पुस्तक अंश
आफ्नै दिवंगत पतिको नामसँग नाम मिल्ने नयाँ पुरुषको आगमनले जमुनाको जीवनमा नौलो खुसी ल्यायो । जमुनालाई लाग्यो– भगवान्ले उनका लागि धर्तीमा दुई हर्क जन्माइदिएका रहेछन् । यस्तै भाव मनमा खेलाउँदाखेलाउँदै जमुनाले अनायासै बार म्यानेजर हर्कबहादुर विष्टलाई प्रेम गर्न थालिन् । प्रथम पत्नीले छाडेर गएपछि एक्लै जीवन बिताइरहेका हर्कबहादुरको जीवनमा पनि जमुना पूर्णिमाकी जूनझैं उदाएकी थिइन् ।
कृष्णप्रसादले थाहा नपाउनेगरी हरेक रात जमुनालाई हर्कबहादुरले धक्का दिन थाले । जमुना पनि प्रेमको त्यो धक्का सहर्ष थाप्दै रमाउन थालिन् । उनका यौवनका सुषुप्त नशा र रसग्रन्थीमा उन्मादको नयाँ लहर दौडन थाल्यो ।
एकरात धक्कापछिको विश्रामक्रममा हर्कबहादुरले भने, ‘जमुना प्यारी, तिमी अब यो नर्कमा बस्ने होइन । यहाँ बसिरह्यौ भने तिमीलाई यिनीहरूले एक दिन रन्डी बनाउनेछन् । म तिमीलाई यहाँबाट भगाएर विदेश लान्छु ।’
‘कहाँ लान्छौ र राजा ?’
‘हेर, इजरायल भन्ने देश छ । त्यहाँ हामीजस्ता बलिया म्यानपावरको खाँचो छ । त्यो देशमा केटा र केटी दुवै जान पाइन्छ । त्यहाँका बूढाबूढीको हेरचाह गर्नुपर्छ । महिनाको डेढ लाख रूपैयाँसम्म तलब हुन्छ । भिसाका लागि त्यस्तै चार–पाँच लाख खर्च गर्नुपर्छ । मसँग चार–पाँच लाख छ । तिमीसँग पनि एक–दुई लाख होला । केही महिना यही लजमा काम गरेर पैसा जम्मा गरौँ र हामी दुवै प्रोसेस चालेर इजरायलतिर उडौँ । यो नर्कमा नबसौँ ।’
‘आहा, कति जाती । जान पाए त हुन्थ्यो नि, इजरेल ।’
‘धन्दा नमान जमुना, म त्यो सबै व्यवस्था मिलाउँछु । इजरायल जानुअघि नै म तिमीलाई मन्दिरमा लगेर विवाह पनि गर्छु । हेर, म पनि एक्लै कसरी यो भवसागर पार गरूँ प्रिय ? भन त ? तिमी र म मिलेर नयाँ संसार सजाऔँ ।’
हर्कबहादुरका कुराले जमुनामा नयाँ आशा पलायो । पतिवियोगको पीडामा मलहम दलियो । हर्कबहादुरजस्ता व्यावहारिक र मायालु प्रेमीलाई पतिका रूपमा पाउने भएपछि जमुनाले आफ्नो पुनर्जन्म भएको महसुस गरिन् । उनी इजरायल उड्न पाइने दिनको कल्पनामा रमाउन थालिन् ।
आखिर नियतिको खेल अर्कै रहेछ । एक दिन एउटा यस्तो घटना भयो, जसले जमुनाको आशाको महल गल्र्यामगुर्लुम ढालिदियो ।
मुलुकमा राजा धनेन्द्रको खिलाफमा आन्दोलन चर्कियो । विद्रोही पार्टीले गाउँबाट र लोकतान्त्रिक पार्टीले सहरबाट आन्दोलनको आँधीबेहरी सिर्जना गरे । महानगरमा आन्दोलनको मुख्य केन्द्र बसपार्क एरिया नै थियो । प्रदर्शनकारीले दिनहुँ टायर बालेर बसपार्क क्षेत्रमा बाटो अवरुद्ध गर्न थाले । शाही सरकारले बसपार्क क्षेत्रमा प्रदर्शन गर्न नपाउने भनी निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले प्रहरीले राखेका बार भत्काएर नाराबाजी गर्न थाले । प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान सुरु भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र हवाई फायर गर्न थाले ।
