हामी कति सम्पन्न ? -बबिता बस्नेत

हामी कति सम्पन्न ? -बबिता बस्नेत


संयुक्त राष्ट्रसङ्घमा हुने महिलासम्बन्धी महासन्धि (सिड) मा भाग लिन जाने क्रममा गत बुधबार एयरपोर्टमा एउटी महिला आफ्नो छोरासँग कुरा गर्दै आँखाबाट बर्रर आँसु झारिरहेकी थिइन् । उनको आँखाको आँसु र तिनका कुरा सुन्दा वैदेशिक रोजगारीको भावनात्मक र व्यावहारिक पक्ष एकैपल्ट अगाडि आएको थियो । आफ्नो चार कक्षामा पढ्ने छोरालाई अरूको जिम्मा लगाएर उनी अरूको बच्चा स्याहार्न खाडी मुलुक जाँदै थिइन् । ‘फोनमा छोरासँग भनिन्, ममीले धेरै खानेकुरा, लुगाहरू ल्याइदिन्छु, तिमी राम्रो पढ है ।’ यति भनेर फोन राखेपछि उनी धेरैबेरसम्म रोइरहिन् । त्यस्तो बेलामा कुरा गर्नु उपयुक्त त थिएन तर पनि मैले केहीबेर उनीसँग कुराकानी गरेँ । लाग्यो, ओहो ! हाम्रो पुस्ताभन्दा हाम्रा आमा-हजुरआमाको पुस्ता एक प्रकारले हामीभन्दा खुसी र सुखी थिए, कम्तीमा उनीहरूले मेलापात गर्दै भए पनि आफ्ना साना छोराछोरी नै छोडेर बिदेसिनु त परेन । अहिलेका कामकाजी महिलाका बारेमा जस-जसले जे-जे सोचेका भए पनि ती हजुरआमा पुस्ताका महिलाभन्दा सुखी भने छैनन्, कामको बोझ त छँदै छ सोचाइको स्तर बढ्दै जाँदा मानसिक रूपले उनीहरू झनै दु:खी बन्ने परिस्थितिहरू अनेक छन् । प्राय: यात्रामा अनेक रोचक प्रसङ्गहरू हुन्छन्, एयरपोर्टका ट्रान्जिटहरूमा अनेक रूप, रंग र आकार-प्रकारका मानिस भेटिन्छन् । किताब पढ्नका लागि उपयुक्त समय पनि हो यात्रा । प्लेनमा होस् या ट्रान्जिटमा समय कटाउनका लागि पुस्तक नभए के गरिन्थ्यो होला जस्तो लाग्छ मलाई । एउटा पुस्तक थियो जमानामा जन्मदिनमा उपहार पाएको जङ चाङ र जोन हलिडेद्वारा लिखित ‘माओ: द अन्नोन स्टोरी’ पहिला सरसरी पढियो, माओ त्से तुङका बारेमा धेरै गहिराइमा पुगेर बुझ्ने खासै इच्छा पनि थिएन, समय यस्तो आयो कि मुलुकमा जताततै माओवादका नाममा धेरै कुरा हावी भएपछि के रहेछ त वास्तविकता भनेर उनको बारेमा सबै कोणबाट लेखिएका कुराहरू पढ्नैपर्ने भयो । यद्यपि माओका बारेमा वा माओवादका बारेमा जानकारी पाएर माओवादी हुनेहरूको सङ्ख्या मुलुकमा धेरै छैन । कतारको राजधानी दोहाको ट्रान्जिटमा हुँदा प्राय: सबैको आँखा त्यही पुस्तकमा भएझैं लाग्यो, प्राय: हरेक ट्रान्जिटमा अमेरिका जाने प्लेनहरूका लागि सुरक्षा-व्यवस्था छुट्टै हुन्छ । कोट या ओड्ने मात्र नभएर कम्मरमा लगाएको पेटी र जुत्तासमेत खोल्नुपर्छ । गर्मी महिना भएकोले बुट या जुत्ता नभई सजिलो चप्पल लगाएकाले जुत्ता, ओभरकोटलगायतका कुराहरूको झन्झट बेहोर्नुपरेन । बोर्डिङ पाससहितको पासपोर्ट जाँच गर्ने ठाउँमा एक महिलाले निकै गहिरिएर हाततिर हेरिरहेपछि ‘एनिथिङ रङ -‘ भनेर सोधेँ । उनले होइन केही होइन मलाई त्रि्रा हातका औंला र नङपोलिस मन पर्‍यो भनिन् । ओहो धन्यवाद भन्दै म अगाडि बढेँ । खासमा उनको आँखा मेरो हातमा भएको पुस्तकमा अडिएको थियो, नेपालीको हातमा माओको पुस्तक, उनले मलाई ठूलै माओवादी ठानिन् होला जस्तो लाग्यो ।
