[इन्द्रेणी]त्यसैले आमा…– वसन्त ढुङ्गाना (यात्री)

[इन्द्रेणी]त्यसैले आमा…– वसन्त ढुङ्गाना (यात्री)


indreniसुन्दर जीवन हुन्छ भनी
सहर जा.. छोरा भनेथ्यौ आमा
तर खै कसरी भन्नु र
यो त आफैँ कुरूप रै’छ

व्यवस्थित भविष्य हुन्छ भनी
सहर जा.. छोरा भनेथ्यौ आमा
तर खै कसरी भन्नु र
यो त स्वयम् भताभङ्ग रै’छ

त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ सुन्दर प्रकृति मुस्कुराउँछ
जहाँ जीवन रमिरहन्छ ।

असल मान्छे भएस् भनी
सहर पठाएथ्यौ आमा
तर खै के भनुँ र
यहाँ त खराब कै भीड रै’छ

सच्चा व्यक्ति भएस् भनी
सहर पठाएथ्यौ आमा
तर खै के भनुँ र
यहाँ त झुट कै शासन रै’छ

त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ छ भीड पवित्रताको
जहाँ छ राज सत्यताको ।

सफा राम्रो भएस् भनी
सहर जा.. छोरा भनेथ्यौ आमा
तर खै कसरी भन्नु
यो त फोहोरले पुरिएको रै’छ
विकसित ठाउँमा बसेस् भनी
सहर जा..छोरा भनेथ्यौ आमा
तर खै कसरी भन्नु र
अस्तित्व यस्को गुम्दै रै’छ
त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ छ स्वच्छ हावा पानी
जसको अस्तित्व छ जीवित ।

धेरै पढि जागिर खाएस् भनी
सहर पठाएथ्यौ आमा
तर खै म त जिल्ल परो
यहाँ त नातावादको राज रै’छ
देश राम्रो बनाएस् भनी
सहर पठाएथ्यौ आमा
तर म त जिल्ल परेँ
यहाँ त बनाउनेले नै बिगार्दा रै’छन्

त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ गुणको महत्व हुन्छ
जहाँ देशप्रेमको भाव छ ।

धेरै मानिस हेरेस् भनी
सहर जा.. छोरा भनेथ्यौ आमा
तर म त अल्मल्लिएँ
याँ त भीड भीत्र नि मानवता रै’नछ

संस्कारलाई फैलाएस् भनी
सहर जा.. छोरा भनेथ्यौ आमा
तर म त साह्रै अलमल्लिएँ
विदेशी संस्कृतिले सबै ढाकिसकेछ

त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ मानवता जीवित छ
जहाँ हाम्रो संस्कृति सुरक्षित छ ।

हो…त्यसैले आमा
म त गाउँ नै फर्किन्छु
जहाँ प्रकृतिको राज छ
जहाँ एक अमूल्य जीवन छ
जहाँ एक अमूल्य जीवन छ ।।

– पोकली–३, ओखलढुङ्गा
हाल : कीर्तिपुर–१९, काठमाडौं