एक दिनको कुरा हो । प्रदर्शनकारीको एउटा ठूलै समूह रमझम लजकै अगाडिको सडकमा एकत्रित भएको थियो । उनीहरूले बडा उत्तेजक नारा लगाइरहेका थिए । ‘धनेन्द्र गुन्डा रूखमा झुन्डा’ त हरेकको मुखमा थियो । हेर्दाहेर्दै प्रदर्शनकारीले राजा धनेन्द्रको पुत्ला जलाए ।
रमझम लजको मुख्य सटर बन्द गरिएको थियो । लजका कामदार र यौनकर्मीहरू तेस्रो र चौथो तलाको झ्यालबाट प्रदर्शनकारीले टायर बालेको हेरिरहेका थिए ।
रमझम लजको रुम नम्बर ३०४ को झ्यालबाट जमुना, स्विटी, नवोदित यौनकर्मी सिमरन र बार म्यानेजर हर्कबहादुरले सडकको ‘रमिता’ हेरिरहेका थिए । उनीहरूलाई राजनीतिसँग कुनै सरोकार थिएन, तर नाराबाजी र टायर बालिएको दृश्य उनीहरूका लागि मनोविनोदको विषय बनिरहेको थियो । आन्दोलनको रौनकले उनीहरूको पनि एकसुरको जीवनमा नयाँ तरङ्ग ल्याएको थियो । आन्दोलन उफानमा थियो र त्यसको लपेटले सबैलाई गाँजेको थियो ।
हेर्दाहेर्दै प्रदर्शनकारीमाथि प्रहरीले पानीका फोहोरा र लाठीचार्ज ग-यो । दङ्गा प्रहरीको एउटा ठूलो समूहको नेतृत्व गरेर डीएसपी कुमार राई त्यहाँ तैनाथ थिए । लाठीचार्जका क्रममा प्रहरी र प्रदर्शनकारीबीच जबर्जस्त मुठभेड सुरु भयो । प्रदर्शनकारीले पूर्वतयारीस्वरूप झोलामा ढुङ्गा र इँटाका टुक्रा बोकेर ल्याएका थिए । अनि रमझम लजकै छेउबाट उत्तरतिर सोझिएको गल्लीमा ढुङ्गा र इँटाका थुप्रा लगाएका थिए ।
प्रदर्शनकारी अब बसपार्क एरियाको मूलसडकबाट अँध्यारा गल्लीतर्फ लागे । उनीहरूले त्यहाँबाट लुकेर प्रहरीमाथि ढुङ्गा र इँटाका टुक्रा बर्साउन थाले । प्रहरी पनि के कम ? उनीहरूले पनि प्रदर्शनकारीतर्फ ढुङ्गा बर्साउन थाले । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरी सख्त घाइते भए । एक प्रहरी जवानको त नाकको डाँडी नै कच्याककुच्चुक भयो ।
भिडन्त जारी थियो । त्यत्तिकैमा रमझम लजसँगै सटेको ‘भेटघाट लज’को छतबाट डीएसपी कुमार राईको टाउकोमा कुनै अज्ञात प्रदर्शनकारीले सिँगै इँटा बजा-यो । डीएसपीको टाउकोबाट रगतको धारो बग्न थाल्यो । डीएसपी राईले त्यही आवेशमा आएर तत्काल प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिए । अनि आफैँले पेस्तोल निकालेर लज एरियातर्फ अन्धाधुन्ध फायरिङ गरे ।
प्रहरीको गोली लागेर सडकमा पाँच प्रदर्शनकारी ठहरै भए । डीएसपी राईले चलाएको एउटा गोली हुत्तिँदै गएर रमझम लजको झ्यालबाट चियाइरहेका बार म्यानेजर हर्कबहादुरको निधारमै लाग्यो । उनी त्यहीँ ठहरै भए ।
राज्य र प्रदर्शनकारीको भिडन्तको चेपुवामा एउटा निर्दोष कामदार हर्कबहादुरको अकालमा ज्यान गयो ।
