अंग प्रत्यारोपण गरिएकाबीचको प्रतियोगितामा महजोडीलाई मायाको चिनो

अंग प्रत्यारोपण गरिएकाबीचको प्रतियोगितामा महजोडीलाई मायाको चिनो


विश्व मिर्गौला दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा अंग प्रत्यारोपण गरिएका व्यक्तिले सहभागिता जनाएका थिए । प्रतियोगितामा ब्याडमिन्टन, दौड र फुटबल प्रतियोगिता समावेश गरी प्रतिस्पर्धा गराइएको थियो ।

सहभागी अंग प्रत्यारोपण खेलाडीहरूको ब्याडमिन्टन खेल बालाजु कराते डो प्रतिष्ठानको तालिम हल बालाजु, भक्तपुरस्थित सैनिक खेल मैदानमा दौड र सोही मैदानमा डाक्टर टिम र प्रत्यारोपण गरिएकाहरूको टिमबीच फुटबल खेलको आयोजना भएको थियो ।

ब्याडमिन्टनमा ३० वर्षमुनि एकलतर्फ उज्ज्वल दाहालले पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै कविराज गैरे दोस्रो र राजकुमार लिम्बू तेस्रो भएका थिए । त्यस्तै, ३० वर्षदेखि ४५ वर्षमुनितर्फ लीलाकान्ता चौधरी प्रथम, निगम राई दोस्रो र एकेन्द्र खड्का तेस्रो भए । यसैगरी ४५ वर्षभन्दा माथिको समूहमा प्रेमरत्न मानन्धर प्रथम, विष्णुलाल श्रेष्ठ दोस्रो र शदाशिव भण्डारीले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै महिला एकल समूहमा शुलोचना श्रेष्ठ पहिलो, गित श्रेष्ठ दोस्रो र सपना श्रेष्ठ तेस्रो भए ।

४५ वर्षमुनिको सय मिटर दौड प्रतियोगितातर्फ पुरुष समूहमा लीलाकान्ता चौधरी प्रथम, कविराज गैरे दोस्रो र निगम राई तेस्रो भए । त्यस्तै, ४५ वर्षमाथिको पुरुष समूहमा विष्णुलाल श्रेष्ठ पहिलो, प्रेमरत्न मानन्धर दोस्रो र धनबहादुर सिजापतीले तेस्रो स्थान प्राप्त गरेका थिए । चार सय मिटर समूहमा पनि विष्णुलाल श्रेष्ठ पहिलो, प्रेमरत्न मानन्धर दोस्रो र धनबहादुर सिजापतीले नै बाजी मारेका थिए ।

सय मिटर महिलाको समूहमा गित श्रेष्ठ प्रथम, तुलसा भट्टराई द्वितीय र सानु शोभा शाक्य तृतीय भए । त्यस्तै, चार सय मिटर महिलाको समूहमा पनि यिनै खेलाडी प्रथम, द्वितीय र तृतीय बनेका थिए ।

कार्यक्रमका मुख्य अतिथि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । साथै सो अवसरमा अतिथिको रूपमा उपस्थित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतका अतिथिलाई आयोजकको तर्फबाट अध्यक्ष ध्रुवविक्रम मल्लले मायाको चिनो प्रदान गरेका थिए ।