विख्यात गायक र हात्तीको कथा – मणि लोहनी

विख्यात गायक र हात्तीको कथा – मणि लोहनी


Mani Lohaniम जन्मिएताका फत्तेमान हात्तीको व्यापार गर्थे ।
राजाहरूले दान दिने हात्तीको व्यापार । त्यसताका राजपरिवारका सदस्यले समृद्धि र उन्नतिका लागि ब्राह्मणहरूलाई हात्ती दान दिने प्रचलन थियो । उनी ब्राह्मणहरूसँग दान पाएको हात्ती किन्थे र राजपरिवारका सदस्यहरूलाई चाहिएको बेलामा बेच्दथे ।
फत्तेमानका साथीहरू उनलाई जिस्क्याउँथे पनि, ‘यो सानो मान्छे हो र ? हात्ती पाल्न सक्ने मान्छे हो ।’ हात्तीको किनबेच गर्नु सानु कुरा थिएन । बाहुनसँग किनेर नबिकेसम्म हात्तीलाई पाल्नु पनि पथ्र्यो । देवपतनको घरमा उनी हात्ती पाल्थे । त्यसताकाका फत्तेमानका हात्तीका अनेक किस्सा छन् । उनका समकक्षीहरू फत्तेमानको हात्तीको किस्सा सुनाउन पाउँदा अहिले पनि रोमाञ्चित हुन्छन् । पशुपतिमा क्युरियोको व्यापार गर्दागर्दै उनले हात्तीको व्यापारमा फड्को मारेका थिए । क्युरियोको व्यापार गर्दा उनको संगत अभिनेत्री माला सिन्हासङ्ग थियो । मुम्बई ब्रान्दामा पुगेर उनी कैयौँपटक माला सिन्हाकहाँ बसेका पनि थिए ।
चौंतीस–पैंतीस सालतिर उनको नारायणगोपालसँग भेट भयो र उनी गीत–सङ्गीतमा नै व्यस्त भए । हरेक बिहानजस्तो नारायणगोपाल ‘महाराज’ भन्दै फत्तेमानको घर पुग्थे । गीतका नयाँनयाँ बान्की र सङ्गीतका कुरा गर्थे । प्रायजसो पशुपतिका जोगीहरूका साथमा भेटिने भएकाले नारायणगोपालले उनलाई ‘महाराज’ सम्बोधन गर्थे । किशोरवयका नारायणगोपाल फत्तेमानका स्वरका फ्यान नै थिए । गीत–सङ्गीतका यी दुवै शिखर पुरुषको मित्रता नेपाली सुगम सङ्गीतका लागि उपलब्धिपूर्ण रह्यो । ०३५/३६ मा नेपाली सुगम सङ्गीतले एउटा भिन्न मोड समायो । सुगम सङ्गीतमा त्यो भिन्न मोड ल्याउने हस्ती थिए– फत्तेमान र नारायणगोपाल । त्यसताका नारायणगोपाल शब्द छनोट गर्ने र सङ्गीत भर्ने गर्थे । फत्तेमान आफ्नो जादुमयी स्वरमा जीवन्तता दिन्थे –
‘वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले’ स्वर : फत्तेमान/सङ्गीत : नारायणगोपाल/शब्द : कालीप्रसाद रिजाल ।
फत्तेमानको गायन शैलीको आफ्नै एउटा परम्परा छ । संस्कृति छ । फत्तेमानको आवाज भिन्न छ । उनको स्वरको छुट्टै माधुर्यका कारण आज नेपाली सुगम सङ्गीतको स्थान अझ फराकिलो भएको हो ।
पशुपति क्षेत्रमै जन्मेकाले भजनको पृष्ठभूमिबाट गायन यात्रा सुरु गरेका फत्तेमानको गहकिलो र माधुर्य स्वरका कारण ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’, ‘सान्ननीको गालैमा कालो कोठी’, ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’, ‘जिन्दगीको पानाभरि सुख भेटिँदैन’, ‘वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले’, ‘झरी जाने फूलको पनि’, ‘मर्न बरु गाह्रो हुन्न’जस्ता दर्जनौँ गीत कालजयी साङ्गीतिक कृति बन्न पुगेका छन् । पशुपति मन्दिर परिसरमा हुने नित्य भजनबाट सात वर्षको कलिलो उमेरबाटै आफ्नो गला मिसाउन थालेका फत्तेमानको त्यसबेला भजन गायन नै स्वर साधनाको राम्रो माध्यम थियो । ०१८ मा रेकर्डिङको मौका पाएपछि उनले पहिलो रेकर्डका रूपमा पनि भजन नै गाएका थिए । ०२६ मा रेडियो नेपालको सङ्गीत प्रतियोगितामा नातिकाजीको सङ्गीत र यादव खरेलको