९७ पुगे उनी ।
अझै उत्तिकै सक्रिय । सबैको मन राख्न खप्पीस ।
माइक उनी बसिरहेकै ठाउँमा पु¥याउन खोज्दा मानेनन्, ‘म रोष्ट्रमै गएर बोल्छु ।’
‘हजुरलाई सजिलो हुन्छ कि भनेर नि ।’ उद्घोषण गरिरहेको केटो बोल्यो ।
‘यसरी सजिलो खोजेको भए कहाँ अहिलेसम्म रहन्थँे होला र ?’ उनले भनेपछि सबैले ताली पिटे ।
बूढाको अनुहारमा तेज र आकर्षण छ । आफ्नोपनको आभाष हुने आकर्षण र सबैलाई प्रभाव पार्ने तेज । सन्तुष्ट अनुहार ।
पहिलेपहिलेका भन्दा अलि फरक थियो– राष्ट्रकवि माधव घिमिरेको आजको बोली । उनको आवाजको कम्पनयुक्त आकर्षण उही थियो । उही थियो अनुहारको भावभङ्गीमा । तर, बोलिरहेका शब्दहरू फरक थिए । भनिरहेका कुराहरू भिन्न थिए ।
‘म ९७ पुगँे । मसँग समय कम छ ।’ मृत्युको आभाष भएजस्तो गरी उनले भने । केही महिनाअघि राष्ट्रकविको घरमा म पुगेको थिएँ । कुराकानीका क्रममा मृत्युका कुरा ज्यादा भए । त्यतिखेर उनले भनेका थिएँ, ‘मैले मर्न डराउनुहुँदैन मणि । मैले पनि मर्न डराएँ भने त पाप लाग्ला नि मलाई ।’
मलाई आश्चर्य लागेको थियो । मैले जिज्ञासा राखेँ, ‘जीवन जिउन चाहन्छु भन्दा पनि कहीँ पाप लाग्छ त ?’
‘मभन्दा निकै साना मानिस मरिरहेका छन् । मेरा समकालीन एक–दुईजना बाँकी होलान् । सबै गइसके । यस्तो अवस्थामा म अझै बाँच्न चाहन्छु भन्नु त मूर्खता हो नि । अज्ञानता हो नि । मलाई त जतिखेर मन लाग्छ त्यतिखेर लगोस् कालले ।’
‘थाक्नुभएको हो र जीवनसँग ?’
‘थाकेको भए यति फुर्तीसँग तपाईंसँग बोल्थेँ र म ? तपाईंका कथाका पात्रहरूको कुरा गर्थें र ? अब के छ र थाक्नु ? सबैले मान–सम्मान गरेका छन् । जता गयो त्यतै वाहवाह छ । सबैतिर माया गर्छन् । यस्तो अवस्थामा कसरी थाक्न सकिन्छ ? तर, थाकेको छैन भनेर धेरै लोभ पनि त गर्नु भएन नि ।’
कत्रो साहसी कुरा । म सुनेको सुन्यै भएँ । त्यसो त राष्ट्रकविको घरमा म प्रायः गइरहन्छु । महिना–दुई महिनामा एकचोटि । हरेक भेटमा मैले जीवनप्रतिको उनको सकारात्मक सोचलाई महसुस गरेको छु । मलाई लाग्छ– उनको अनुहारमा देखिने आकर्षण उनको सकारात्मक सोचकै कारण हो भन्ने लाग्छ ।
वर्षौं पहिले ५८–५९ सालताका म चल्तीमा रहेको एउटा राष्ट्रिय दैनिकमा काम गर्थेँ । त्यसताका बूढासँग कुरा गर्नुप¥यो भनेर माधव घिमिरेकहाँ गएँ । उनी लमजुङका केही ठूलाठालु र व्यवसायीहरूसँग रहेछन् ।
मलाई सँगै राखे । सबैसँग परिचय गराए, ‘उहाँ पछिल्लो समयको राम्रो कवि । पत्रकार पनि हो । छोटा मीठा कथाहरू पनि लेख्नुहुन्छ ।’
लमजुङका ठूलाठालु र व्यवसायीहरू लमजुङमा उनको पूर्णकदको प्रतिमा राख्नलाई अनुमति माग्न आएका रहेछन् । उनले मानेनन् । उनीहरूले कर गरे, ‘हामीले सबै तयारी गरिसकेका छौँ । खर्च पनि जुटाइसकेका छौँ । हजुरको अनुमति मात्र लिन आएको । अनुमति पायौँ भने तीन महिनामा हामी प्रतिमा राख्छौँ हजुर ।’