हर्कबहादुरको निधनसँगै जमुनाको फक्रिनै आँटेको नयाँ सपनाको फूल पनि निमोठियो । जमुनाको आशाको मुना भाँचियो ।
जमुनाको जीवनमा त्यो पाँचौँ धक्का थियो ।
बार म्यानेजर हर्कबहादुरको निधनपछि केही दिन बडा विक्षिप्त बनिन्– जमुना । पछि बिस्तारै उनी सामान्य अवस्थामा आइन् । आखिर मानिस भनेको परिस्थितिको दास न हो । परिस्थिति बदलिँदै जान्छन्, मानिसका समस्या र आवश्यकता पनि बदलिँदै जान्छन् । जीवनका प्राथमिकता बदलिँदै जान्छन् । अनि त्यसले मानिसको मनलाई पनि बदल्छ । जमुनाको मनलाई पनि परिस्थितिले बदल्दै लग्यो ।
हुर्कंदो छोराको भविष्यको चिन्ताले उनलाई सताउन थाल्यो । छोरालाई धेरै पढाउने र ठूलो मानिस बनाउने उनको सपना थियो । उनी महानगरमा जमिन किनेर आफ्नो एउटा सानो कटेरो पनि बनाउन चाहन्थिन् । यी सबै सपना पूरा गर्न उनलाई पैसाको खाँचो थियो । र, पैसा कमाउने छोटो र सजिलो बाटो उनले देखिन्– यौनकर्म । अब जमुनाका लागि लजका धक्का सामान्य हुँदै गए । जीवनमा आफूखुसी धक्काको सिलसिला सुरु भयो । उनलाई धक्का दिनेहरू धेरै आए ।
– (खोजी प्रकाशनले यसै साता बजारमा ल्याउन लागेको भट्टराईको उपन्यास ‘धक्का’को एक अंश)
इन्द्रेणी
मौन बस्ने छैनन् मङ्गलेश्वर
– रामेश्वर राउत मातृदास
अहो ! हेरिनसक्नु मात्र कहाँ रह्यो र !
खपिनसक्नु भयो द्रौपदी तिम्रो बीभत्स चीरहरण,
यो कौरवीय दरिद्र रौरवता
हरेकपल बीभत्स विलौना पोख्दै,
समुद्रका समुद्र आँसु रोहिरहेकी छिन् मङ्गलेश्वर, नेपालीश्वरी !
।।१।।
ज्युँकात्युँ छ शकुनी षड्यन्त्र
भीष्म/द्रोणाचार्य
नुन खाएका यी हुतिहारा कृपाचार्यहरूको मौनता
आकाशले हेरिरहेका छन् पलपल !
हिसाब–किताब मौजुदा छ मरुदगणसँग,
अग्नि आक्रोश शान्त तपस्यारत छन्
के यो विवेकहीन अत्यायपूर्ण रौद्र नाच,
चलिरहन्छ त अनन्त कालतक यसरी नै ?
।।२।।
विश्वासका वायुपङ्खी, घोडाहरू
निश्छल यात्रा सौन्दर्यपूर्ण छन् सर्वकाल
अहो यो पक्षपातपूर्ण निष्पट्ट अन्धकार रात !
उल्टनैपर्छ अवश्य एक दिन खल्र्यामखुर्लुम,
र त्यो दिन/त्यस घडी,
अवश्यमेव न्यायकी देवी नाच्नेछिन् छमछमाउँदै
र निष्ठाको शिखर/मर्यादाको महानता
मारुनी पुरुसुङ्गे मुस्कुराउनेछन् सर्वेश्वर
र झुक्नेछन् अन्धकार गौरवहरू नफर्कने गरी !
।।३।।
त्यही शुभमुहूर्तको प्रतीक्षामा
आकाश/अग्नि/जल/वायु र धरती
यो कपटपूर्ण षड्यन्त्रको उखरमाउलो अरिङ्गालका अन्याय
चुपचाप हेरिरहेका होलान् भन्ठान्छ विश्वस्त मन
र घामका झुल्का/जीवनको उन्मुक्त बाँसुरीहरू,
निष्ठाको आँगन/विश्वासको धरातलमा
कहिल्यै अलपत्र छाड्ने छैनन्
अवश्य, द्रौपदीको बीभत्सता मौन बस्ने छैनन् मङ्गलेश्वर !
– वशिष्ठधाम निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया