महाधिवेशन–सकसमा सुुशील

महाधिवेशन–सकसमा सुुशील


susheelकोइराला क्याम्पमा पौने दर्जन ‘महामन्त्री’का दाबेदार
नेपाली काङ्गे्रसको तेह्रौँ महाधिवेशनको तिथि नजिकिँदै जाँदा पार्टीमा उच्च जिम्मेवारीका आकाङ्क्षीहरूको वृद्धि भएको छ । काङ्गे्रसमा सभापति बन्न र चलाउन सक्ने करिब एक दर्जन नेताहरू भए पनि तिनले तेह्रौँ महाधिवेशनमा सभापतिकै उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्ने सम्भावना कम छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत, खुमबहादुर खड्का, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालालाई सम्भावित सभापतिका रूपमा बुझ्नेहरूको सङ्ख्या काङ्गे्रसमा सानो छैन । तथापि यतिबेला शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेललाई मात्र सभापतिका सम्भावित तर वास्तविक उम्मेदवारका रूपमा चर्चा गर्ने गरिन्छ । यद्यपि वर्तमान संस्थापन पक्षले सुशील कोइरालालाई नै उम्मेदवार बनाउने या रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालामध्ये कोही एकलाई सभापतिको उम्मेदवार बनाउने भन्ने कुराको निधो गरिसकेको छैन । हालसम्म शेरबहादुर देउवाको उम्मेदवारी पर्ने मात्र सुनिश्चित छ । यसैबीच नेता रामचन्द्र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहनुभएको छ । तर, सुशील कोइरालाले भने आफैँ उम्मेदवार बन्ने या अरू कसैलाई समर्थन गर्ने भन्ने सङ्केत मंगलबार (१९ साउन)सम्म गर्नुभएको छैन । यसबारे जिज्ञाशा राख्नेहरूलाई कोइरालाले ‘अहिले पर्खनुहोस् न, के हतार छ र’ भन्ने गर्नुभएको छ । कोइरालाको समर्थन लिएर सभापतिको उम्मेदवार बन्ने आकाङ्क्षा उपसभापति रामचन्द्र पौडेलले मात्र राख्नुभएको छैन, डा. रामशरण महत र डा. शशाङ्क कोइरालाले पनि त्यस्तै अपेक्षा राख्नुभएको बुझिन्छ । त्यसो त प्रकाशमान सिंहले समेत सभापति बन्ने कल्पना गर्न थाल्नुभएको छ । महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका आकाङ्क्षीभित्र पर्नुहुन्छ । यसरी हेर्दा हालको संस्थापन पक्षभित्र रामचन्द्र पौडेलदेखि कृष्ण सिटौला र शशाङ्क कोइरालासम्म सभापति पद प्राप्तिका निम्ति इच्छुक देखिन्छन् । यसपटक रामचन्द्र पौडेललाई सभापतिबाहेक अर्को कुनै जिम्मेवारी दिएर आफ्नो टिममा पार्न सुशील कोइराला सफल बन्नुहुने सम्भावना छैन । महामन्त्री र उपसभापतिको जिम्मेवारी बाँडफाँड गरेर सबैलाई पु-याउन पनि सम्भव देखिँदैन । डा. रामशरण महत, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नरहरि आचार्य, महेश आचार्य र कृष्णप्रसाद सिटौलालाई महामन्त्री या उपसभापतिबाहेक अर्को कुनै पदमा ‘सेटल’ गर्न सकिने स्थिति छैन, तर यही विधानअन्तर्गत सबैलाई उपसभापति या महामन्त्रीको जिम्मेवारी दिन पनि सम्भव छैन । त्यसैले कोइराला पक्ष बहुपदीय प्रणालीका पक्षमा उभिएको छ । शेरबहादुर देउवा भने कोइरालाको सहजताकै निम्ति भनेर बहुपदीय प्रणालीमा जाने पक्षमा हुनुहुन्न । कोइराला क्याम्पमा जस्तो कठिनाइ देउवालाई नभएकोले पनि उहाँ यस विषयलाई लिएर सहजता महसुस गर्दै हुनुहुन्छ । देउवाको पक्षमा रहेका कुनै पनि नेता देउवालाई उछिनेर या उहाँको समर्थन लिएर सभापति बन्न आतुर देखिएका छैनन् भने उपसभापति र महामन्त्रीका उम्मेदवार चयन गर्न पनि देउवालाई सहज हुने देखिन्छ । बाह्रौँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बन्नुभएका विमलेन्द्र निधिले यसपटक देउवाले लिने निर्णय नै आफ्नो इच्छा हुने जानकारी देउवा स्वयम्लाई गराइसक्नुभएको छ । निधिको त्यस्तो सोचले देउवालाई टिम बनाउन धेरै नै सजिलो बनाइदिएको छ । देउवाका पक्षमा रहेका नेताहरू खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि तथा हाल कोइराला क्याम्पमा रहेका कुनै पनि नेतालाई उपसभापति या महामन्त्री चयन गर्न सक्ने सुविधामा देउवा रहनुभएको छ । कोइराला क्याम्पका प्रभावकारी तथा क्षमतावान मानिने डा. शेखर कोइरालालाई समेत आफ्नो टिममा ‘एडजस्ट’ गर्न सक्ने अवस्थामा देउवा हुनुहुन्छ । अर्नुननरसिंह केसीले त रामचन्द्र पौडेललाई झैं शेरबहादुर देउवालाई पनि सहयोग गर्ने वचन दिइसक्नुभएको छ । डा. रामशरण महतले चाहनुभएमा उहाँलाई टिममा सामेल गर्न देउवा सकारात्मक रहनुभएको बुझिन्छ । कम्तीमा पौने एक दर्जन महामन्त्रीका दाबेदार रहेका कोइराला क्याम्पभन्दा देउवा पक्षमा आन्तरिक वातावरण स्वस्थ रहेको पाइएको छ । यस्तै असहजताका कारणले पनि सुशील कोइराला टिम बनाउन या भावी उम्मेदवारबारे स्पष्ट गर्न विलम्ब गर्दै हुनुहुन्छ । उहाँ सकेसम्म महाधिवेशन नै सार्ने कसरतमा हुनुहुन्छ, तर देउवाले महाधिवेशनको तिथि सार्ने र बहुपदीय प्रणालीमा जाने प्रयासमा निर्णायक अवरोध पैदा गर्ने निश्चित छ ।