उनले मान्दै मानेनन् । निराश भएर उनीहरू फर्किए ।
‘किन नमान्नुभएको त आफ्नो प्रतिमा राख्न ?’ उनीहरू हिँडेपछि मैले सोधँे ।
‘लेखक–कविले आफ्नो प्रतिमा र शालिक पाठकहरूको मनमा बनाउने हो । दोबाटो–चौबाटोमा होइन । मलाई पाठकका मनमा रहँदा नै रमाइलो हुनेछ ।’
कविवरप्रतिको श्रद्धा झन बढ्यो । त्यसो त राष्ट्रकवि माधव घिमिरे मात्र एउटा यस्ता मानिस हुन् जसप्रति हरेक भेटमा श्रद्धा चुलिँदै गएको छ । जतिचोटि भेट्यो त्यति नै चोटि उनीप्रतिको श्रद्धा थप फैलिएको छ । झाँगिएको छ ।
त्यसै ताका हुनुपर्छ । कुनै एक दिन त्यत्तिकै उनको घरमा पुगेको थिएँ । उनलाई प्रमुख अतिथि बनाउन मानिसहरू आइरहेका थिए । एकै दिन चारवटा कार्यक्रममा प्रमुख अतिथि बस्न उनी राजी भएपछि धर्मपत्नी महाकाली रिसाउनुभयो, ‘आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ नि ।’
‘के गर्नु सबैले बोलाउँछन् । नाइँ भन्न मन लाग्दैन । उनीहरूले नै बुझेर नबोलाए हुन्थ्यो,’ मतिर हेर्दै उनले भने ।
त्यो साँझ कार्यालय पुगेपछि मैले एउटा स्टोरी लेखेँ, ‘कविवर घिमिरे जीवित सम्पदा हुन् । उनलाई अझ सिर्जनशील र स्वस्थ बनाउन कार्यक्रममा धेरै बोलाउनु राम्रो होइन । उनी आफैँ पनि धेरैले मलाई नबोलाओस् भन्ने चाहन्छन् ।’
यो न्यूज छापिएपछि उनी खुसी भएर मलाई फोन गरे, ‘तपाईंले राम्रो गरिदिनुभो ।’
एक महिनापछि घर पुग्दा धर्मपत्नी महाकाली अझ खुसी भेटँे, ‘बाबुले राम्रो गरिदिनुभो, त्यो स्पेसटाइममा छापिएपछि कार्यक्रममा बोलाउन कम भएको छ ।’
यो १२ वर्षअघिको कुरा हो । तर, अहिले फेरि त्यस्तै भइसकेको छ । राष्ट्रकवि एउटा महाकाव्य पूरा गर्न दत्तचित्त छन् । तर, उनीसँग समय नै छैन ।
‘म ९७ पुगँे । मसँग समय कम छ,’ उनले भने, ‘मेरो समय तपाईंहरूले बचाइदिनुस् ।’ उनले अनुरोध भावमा भने, ‘तपाईंहरूले बोलाएपछि मैले कसरी नाइँ भन्नु । तर, म एउटा महाकाव्य पूरा गर्न खोज्दै छु । त्यो पूरा गर्न दिनुस् । मसँग साँच्चिकै समय कम छ ।’
हो पनि, ९७ वर्षको मान्छेलाई कार्यक्रममा बोलाएर दुई–तीन घन्टा राख्नु भनेको दुःख दिनु नै हो । बरु रहर लाग्छ भने उनको निवासमा जान सकिन्छ । सँगै बसेर फोटो खिच्न सकिन्छ । साहित्य, जीवन र दर्शनका कुराहरू गर्न सकिन्छ । तर, कार्यक्रममा बोलाउनु र बोल्न लगाउनु त्यति व्यावहारिक होइन कि भन्ने लाग्छ ।
‘तपाईंहरूलाई राष्ट्रकविको हातबाट विमोचन गराउन मन लाग्नु स्वाभाविक हो । तर, म एक्लो बूढो कति ठाउँमा जाऊँ ? गाह्रो पनि हुन्छ । फेरि मसँग समय नै कहाँ छ र धेरै ?’ उनले फेरि भने ।
उनको अन्तिम वाक्य नमीठोसँग मेरो मनमा गढ्यो, ‘फेरि मसँग समय नै कहाँ छ र धेरै ?’
प्रतिक्रिया