकी उनलाई सुरक्षाकर्मीले बाहिरै रोकिदियो । यसरी रोक्नुको कारण पनि रोचक नै रह्यो । अश्लील कर्मको प्रायश्चित गर्न पोप भेट्न गएकी उनले भित्री बस्त्र नै पहिरिएकी थिइनन्, जुन कारणले उनका स्तनका मुन्टा उत्तेजक देखिन पुगे । पापको प्रायश्चित गर्नको निम्ति आफूले एकान्तमा पोप भेट्न पाउनुपर्ने उनको माग थियो । तर, त्यस्तो कामुक र अभद्र स्वरूपमा पोप भेट्टाउन सम्बद्ध सरोकारवालाहरू तयार भएनन् । अश्लील पहिरनमा आफूसमक्ष उपस्थित हुन लागेकी भिक्टोरियाको हर्कत चाल पाएपछि पोप आफैँले उनलाई भेट्न अस्वीकार गरेका थिए ।