अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्र
विश्वविख्यात हलिउड र बलिउड सिनेमाकै लहरमा नेपाली चलचित्र अमेरिकामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश हुने भएको छ । फेस्टिबल अफ ग्लोबलाइन नामक विश्वप्रसिद्ध संस्थाले आयोजना गर्दै आएको विश्वका सयौँ उत्कृष्ट चलचित्र सहभागी हुने उक्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विष्ण्ँु पाण्डेद्वारा निर्देशित साँघुरो, शंकर घिमिरेको तुलसी, उदय सिँजापतिको टाटा बाईबाई र फूलमान बलको सेलफोनका साथै जसकुमार राईको सेक्रिफाइस नेभर डाई नामक दुई छोटा चलचित्रसमेत छनोटमा परेका छन् । महोत्सव यही अगस्ट ७ देखि १६ सम्म आयोजना हुँदै छ भने विश्वका एक सय पचास चलचित्र प्रदर्शन गरिने बताइएको छ ।
ग्लोबल लिडरको रूपमा महोत्सव आयोजक समितिमा छानिएका नेपाली युवा प्रकाश थापाका अनुसार महोत्सवमा हलिउड, बलिउड, युरोपियन, ल्याटिनो जगत, चाइना र सुदूरपूर्वी देशलगायत तीन दर्जन देशका चलचित्र एवम् कलाकारहरूको सहभागिता हुनेछ भने चलचित्र प्रदर्शनका अलावा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, फेसन सो, सङ्गीत, हस्यौलीलगायत मनोरञ्जनको माध्यमबाट सहभागी दर्शकहरूको मन बहलाइनेछ । विश्वविख्यात हलिउड नायक ज्याकी च्यान, मार्टिन शिन, बलिउडकी रानी मुखर्जी, सोनु निगमलगायतका विख्यात कलाकारहरू उपस्थित हुनेछन् । महोत्सवमा यस वर्ष हलिउड अभिनेता ज्याकी च्याङ, बलिउड अभिनेत्री रानी मुखर्जी र जुही चाबलाका साथै नेपालबाट अभिनेता सुनील थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने बताइएको छ ।
महोत्सवमा सहभागी हुन साँघुरोबाट चर्चामा आएका अभिनेता सुशांक मैनाली, नायक सुरेशदर्पण्ँ पोखरेल, दिलीप रायमाझी, नीरज बराल, राजबल्लभ कोइरालालगायत ठूलै सङ्ख्यामा नेपाली कलाकार तथा सिनेकर्मी अमेरिका पुगिसकेका छन् । नायिका केकी अधिकारी र नन्दिता केसीले नेपाली नृत्य प्रस्तुत गरेर नेपाली संस्कृति प्रसार गर्नेछन् ।
अस्ट्रेलियामा निरू सम्मानित
अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएकी पत्रकार निरू त्रिपाठीलाई ‘मिडिया पर्सनालिटी अफ द इयर–२०१५’बाट सम्मानित गरिएको छ । आठ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त अवार्ड हात पारेकी हुन् । अस्ट्रेलियाको सिड्नीमा गत शनिबार आयोजित गैरआवसीय सङ्घ (एनआरएनए–अस्ट्रेलिया)को छैटौँ राष्ट्रिय सम्मेलनको अवसर पारेर निरूलाई सो उपाधिबाट सुशोभित तुल्याइएको थियो । स्वदेश छँदा मूलधारको पत्रकारितामा संलग्न रही विशेषगरी सामाजिक विषयमा कलम चलाउने गरेकी निरू मेलबर्नबाट प्रकाशित हुने नेपाली टाइम्सकी सम्पादकसमेत रहेकी छिन् भने नेपाली मिडियामा कलम चलाउने कामलाई उनले अस्ट्रेलिया बसेर पनि निरन्तरता दिइरहेकी छिन् ।
जबरा र घले सम्मानित
समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले हालै आयोजित एक कार्यक्रममा इतिहासकार पुरुषोत्तमशमशेर जबरा तथा समाजसेवी तथा साहित्यकार भद्रकुमारी घलेलाई सम्मानित गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील वरिष्ठ व्यक्तित्वहरूलाई वर्षेनी प्रदान गर्ने सम्मानको क्रमलाई निरन्तरता दिँदै आएको गुठीले २०७२ सालको लागि यी दुई व्यक्तित्वलाई सम्मानित गरेको हो ।
गुठीले ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार’ अर्घाखाँची घर भई हिन्दू विद्यापीठ नेपाल ललितपुरबाट एसएलसी उत्तीर्ण गरेकी छात्रा रक्षा बेलवासेलाई प्रदान गरेको छ । समाजमा विशिष्ट योगदान पु-याउने व्यक्तिहरूको सम्मान गर्दै विगत लामो समयदेखि गुठीले विभिन्न व्यक्तिलाई सम्मानित गर्दै आएको छ । गत वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील वरिष्ठ व्यक्तित्व भैरव रिसाललाई गुठीले सम्मानित गरेको थियो । कार्यक्रममा गुठीले आफ्नो वार्षिक प्रकाशन सेवा नेपालको भूकम्पविशेष अङ्क तथा धरा प्रकम्प नामक पुस्तक पनि सार्वजनिक गरेको थियो । गुठीका अध्यक्ष संस्कृतिविद् सत्यमोहन जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा किरण थापा, प्रमुख अतिथि स्वामी चन्द्रेश, डा. चिन्तामणि योगी तथा भीमबहादुर अधिकारीले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया