महिला मार्नेलाई दश जुनीको सजाय
महिला–हत्याको उच्चतम तथ्याङ्कका कारण आलोचित रहँदै आएको मेक्सिकोमा एघारजना महिलाको हत्या अभियोगमा दोषी सावित भएका एक पुरुषलाई आजसम्मकै सर्वाधिक लामो जेलसजाय सुनाइएको छ । अपराधको स्तर हेरी हत्यारालाई मानिस बाँच्ने अधिकतम उमेरभन्दा ज्यादा अवधिको जेल सजाय सुनाइएका उदाहरण त विश्वमा अनेक पाइन्छन् । उत्तरी मेक्सिकोका ती पुरुषलाई भने रेकर्ड नै कायम हुने गरी त्यहाँको अदालतले ६ सय ९७ वर्ष लामो जेलसजाय सुनाएको छ । दश जुनीले पनि नभ्याउने जेलसजाय पाएको उक्त अपराधीलाई मृतक महिलाका पीडित परिजनलाई सात लाख ५२ हजार डलर क्षतिपूर्ति दिनुपर्ने थप सजाय पनि दिइएको छ । अपराधी मनोवृत्तिका ती पुरुषले महिलालाई नशालु पर्दा खुवाएर वेश्यावृत्तिमा लगाउने र जवानी ढल्किएपछि क्रूरताका साथ हत्या गरी लाश तह लगाउने गरेका थिए । स्मरणीय छ, मेक्सिकोमा बितेको एक वर्षमै तीन हजार आठ सय ९२ महिलाको हत्या भएको थियो, जसमध्ये करिब १६ प्रतिशत घटनाको मात्र अनुसन्धान तथा कानुनी कारबाही भएको थियो ।
नरिवलको रूखमा ‘भूत’को बास
तपार्ईंंको आँगनमा कुनै रूख छ र त्यस रूखको टुप्पोबाट हरेक साँझ बच्चा रोएको आवाज आउन थाल्यो भने तपार्ईंं कस्तो महसुस गर्नुहुन्छ ? पक्कै कुनै प्रेतआत्माले तर्साएको ठान्नुहोला । यो अस्वाभाविक पनि होइन । भारत कर्नाटकस्थित कुण्डापुरनिवासी गोविन्दाको परिवारले पनि यस्तै ठान्यो । उनको घरको आँगनछेउ ठडिएको नरिवलको रूखको टुप्पोबाट हरेक साँझ बच्चा रोएको आवाज सुनिन थाल्यो । एक मिनेटजति एकटकले बच्चा रुने क्रम सुरु भएपछि अत्तालिएर गोविन्दाले तान्त्रिक लगाएर पूजाआजा गरे । तर, बच्चा रुन छोडेन । गोविन्दाका छिमेकीहरू पनि गाउँमा बच्चाको प्रेतात्मा प्रवेश गरेको ठानेर अत्तालिन थालेकै बेला एक दिन अचानक पल्लो गाउँको एक व्यक्ति आफ्नो मोबाइल हराएको भन्दै उक्त नरिवलको रूख ताकेर खोज्दै आएपछि नरिवलको रूखमा बच्चाको प्रेतात्मा रुने घटनाको रहस्योद्घाटन भयो । भएछ के भने, सानै उमेरदेखि नरिवलको रूख चढेर फल टिप्ने बानी परेका ती व्यक्तिले केही दिनअघि उक्त रूख चढेर नरिवल टिपेको रहेछ । सो क्रममा मोबाइल फोन भुइँमा नखसोस् भनी उसले टुप्पैमा झुन्ड्याएको रहेछ र ओर्लंदा बिर्सिएछ । मोबाइल कहाँ छुटेको भन्ने सम्झना गर्न नसकेकाले हरेक दिन एकै समयमा ऊ आफ्नो मोबाइलमा फोन लगाउँदोरहेछ, ता कि कसैले फेलापारेको भए फिर्ता गरोस् । मोबाइल टोनको रूपमा उसले कहालीलाग्दो गरी बच्चा रोएको आवाज राखेको रहेछ । जब उसले नरिवलको रूख चढ्दा मोबाइल झुन्ड्याएको याद ग-यो, तान्त्रिकले पनि भगाउन नसकेको ‘भूत’ स्वतः भाग्ने अवस्था निम्तियो ।
निद्रामै पियानो
कतिपय मानिस रातमा निदाएकै बेला उठेर चिच्याउने, हाँस्ने, हिँड्नेजस्ता व्यवहार गर्छन्, जसलाई सामान्य रूपमै लिने गरेको पाइन्छ । तर, न्युजिल्यान्डकी एक १२ वर्षीया बालिकाले निद्रामा असाधारण काम गर्ने गरेको प्रसङ्ग यतिबेला चर्चामा छ । इशाबेला नामकी यी बालिका मस्त निद्रामा उठेर कर्णप्रिय ढङ्गमा पियानो बजाउने गर्छिन् । अझ आश्चर्यको कुरा त यो छ कि उनले कहिल्यै कसैसँग पियानो बादन सिकेकी छैनन् । राति उठेर इशाबेलाले पियानो बजाउन थाल्दा सुरु–सुरुमा त उनका अभिभावकले छोरी ब्युँझिएरै त्यसो गरिरहेकी होलिन् भन्ने ठाने । तर, यो क्रमले निरन्तरता पाउनुका साथै पूरै तालसुरका साथ पियानो झङ्कृत हुन थालेपछि उनीहरूले छोरीमाथि निगरानी राखे । उनीहरू त्यसपछि आश्चर्यमा परे जब इशाबेलाले पूरै निद्रामै उठेर पियानो बजाइरहेको चाल पाए । आफ्नो रातिको क्रियाकलापबारे बालिकालाई कुनै याद नरहने कुराले पनि अभिभावकलाई आश्चर्यमा पारेको छ । उनीहरूले छोरीको सो चामत्कारिक कृत्यको भिडियो खिचेर सोसल मिडियामा अपलोड गरिदिएपछि इशाबेला चर्चामा छाएकी हुन् । उनको अचेतन प्रतिभाको यतिबेला निकै प्रशंसा भइरहेको छ ।
हिसाब माग्दा सुन्दरीको यस्तो घुर्की
राज्यलाई बुझाउनुपर्ने कर नतिरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारी रद्द गरिदिएपछि एक मेक्सिकन महिलाले तमासा खडा गरेको घटनाले विश्व–समाचारकै सूचीमा स्थान पाएको छ । ४७ वर्षीया रफेला ओरजोको रोमो नामक महिलाले क्षेत्रीयस्तरको एक चुनावमा आफूलाई निर्दलीय उम्मेदवारका रूपमा खडा गरेकी थिइन् । आफूलाई बलियो उम्मेदवार ठानेकी रोमोले चुनाव प्रचारका क्रममा गरेको खर्चको विवरण प्रशासनलाई नबुझाएपछि उनको उम्मेदवारी नै खारेज गरियो । प्रशासनको त्यस्तो कदमबाट तिल्मिलाएकी उनले विरोधको अनौठो तरिका अवलम्बन गरिन् । उनले बीस फिट अग्लो एक क्रस तयार पारिन् र जीवनको अन्त्य अवस्थामा यशु ख्रिष्ट टाँगिएकै शैलीमा त्यसमा टाँगिइन् । रोमोको यस कदमबाट सम्बन्धित प्रशासनले उनको उम्मेदवारीलाई निरन्तरता त दिएन, तर विरोधको उक्त शैलीले विश्वभर चर्चा भने पाएरै छोड्यो ।
प्रतिक्रिया