प्रधानमन्त्री ओली भन्छन्– पार्टी एकता आकस्मिक रूपमा सम्पन्न हुनेछ

प्रधानमन्त्री ओली भन्छन्– पार्टी एकता आकस्मिक रूपमा सम्पन्न हुनेछ


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रूपमा टुंगिने बताएका छन् । रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन र प्रगतिको जानकारी लिन शुक्रबार बिहान आउने क्रममा भैरहवा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

तत्कालीन नेकपा एमाले र आओवादीबीच जसरी आकस्मिक रूपमै चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता कार्य सम्पन्न भए त्यसैगरी पार्टी एकता सम्पन्न पनि आकिस्मक रूपमा नै टुंगिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताउँदै निर्माणकार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन पनि दिए । उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुना साथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले विमानस्थलको स्थलगत अवलोकन गरेका थिए । विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

तस्बिर : रासस