नेताहरू आफूलाई मनपरेका सुझाव मात्र ग्रहण गर्ने पक्षमा

नेताहरू आफूलाई मनपरेका सुझाव मात्र ग्रहण गर्ने पक्षमा


mainnewsचर्को सकसमा ‘संविधान’
संविधान निर्माण प्रक्रियामा जटिलताहरू थपिँदै गएपछि चार दलका नेताहरूले नयाँ संविधान घोषणाको मिति निर्धारण गरेका छन् । साउन ४ र ५ गते देशका दुई सय चालीस निर्वाचन क्षेत्रमा मस्यौदाबारे जनताको राय सङ्कलन गर्ने औपचारिकता पूरा गरेपछि चार नेताहरूले संविधान जारी गर्न साउन २५ गतेको तिथि तय गरेका हुन् । नेकपा एमालेले साउन १५ या १९ गते नै संविधान जारी गर्नुपर्ने प्रस्ताव शीर्ष बैठकमा राखेको थियो । काङ्गे्रस र एमाओवादीले उक्त मितिमा नसकिने कारण प्रस्तुत गरेपछि साउन २५ को मिति निर्धारण भएको बुझिएको छ । तर, मिति निर्धारणसँगै नयाँ संविधान आउनेमा भने आशङ्का बढेको छ । यसरी आशङ्का बढ्नुको मूल कारण जनस्तरबाट आएको सुझाव र सुझावप्रति प्रमुख चार पक्षका नेताहरूको धारणालाई मानिएको छ । कतिपय जिल्ला र क्षेत्रका जनताले संविधान निर्माण प्रक्रिया र अन्तर्वस्तुमा असहमति जनाउँदै सुझाव प्रक्रियामा सहभागिता जनाएका छैनन् । कदाचित संविधान जारी भए कठोर एवम् निर्णायक सङ्घर्ष गर्ने योजनाबद्ध तयारीका साथ ‘ती’ क्षेत्रका जनता बसेका छन् । यस क्रममा मधेसको केही जिल्लालाई समेटेर नेपालबाट अलग्गिने घोषणाको तयारीसमेत भइरहेको छ । सुझावका क्रममा जनताको सबैभन्दा बढी हिस्साले संविधानमा ‘धर्मनिरपेक्षता’ हटाएर ‘धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र’ लेखिनुपर्ने धारणा प्रकट गरेका छन् । सुझावमा सहभागी करिब असी प्रतिशतले हिन्दूराष्ट्र कायम गरिनुपर्ने धारणा प्रकट गरेको जानकारीमा आएको छ । त्यसपछि सङ्घीयतामा जाँदा आठभन्दा कम तीन या बढीमा पाँच प्रदेश मात्र बनाउनुपर्ने सुझाव जनताले दिएका छन् । त्यस्तै, प्रदेशहरू हिमाल, पहाड र तराईलाई समेटेर सीमाङ्कनसहित बनाइनुपर्ने पनि जनसुझाव छ । संविधानको प्रस्तावनामा ‘बहुलवाद’ शब्द उल्लेख गर्न र देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा चयन गर्न पनि जनताले सुझाव दिएका छन् । तर, चार दलका नेताहरूले जनताका सुझावमध्ये आफूलाई मनपरेको मात्र कार्यान्वयन गर्ने सङ्केत दिएका छन् । एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा अभियान चलाइरहेको छ भने एमालेका कतिपय नेताहरूले पनि यस विषयलाई अलिक बढी महत्व दिन खोजेका छन् । स्मरणीय छ, एमाओवादी र एमालेले पहिलेदेखि नै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को पक्षमा वकालत गर्दै आएका थिए । तथापि एमाले अध्यक्ष केपी ओलीले भने १६ बुँदे सम्झौताकै आधारमा संविधान निर्माण गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ । यद्यपि संविधानको मस्यौदाबाट ‘धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउनुपर्ने सार्वजनिक घोषणा ओलीले गरिसक्नुभएको छ । काङ्गे्रस नेतृत्वले ‘धर्मनिरपेक्षता’को ठाउँमा ‘धार्मिक स्वतन्त्रता’ शब्द उल्लेख गर्नु उपयुक्त हुने ठानेको छ ।
जनताको सुझाव लिने कार्यलाई एउटा औपचारिकतामा सीमित गर्न खोजिए पनि सञ्चारमाध्यमका कारण नेताहरूको नियोजित प्रयास सफल हुन सकेन । देशभरिबाट के–कस्ता सुझाव प्राप्त भए भन्ने जानकारी आमजनता र अन्तर्राष्ट्रिय समुदायलाई समेत भइसकेको छ । तर, उनीहरूले जनसुझावलाई छल्ने र आफूअनुकूलको विषयलाई मात्र उचाल्ने प्रयास गरिरहेका छन् । एमाओवादी संविधानमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ राख्न निकै कस्सिएको छ । उनीहरू संसदीय व्यवस्थाको नामोनिसान राख्न नहुने भन्दै त्यसनिम्ति कसरत गर्दै छन् । जब कि नेपाली काङ्गे्रस संसदीय प्रणाली छोडेर ‘प्रत्यक्ष्ँ निर्वाचित कार्यकारी’को पक्षमा जाने सम्भावना क्षीण छ । काङ्गे्रस संविधानको प्रस्तावनामा जनसुझावअनुसार ‘बहुलवाद’ लेख्न र धर्मनिरपेक्ष शब्द हटाउन इच्छुक देखिँदै छ । एमाओवादी र एमाले ‘धर्मनिरपेक्ष’ हटाएर ‘हिन्दूराष्ट्र’ लेख्न कदापि तयार नहुने अवस्थामा छन् । यसरी जनसुझाव जे–जस्तो आएको भए पनि ‘नेताहरू’ आ–आफ्नो अनुकूलका सुझावलाई मात्र ग्रहण गर्न इच्छुक र उत्सुक देखिएका छन् । यसले चार दलभित्रै तनाव एवम् असहमति प्रकट हुने सम्भावना बढाएको छ भने कदाचित कुनै तरिकाले सहमति बनेर संविधान जारी गरिए पनि आफ्ना सुझावविपरीत आएको संविधानलाई जनताले तत्क्षण अस्वीकार गर्नेमा शङ्का गर्नुपर्ने स्थिति छैन । संविधान सङ्कटमा पर्नुको अर्को मूल कारण प्रदेशहरूको सीमाङ्कन बनेको छ । जनताको ठूलो हिस्साले सीमाङ्कनसहित प्रदेशहरूको घोषणा हुनुपर्ने बताएका छन् । तीमध्ये धेरैले हिमाल, पहाड र तराईलाई समेटेर थोरै प्रदेश निर्माण गर्न भनेका छन् भने तराई–मधेसलाई अलग राखेर सीमाङ्कन गरिनुपर्छ भन्ने मत पनि बलियो छ । परस्पर विपरीत यी दुवै मतलाई सम्बोधन गर्न नसकेका कारण विगतमा पनि संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको थियो । यस्तै कठिनाइबाट मुक्त हुँदै संविधान जारी गर्न ‘आयोग बनाएर सीमाङ्कन’ गर्ने जुक्ति (युक्ति) सोह्र बुँदे सम्झौताले निकालेको थियो । तर, अब सीमाङ्कनसहित संविधान जारी गर्न चार दलमाथि भित्र र बाहिरबाट दबाब परेको छ । जब सीमाङ्कनसहित संविधान जारी गर्नुपर्ने आवाज चार दलभित्र पनि उठ्न थाल्यो त्यसबाट एमाले अध्यक्ष केपी ओली चिन्तित हुनुभएको छ । मुखैमा आइसकेको प्रधानमन्त्री पद त्यागेर ‘महिना दिनभित्रै’ संविधान जारी गर्ने–गराउनेतिर लाग्नुभएका नेता ओलीलाई पछिल्ला घटनाक्रमहरूले केही निराश र हतास बनाएको महसुस गर्न थालिएको छ । अब संविधान तत्काल बन्न नसक्ने, बनिहाले पनि कार्यान्वयन हुन त झनै नसक्ने जुन परिस्थिति सिर्जना भएको छ, यस्तो अवस्थामा केपी ओलीले सुशील कोइरालालाई चाहिँ कहिलेसम्म बोकेर हिँड्नुहोला, प्रश्न खडा भएको छ ।