यो सहरसँग सन्तोष लिने धेरै ठाउँ छन् ।
मलाई यो सहरसँग कुनै गुनासो छैन । यहीँ बसेर यसैलाई गाली गर्नेहरूप्रति मलाई दया लाग्छ । यो सहर नराम्रा मानिसको भीड मात्र होइन । यहाँ केही राम्रा सिर्जनशील र असल मानिस पनि छन् । जसले सहरलाई उम्दा बनाएका छन् । बस्न लायक र बसिरन मन लाग्ने बनाएका छन् । त्यस्तैमध्ये पर्छिन् कलाकार एरिना ताम्राकार ।
जो पछिल्लो १५ वर्षदेखि कला सिर्जनामा व्यस्त छिन् । सिर्जनामा नयाँपनको खोजी गरिरहेकी छिन् । र, सिर्जनालाई जीवनसँग, मानिसका सपना र रहरहरूसँग जोडिरहेकी छिन् ।
‘चित्रकलामा कहिलेदेखि रुचि भएको हो तिम्रो ?’ चित्र बनाउँदै गरेकी एरिनासँग सोध्छु ।
‘रुचि त पहिलेदेखि नै थियो । परिभाषा अहिले बुझ्दै छु,’ उनले चलाइरहेको कुची रोक्दै भनिन् ।
‘चित्र कोर्नु र बुझ्नु फरक कुरा हो ।’ उनी गम्भीर भइन् । म छक्क पर्छु । लाग्यो यस्ता भावुक सुन्दरी पनि रहेछन् । या समयले सिकायो उनलाई भावुक हुन ।
‘मैले सपना देख्न छाडिसकँे ।’
‘अनि चित्रहरू कसरी बनाउँछ्यौ त ?’ म सोध्छु ।
‘जतिखेर जे अनुभूत हुन्छ त्यसैको चित्र बनाउँछु । चित्र बनाउनलाई सपनाहरू चाहिँदैनन्, मात्र इच्छा भए पुग्छ ।’ उनले जुस क्यान टेबुलमा राखिन् र बनाउँदै गरेको चित्र अगाडि गएर उभिइन् ।
‘यो पेन्टिङमा ज्यादा के छ भन त – आइमाईका सपना कि आइमाईका इच्छा ?’ आइमाईको नाङ्गो शरीरजस्तो देखिने एउटा एब्स्ट्य्राक्ट पेन्टिङलाई देखाउँदै म सोध्छु ।
‘उमेर पुगेकी स्वास्नीमानिसका दमित इच्छाहरू छन्, यसमा ।’ ४/२ को फ्रेममा सजिएको पेन्टिङलाई उनले हातमा लिइन्, ‘यो बनाउन मलाई ठ्याक्कै दुई महिना लाग्यो ।’
‘किन ?’
‘स्वास्नीमान्छेको शरीर भनेको उसको इज्जत पनि हो । म कसैको पनि इज्जतलाई धमिल्याउन चाहन्न ।’
‘आधा शरीर नाङ्गै पारेर हिँड्ने सुन्दरीहरूको इज्जत तिमीले जोगाएर जोगिन्छ र ?’ मैले भनेपछि उनी अवाक भएर मतिर फर्किन्छिन् । म उनलाई दिनदिनै र दिनको उज्यालोमै कसरी आइमाईको शरीरको व्यापार भइरहेको छ, सुनाउँछु । ठूला र धेरै बिक्ने भनिएका पत्रिकाहरूले कसरी सुन्दरीहरूको शरीरलाई व्यापारको माध्यम बनाइरहेछन्, बताइदिन्छु । टेलिभिजनमा दिन प्रतिदिन कसरी केटीहरू नाङगिरहेछन् बताउँछु । उपभोक्तावादी यो समाजमा विज्ञापन र व्यापारमा केटीहरू कसरी प्रयोग भइरहेका छन् बताइदिन्छु ।
‘स्वास्नीमान्छेको शरीरमा के छ र त्यस्तो ?’ एरिना गम्भीर हुन्छिन् । म उनलाई हेर्छु । पातलो कुर्तामा चिटिक्क परेकी छिन् । कुर्ताभित्रको उनको शरीरलाई म अनुभूत गर्न सक्छु । उनको प्रश्नको मसँग जवाफ छैन । म एरिनालाई हेरी मात्र रहन्छु ।
