किरणको ‘सार्थक’ म्युजिक भिडियो सार्वजनिक

किरणको ‘सार्थक’ म्युजिक भिडियो सार्वजनिक


funtime१५ पन्ध्र वर्षअघिदेखि साहित्यिक कर्ममा लागेका लमजुङका सर्जक किरण बरालको पहिलो आधुनिक गीतहरूको सङ्ग्रह ‘सार्थक’भित्र समेटिएको ‘तिमीस“ग नजिक भएर…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वरूपराज आचार्यको स्वरमा समेटिएको उक्त गीतमा बीबी अनुरागीले सङ्गीत भरेका छन् भने शब्द किरण बरालको रहेको छ ।
उपत्यकाको विभिन्न मनोरम स्थलहरूमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा अहिलेका चर्चित मोडल नीराजन प्रधान र बेनिशा हमालले अभिनय गरेका छन् । हरि हुमागाईंको छायाङ्कन र निसान घिमिरेको सम्पादन रहेको उक्त भिडियोमा गीतको भावअनुसारको विषयवस्तुलाई समेत निकै आकर्षक ढङ्गबाट प्रस्तुत गरिएको निर्देशक विशाल भण्डारीले बताए । म्युजिक भिडियोमा कथावस्तुलाई भन्दा विशुद्ध प्रस्तुतिलाई मात्र जोड दिने निर्देशक भण्डारीको यस भिडियो कथावस्तु प्रदान भए पनि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी भण्डारीले दिए ।
लमजुङस्थित बेसीसहर नगरपालिका–५ भकुण्डे घर भई लामो समयदेखि गीत अनि गजल सर्जकका अलावा नाटक लेखन, निर्देशन, रेडियो कार्यक्रम सञ्चालन, स्तम्भलेखन, प्राध्यापन र बैंकिङ पेसामा समेत आबद्ध सर्जक बरालको यो गीतको म्युजिक भिडियोले छोटो समयमा नै यू ट्युवमा उल्लेख्य सङ्ख्यामा दर्शकको माया कमाइरहेको छ । एसियन म्युजिकले बजारमा ल्याउन लागेको उक्त एल्बम छिट्टै सार्वजनिक हुने सर्जक बरालले जानकारी दिए । उक्त एल्बममा स्वरूपराज आचार्यलगायत अहिलेका चर्चित साङ्गीतिक हस्तीहरू शिशिर योगी, अञ्जु पन्त, दिनेश गौतम, विमल पराजुलीको सुमधुर स्वर समेटिएको छ भने सङ्गीत बीबी अनुरागी, दीपक शर्मा, शिशिर योगी, पुस्तकप्रसाद र विमल पराजुलीको रहेको छ । एल्बम सार्थकभित्र समेटिएका सबै गीतमा सर्जक किरण बरालले शब्द रचना गरेका हुन् ।
प्रेम र विछोडको विषय मात्र नभएर यस एल्बममा कर्णालीका जनताको दुःखपीडालाई सरकारले सम्बोधन गर्न नसकेको कुरालाई समेत बेजोड ढङ्गले प्रस्तुत गरिएको ‘डोल्पाले चामल पा छैन’ गीत पनि समेटिएको छ जसमा शिशिर योगीको सुमधर स्वर एवम् सङ्गीत रहेको छ । सर्जक किरण बरालकी ममतामयी आमा स्वर्गीय राधा बरालको स्मृतिमा बजारमा आउन लागेको यस एल्बमका सम्पूर्ण गीतहरूको रेकर्डिङलगायतका प्राविधिक कामहरू पूरा भइसकेको र छिट्टै नै एल्बम सार्वजनिक गरिने कुरा एल्बमकी कार्यकारी निर्माता रश्मी बराल (घिमिरे)ले बताइन् ।