यसपटकको यात्रामा महिला, कानुन र विकास मञ्चकी अध्यक्ष कुसुम शाख, सोही संस्थाका निर्देशक सबिन श्रेष्ठ, जनजाति महिलाका मुद्दामा कार्यरत यशोकान्ति भट्टचन हुनुहुन्थ्यो । लामो समयदेखि नेपाल कानुन क्याम्पसकी उपप्राध्यापक कुसुम म्याडम हार्डवर्ड युनिभर्सिटीमा अध्ययन गर्ने थोरै नेपालीमध्ये पर्नुहुन्छ । थोरै बोल्ने स्वभावकी उहाँको व्यवहारले फलेको रूखको हाँगो नझुकेको कहाँ छ र ? को उदाहरण दर्शाइरहेको थियो । दोहाबाट अमेरिका पुग्न १४ घन्टा लगातार प्लेनमा बस्नुपर्छ, दिन र रात कता-कता छुटेर न्रि्रा कहाँ हराउँछ कहाँ । लामो समय एकै ठाउँमा कोचिएर बस्नुपरे पनि सिनेमा हेर्ने, पुस्तक पढ्ने अवसर नै हो भने पनि हुन्छ लामो यात्रा । न्युयोर्कस्थित जोन अफ केनडी एयरपोर्टमा ओर्लंदा कुसुम म्याडमलाई लिन आएका रहेछन्, नेत्र कोइराला । उनको गाडीमा चढेर होटलतर्फ लाग्दा परिचय गर्ने क्रममा उनले म तपाईंलाई चिन्छु नि भन्नासाथ मैले हामी फेसबुक फ्रेन्ड हो ? भनेर सोधेँ । मेरो अन्दाज सही निस्कियो, हो रहेछ । यो फेसबुकले पनि गर्नुगरेको छ, पाँच हजार साथी छन्, को-को हो को-को, करिब चार हजारले साथी बन्ने गरेको आग्रहलाई त्यत्तिकै थाँती राख्नुपरेको छ, पाँच हजार पुगेपछि त्योभन्दा धेरै साथी बनाउन नमिल्ने रहेछ । पुराना साथीहरूसँगको भेटघाट, नयाँ साथीहरूसँग परिचय, राम्रै गरेको छ फेसबुकले । दुई वर्षदेखि अमेरिकामा बसिरहेका आकाश कोइराला ‘नेत्र’ पहिला जापानमा बस्दारहेछन्, जापान र अमेरिकाबीचको फरक के रहेछ भनेर सोध्दा अलिक फरक छ भन्दै उनले भने- त्यहाँका मानिस पनि मेसिन हुन् र यहाँका पनि मेसिन नै । तर, जापानका मानिसलाई भने अलिकति भावना र संवेदना भएका मेसिनका रूपमा लिन सकिन्छ, जुन भावना र संवेदना यहाँका मानिसमा छैन । उनको कुरालाई प्रमाणित गर्ने अनेक उदाहरण भेटिन्छन् अमेरिकामा । न्युयोर्कको एउटा कफीसपमा एकजना बूढामान्छे कफी लिनका लागि लाइन बसिरहेका थिए । चाइनिज मूलका पसलेसँग उनले भने- विगत २१ वर्षदेखि यो पसलमा म हरेक बिहान मेरी श्रीमतीसँग कफी खान आइरहेको थिएँ, तिमीलाई थाहा छ गत हप्ता मेरी श्रीमतीको देहान्त भयो, म एक्लै भएँ, २१ वर्षपछि म एक्लै यो पसलमा कफी खान आइरहेको छु । उनको मुहार र बोलीमा असाध्यै पीडा झल्किन्थ्यो, जवाफमा पसलेले ओ इज इट ? स्याड… भन्यो, भेरी स्याड…भन्दै उनी केही कुरा भन्न खोजिरहेका थिए, पसले ‘मे आइ हेल्प यु’ भन्दै अर्को ग्राहकतर्फ लाग्यो । ओहो, हाम्रोमा भए जतिसुकै ठूला व्यापारी भए पनि त्यत्तिका वर्षदेखि आफ्नो पसलमा आइरहेका ग्राहकको मृत्यु हुँदा कम्तीमा लौन के भएको थियो ? कसरी त्यस्तो भयो भनेर सोध्ने थिए । चिनजानै नभएको मानिसलाई के भएको थियो भनेर सोध्ने कुरा भएन तर पनि लाग्यो जहाँको भए पनि आखिर मानिस त मानिस नै हो, भावना भन्ने कुरा जसको पनि हुन्छ । हो, ती वृद्ध पनि मेसिनकै जीवन बाँचे होला तर अहिले उनलाई आफ्ना कुरा सुनाउने मानिस चाहिएको छ, जीवनमा आफन्त र आफ्नोपनको खाँचो छ । आफ्नै बाबुआमाको घरमा जाँदा पनि म आऊँ कि भनेर सोध्नुपर्ने पश्चिमा समाज र हाम्रो समाजबीचका अन्तर र असमानताहरू धेरै छन् । आर्थिक, शैक्षिक, प्रवृत्तिगत यस्तै-यस्तै तर सामाजिक, पारिवारिक र भावनात्मक पक्षमा हामी धेरै माथि छौँ । आफ्नी श्रीमती मर्दा के भएको थियो भनेर भन्न पनि नपाउने अवस्था हाम्रो होइन, प्राकृतिक हिसाबले पनि एकछिन् बिजुली नहुनेबितिकै जीवन नै सकिने ठाउँमा हामी छैनौँ, अलिकति मात्रै विचार पुर्‍याएर अघि बढ्ने हो भने हामीसँग धेरै कुरा छ, हामी धेरै अर्थमा धनी छौँ, सम्पन्न छौँ । राजनीतिमै सबै कुरा अल्झाएर नबसे, आर्थिक गतिविधिहरू धमाधम सुरु गर्न पाए हामीले नसोचेका धेरै कुरा हामीसँग छन् ।