‘यो शरीरका कारण मैले पनि दुःख पाएकी छु पटक–पटक ।’ आफ्नो शरीरलाई उचाल्दै उनी भन्छिन् ।
‘आफ्नो सौन्दर्यसँग पनि किन यो गुनासो ?’ म नबुझेजस्तो गर्छु । उनी हातमा लिएको पेन्टिङलाई भित्तामा झुन्ड्याउँछिन् र लगाइरहेको रङ्गहीन चश्मालाई फुकाल्छिन् ।
‘स्वास्नीमान्छेको सौन्दर्य आफैंमा अभिशाप पनि हो ।’ अलि बढी नै गम्भीर बनिन् उनी । म बोलिनँ । उनी रोकिइनन्, भन्दै गइन्, ‘सबैसँग सहज हुन सक्नेका लागि मात्र यो शरीर र यसका सौन्दर्यहरू काम लाग्दारहेछन् । आफैसँग इमानदार र स्वाभिमानी स्वास्नीमान्छेहरूका लागि उनीहरूको सौन्दर्य अभिशापभन्दा बढ्ता केही होइन ।’
३५ वटा झरी मुस्किलले देखेकी एरिना राम्री कलाकार हुन् । स्वदेश र विदेशमा आधा दर्जन प्रदर्शनी गरिसकेकी एरिना काठमाडौं उत्तरपूर्वी गाउँमा जन्मी हुर्केको बताउँछिन् । अहिले पाटनमा बस्दै आएकी उनलाई निकै गम्भीर देखेँ मैले ।
एरिना अक्सर पात, हाँगा र रूखहरूको चित्र बनाउँछिन् । ललितपुर, भक्तपुर र काठमाडांैको उपत्यकाजस्तो फराकिलो आँगनमा उभिएर उनले नाङ्गा स्वास्नीमान्छेका स्केचहरू बनाइरहेकी छिन् । स्वास्नीमान्छेसँग शरीर मात्र होइन अरू थोक पनि छ भनेर देखाउन यस्ता पेन्टिङ बनाएको उनको स्वीकारोक्ति छ । उनी भन्छिन्, ‘मेरो चित्रमा स्वास्नीमान्छेको नाङ्गो शरीर मात्र देख्नेहरूमाथि मलाई दया लाग्छ । यसमा स्वास्नीमान्छेका दमित इच्छाहरू पनि छन् । स्वतन्त्रता र उन्मुक्तिका सपनाहरू पनि छन् ।’
‘स्वास्नीमान्छेको दमित इच्छा भनेको के हो एरिना ?’ म अबुझ बन्छु ।
‘उनीहरू सिर्जनशील पनि छन् । सामथ्र्यवान र क्षमताशील छन् । स्वास्नीमान्छेसँग शरीरभन्दा शक्तिशाली विचार पनि छ । आजका युवतीहरूलाई म यही बुझाउन चित्र बनाइरहेकी छु ।’
‘तिमी सबै स्वास्नीमानिसको जिम्मा लिन सक्छ्यौ ?’ म सोध्छु । उनी फिस्स हाँस्छिन् ।
‘सक्दिनँ । तर, आमस्वास्नीमानिसको प्रतिनिधित्व गर्न सक्छु ।’ उनी जुस क्यान फेरि खोल्छिन् । एउटा मलाई दिन्छिन् र एउटा आफू पिउन थाल्छिन् ।
एरिनासँग भेटेर आएपछि मलाई भिन्न अनुभूति भएको छ । यही सहरमा छन् गभीर र साधनारत मानिसहरू । यही सहरमा छन् अध्ययनशील र तार्किक मानिसहरू । यही सहरमा छन् विचारवान र आविष्कार क्षमता भएका मानिसहरू । यो सहर खराब र अन्योलग्रस्त मानसिकताको पर्याय मात्र होइन । यहाँ केही राम्रा र गतिला कामहरू पनि भइरहेका छन् । सिर्जनाका क्षेत्रमा, गीत–सङ्गीतका क्षेत्रमा साधनारत केही राम्रा मानिसले गर्दा नै जोगिइरहेको छ – हाम्रो कला ।
प्रतिक्रिया