सामुदायिक रेडियोमाथि यस्तो राजनीति †– मुक्तिनाथ भुसाल

सामुदायिक रेडियोमाथि यस्तो राजनीति †– मुक्तिनाथ भुसाल


muktiमानिसका विभिन्न गुणमध्ये नैतिकता हरेक व्यक्तिका लागि महत्वपूर्ण मानिन्छ । विशेषगरी सरकारी, अर्धसरकारी, गैरसरकारी तथा कानुनसम्मत दर्ता भएका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूको इज्जत, भविष्य, मानप्रतिष्ठा र नागरिकको दृष्टिमा उनीहरूले निर्वाह गरेको भूमिकालाई तिनको नैतिकतासँग तुलना गर्न सकिन्छ । यसैमाथि पनि सार्वजनिक महत्वका विषयमा जिम्मेवारी निभाउनेहरू कुनै पनि हालतमा गुप्त वा तिनका काम–कुरा गोप्य रहन सक्दैनन् । आफूले गरेको कार्यबाट फाइदा र बेफाइदाको तुलना गरी आफैँले मूल्याङ्कन गर्ने क्षमताको अभाव भएका व्यक्तिहरूको कारण सम्बद्ध संस्था, सहयात्री र सेवाग्रहीहरू समस्यामा पर्ने गरेकोलाई खासै अनौठो मान्नुपर्ने पनि देखिँदैन । यस्तै खालको समस्या खेप्न सामुदायिक रेडियो अर्घाखाँची एफएम १०५ थोप्लो ८ मेगाहर्ज वर्षौंदेखि विवश बनेको छ ।
सञ्चारको विकासबिना मुलुकको विकास सम्भव नभएको नारालाई सार्थक तुल्याउने हेतुले जिल्लाका प्रत्येक ठूला दलले २५–२५ जनाको सेयर उठाउने सम्झौतामा २०६५ सालमा यो एफएम सञ्चालनमा आएको थियो । अध्यक्षमा नेपाली काङ्ग्रेसका विष्णुप्रसाद खनाल मुस्कान, उपाध्यक्षमा एमालेका जर्नादन खनाल, सचिवमा एमाओवादीका ठाकुर विक किशोर, सहसचिवमा राष्ट्रिय जनमोर्चाका सागर केसी र कोषाध्यक्षमा एमाओवादीकी यमुना भुसालसहितका नेताहरू सञ्चालक समितिमा सुरुवातदेखि हालसम्म रहेका छन् । अर्घाखाँची एफएमसँगै सञ्चालनमा आएको देउराली एफएमको सञ्चालक समितिको उच्च पदमा समेटिन नसकेका सीमित व्यक्तिले यो एफएमको माध्यमवाट आफूहरूलाई सञ्चारकर्मीको रूपमा चिनाउने सौभाग्य त प्राप्त गरे, तर एफएमको स्तर र मुनाफा दिन प्रतिदिन शून्यतर्फ लम्किँदै जाँदा पनि यसलाई उकास्नेतर्फ सोच्न सकेनन् ।
जब संस्था घाटामा जाने सङ्केत देखिन्छ त्यतिबेला तुरुन्तै विकल्पको खोजी गरी सुधार वा बिक्री गरेर भए पनि जनताको पैसा फिर्ता गर्दै क्षमा माग्ने हिम्मत लिएमा साँच्चिकै नेताजीका रूपमा आफूलाई अथ्र्याउन सकिन्छ । यसो भन्दै गर्दा यो एफएमका सञ्चालक समितिका विशेष नेताजीहरूले समस्याबाट पार पाउने विभिन्नखाले अवसर प्राप्त गरेका थिए तर सोचाइ र बुद्धिको अपरिपक्वताका कारण आज सयौँ नागरिकको सेयर धरापमा पर्दै गएको छ । तत्कालीन अवस्थाको ठूलो दल एमाओवादीका ठाकुर विक र नेपाली काङ्ग्रेसका विष्णु खनाल मुस्कानको बढी नै सक्रियताका कारण अन्य दल वा सङ्घसंस्थाका व्यक्तिहरूले समर्थनस्वरूप सहयोग तथा सञ्चालक समितिमा बसेको बुझिन्छ । यी दुवैजना जिल्ला पत्रकार महासङ्घमा समेत आबद्ध छन् ।
स्थापनाकालमा स्टेसन म्यानेजरका रूपमा रहेका विष्णु आचार्यले काम गर्दा अर्घा टावरको माध्यमद्वारा करिब १५ जिल्लाले अर्घाखाँची एफएम सुन्न सक्दथे । दुई दर्जन स्टाफलाई रिझाएर, विज्ञापनको माध्यमबाट सफलताको उचाइमा एफएमलाई पु¥याउने लक्ष्य राखेका आचार्यलाई घुमाउरो पाराबाट बस्न–खान नदिएको कारण आफ्नो व्यक्तिगत समस्या देखाउँदै उनी बाहिरिएका थिए । आफू बाहिरिनुपूर्व सम्पूर्ण हिसाबकिताब तथा सञ्चालनमा रहेका करिब दुई लाखका मासिक विज्ञापनहरू समितिलाई हस्तान्तरण गरी आफूले पाउनुपर्ने रकम पनि नबुझी पत्रकार आचार्य त्यहाँबाट निस्किएका थिए र हाल उनी नेपाल टेलिभिजनको केन्द्रीय कार्यालयमा कार्यरत रहेका छन् ।