शब्दमा यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले–कहिले बोलको गीत गाएर प्रथम स्थान हासिल गरेपछि भने उनको गायन यात्राको काँचुली नै फेरियो । त्यो गीतबाट फत्तेमानले तत्कालीन राजा महेन्द्रलाई समेत आफ्नो फ्यान बनाइदिए । राजाकै हातबाट स्वर्णपदक प्राप्त गरेका उनको दरबारसँगको सम्बन्ध पनि झाँगियो । दुःखसुखमा दरबार उनको सहयोगी बन्यो । बेलाबेलामा दरबार जाने र गीत गाउने सिलसिला सुरु भयो । राजा महेन्द्र पनि गीत–सङ्गीतका पारखी । मुड चल्यो कि फत्तेमानलाई बोलाउँथे र महफिल जमाउँथे ।
दुखान्त गीतमा आवाज दिन रुचाउने फत्तेमानको नातिकाजी र शिवशङ्करसँग अजीवको मित्रता थियो । नातिकाजीले भनेको उनी हार्न सक्दैनथे । नातिकाजीले भनेको सबै गीत उनले गाए । फत्तेमानको स्वरबाट प्रभावित नातिकाजीले उनलाई भजनबाट आधुनिक सङ्गीतमा ब्रेक दिएका थिए । नातिकाजी फत्तेमानका प्रशंसक मात्र थिएनन्, सल्लाहकार र निर्देशक पनि थिए –
‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले–कहिले’ स्वरः फत्तेमान/ सङ्गीत : नातिकाजी/ शब्द : यादव खरेल ।
हक्की र रसिक स्वभावका फत्तेमान मद्यपान र धुमपानका निकै सौखिन थिए । निधनभन्दा एक वर्षअघिसम्म उनले रंगमञ्चीय कार्यक्रमहरूमा आफ्नो दरिलो सक्रियता देखाए । बित्नुभन्दा केही समयअघि आयोजना भएको उनको एकल सङ्गीत साँझमा उनले निर्धक्क गाएको देख्दा सबैले जिब्रो टोकेका थिए । पछिल्लो समय एल्बम निकाल्ने तयारीमा रहे पनि उनको स्वास्थ्यमा प्रतिकूलता आएपछि केही समयका लागि स्थगित गरिएको उनको रेकर्डिङ सधैँका लागि स्थगित भयो ।
‘मैले गाएको गीत आखिर सत्य रहेनछ ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ०१६ मा ललितपुरको शान्त भवनमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ भने झँै शैलीमा फत्तेमानले भने, ‘मैले मर्न बरु गाह्रो हुन्न भनेर गीत गाएँ, तर मर्ने बेलामा साह्रै गाह्रो हुँदो रहेछ । मलाई अहिले निकै गाह्रो भइरहेको छ ।’ ओम हस्पिटलको सघनकक्षमा थियौँ हामी – जमुना भाउजू, प्रद्युम्न जोशी र म ।
उहाँको अन्तिम संवाद थियो, ‘मर्न निकै गाह्रो हुँदो रहेछ ।’
प्रशस्त चुरोट पिउने फत्तेमानलाई फोक्सोको क्यान्सर भएको थियो । क्यान्सर पत्ता लागेको एक साता पनि नबित्दै उनको निधन भयो । वि.स. २०१३ मा वासु शशिको नेवारी नाटक ‘ताचाप्वायँ’मा गीत रचेर गीत–सङ्गीतमा औपचारिक प्रवेश गरेका फत्तेमान वासु शशि स्मृति परिषद्को उपाध्यक्ष हुँदा म कार्यसमिति सदस्य थिएँ । अत्यन्त सरल र इमानदार यी गायक निकै स्वाभिमानी थिए । उनलाई आफ्नो नाममा संस्था खोल्न ठूलो रहर थियो । भन्थे, ‘मेरो शेषअघि नै मलाई संस्था खोल्न मन छ । सङ्गीतको क्षेत्रमा केही गर्न मन छ ।’ उनको यो सोचाइ भने पूरा हुन सकेन ।
नेपाली सुगम सङ्गीतको इतिहासमा गायक फत्तेमान राजभण्डारीको नाम विशिष्ट छ । उनको गीतमा बिहान सबेरै आफ्नो गला तिखार्ने शिष्यहरूको सङ्ख्या कम छैन । फत्तेमान गायकीका लागि विद्यालय थिए । गायकीका यी विद्यालयलाई अब संस्थागत गर्नुपर्ने बेला आएको छ । नेपाली गीत–सङ्गीतका सबै मिलेर फत्तेमानको सम्मानमा धेरै थोक गर्नुपर्नेछ । उनको नामबाट गरिएका कामहरूले नेपाली गीत–सङ्गीत अझ उचाइमा पुग्नेछ ।