त्यसपश्चात् स्टेसन म्यानेजर बन्ने सौभाग्य पाएका शोभाकर पन्थीको एफएम प्रवेशसँगै कार्यरत अधिकांश पुराना स्टाफ क्रमशः रेडियोबाट खालिहात बाहिरिनुपर्ने परिस्थितिको सिर्जना भयो । त्यसै क्रममा ७५ हजारको सेयर लगानीसहित दुई वर्षसम्म रेडियोमा चलाएको साप्ताहिक कार्यक्रम ‘जीवनका पानाहरू’ र आफ्नै प्रयासमा झन्डै ढेड लाखभन्दा बढीका विज्ञापनको योगदान दिने पङ्क्तिकार पनि चारआना नबुझी एफएमबाट बाहिरिनुपर्ने बाध्यता आइलागेको थियो । क्षमता थोरै भए पनि धेरै जिल्लामा सुनिने अर्घा टावरलाई सो समयमा सन्धिखर्क सारिएको कारण हाल अर्घाखाँची एफएम बिजुली भएको समयमा सदरमुकाम वरपर मात्रै सीमित रहेको छ । एफएमका नाममा रहेका ४२०६८० र ४२०७०० नम्बरका टेलिफोनहरू शुल्क बुझाउन नसकेर बन्द अवस्थामा रहेका छन् भने भुसाल फर्निचर उद्योगमा करिब एक लाखबराबरको रकम आफूले नपाएको हरिप्रसाद भुसालले जानकारी गराएका छन् । एफएमका लागि घर भाडामा दिएका रजक मियाँले मासिक १५ हजारका दरले चार वर्षको भाडा नपाएको र खाली गर्दिनु भन्दा पनि यो समाचार तयार पार्दासम्म (गत सोमबार बिहानसम्म) नगरिदिएको बताएका छन् । मियाँका अनुसार करिब ९० हजार बिजुलीको शुल्क समेत तिरिएको छैन ।
करिब सवा सयभन्दा बढी सेयर सदस्य रहेको सर्वदलीय तथा सर्वपक्षीय एफएमलाई व्यावसायिक रूपमा सञ्चालनका लागि विभिन्नखाले अवसरहरू अध्यक्ष मुस्कान र सचिव विकले प्राप्त गरे पनि ती अवसरलाई उनीहरूले चिन्ने प्रयास गर्न नसकेको यथार्थता स्मरण गरे पुग्दछ । सञ्चार क्षेत्रको विकासका लागि लगानी गरेका सेयर सदस्यले हालसम्म एउटा प्रमाणपत्र पनि प्राप्त गर्न सकेका छैनन् । ०७१ भदौमा प्रथम साधारणसभा सम्पन्न गर्दै गर्दा अध्यक्षदेखि कोषाध्यक्षसम्म पुरानै अनुहार र दुई सदस्य गरी जम्मा सातजनाको सञ्चालक समिति चयन भएका थिए । साधारणसभाले रेडियोको क्षमता विस्तार, सेयर सदस्य थप तथा सेयर फिर्तालगायतका रेडियोसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार पुनः सञ्चालक समितिलाई दिएको थियो । सोही समयमा राजमो अर्घाखाँचीका कार्यकर्ताले एफएम खरिदका लागि निकै कसरत गरेका भए पनि उनीहरूलाई थकाउने र पकाउनेबाहेक उपलब्धि हुन नसकेको स्रोतको भनाइ छ ।
गत वैशाखमा घाटा नखुवाईकन ग्यारेन्टीका साथ एफएम सञ्चालन गर्न वा लिजमा लिन इच्छुक भएका व्यक्तिले धेरैपटक मुस्कान र विकलाई भेट गरे पनि सो प्रस्तावमाथि निर्णय नलिएका उनीहरूले घाटा आफैँले व्यहोरेर जनताको लगानी फिर्ता गर्नु उनीहरूको नैतिकतासँग जोडिन्छ । दुनियाँको लगानी भएको यो एफएमलाई म चलाउँछु घाटा खुवाएँ भने मेरो सम्पत्तिबाट असुलउपर गर्नु भन्ने खालको अभिव्यक्ति प्राप्त गर्दा पनि निर्णय नलिनुको नियत संस्थाको हितमा वा व्यक्तिगत स्वार्थमा ? पछिल्लो समयमा एफएमको दूरावस्थालाई उकास्न सञ्चालक समितिको सहसचिवमा रहेका राजमो सागर केसीको सक्रियतामा आफ्ना कार्यकर्तालाई एफएम खरिदका लागि प्रस्ताव गरेका रहेछन् । त्यसैअनुसार राजमो कार्यकर्ताहले असार १४ गते सञ्चालक समितिसँग २५ लाख मूल्य गरी असार मसान्तभित्र हरहिसाब क्लियर गर्ने सम्झौताअनुरूप राजमोका तर्फबाट सागर केसी, चन्द्र बन्जाडेसहितको टोली पैसा बोकेर सञ्चालक समितिलाई भेट्दा आफूहरूको आन्तरिक हिसाबकिताब नभएको भन्दै हस्तान्तरण नगरेकोे राजमो स्रोतले जानकारी गराएको छ । बुझिएअनुसार दुई–चार हप्ता राजमोलाई अलमल्याउन सकेमा उनीहरू आफ्नो बाटो लाग्ने र लगानी गरेका सेयरहरू पनि चुप बसेका कारण केही वर्षका लागि मान–सम्मान प्राप्त गरिने सोचमा सीमित व्यक्ति लागिपरेको बुझिन्छ ।