सात–आठ वर्ष अघि हुनुपर्छ, मेरो उनीसँग भेट भएको ।
नारायणीको पुलमा उनले मसँग परिचय गरेकी थिइन् । तल बगिरहेको थियो विशाल नारायणी । पुलभरि थिए खचाखच यात्रु बोकेका बसहरू । पारि थियो परासीबजार । नदी किनारमा थिए– पहाडजस्तो जीवनको सामना गर्न बाध्य मानिस ।
चितवनको कालिका एफएमले आयोजना गरेको बृहत् साहित्यिक कार्यक्रममा सहभागी हुन पुगेको बेला सामना पहाडसँग मेरो भेट भयो । एउटी खिरिली युवतीसँग । टाठो र प्रस्ट बोल्ने उनको स्वभावले त्यतिखेरै आकर्षित गरेको हो । अझ एउटी युवतीले साहित्यिक नाम राखेकी छिन्– सामना पहाड । यो आफैँमा रोचक थियो । अरूभन्दा भिन्न र विद्रोहीजस्तो देखिने नाम ।
जीवन पहाडहरूकै सङ्ग्रह हो । जीवनमा आइपर्ने बाध्यता र अप्ठ्याराहरू मात्र होइन, हामीले बुन्ने सपना र संगाल्ने रहरहरू पनि आफैँमा पहाड हुन् । जीवनमा आइपर्ने दुःख, खुसी र वेदनाहरू पहाडै हुन् । सम्बन्धका यावत् सन्दर्भहरू पहाडजस्तै लाग्छ । त्यसो त गम्भीर भएर आफ्नो जीवनलाई नियाल्यौँ भने एउटा ठूलो पहाडसिवाय अरू केही देख्दैनौँ पनि । हो, पहाडरूपी यही जीवनको सामना गर्न तम्तयार युवतीको सार्थक नाम हो– सामना पहाड ।
सङ्घर्षशील जीवन बाँचिरहेकी एउटी औसत युवती जो साहित्यबाट विद्रोह गरिरहेकी छिन् । शब्दहरूलाई हतियार बनाएर प्रस्तुत भएकी छिन्– समाजमा विद्यमान विसङ्गतिहरूमाथि । उनलाई के थाहा छ भने यो समाज रूपान्तरणका लागि हतियार आवश्यक छ । तर, त्यो हतियार बम र गोलामात्र होइन । शब्दको हतियार अझ शक्तिशाली र प्रभावशाली हुन्छ भन्ने विश्वासमा सामना कविता लेखिरहेकी छिन् । उनको यही विश्वासको परिणति हो ‘पर्खालभित्रको घाम’ । भर्खरै प्रकाशित पर्खालभित्रको घाम सामना पहाडका ३४ वटा कविताको सङ्ग्रह हो । जिउँदा कविताको सङ्ग्रह । कविताहरू आलै छन् । घटना, सन्दर्भ र संस्कारहरूको तत्कालको विमति छ, कवितामा । मिलाएर, नरम भाषामा, फूलबुट्टा भरेर व्यक्त गरिएका विमतिहरू होइनन् ती । दुख्दा एक्कासि ‘ऐया !’ भनेजस्तो । तत्कालको अनुभूति हो ।
उज्यालो छेकिरहेछ पर्खालले । जीवनको उज्यालो प्राप्त गर्न कैयौँ पर्खाल तोड्न बाँकी छ । भत्काउन बाँकी छ । नाघ्न आवश्यक छ । नभत्काई पर्खाल कसरी भेटिन्छ उज्यालो ? ननाघी पर्खाल कसरी भेट्न सकिन्छ घामलाई ?? न्यानो प्राप्तिको अभीष्ट हो पर्खालभित्रको घाम । समसामयिक जीवनको यथार्थको तस्बिर पनि हो यो किताब । हो, यो किताब कविताको माध्यमबाट बेथिति र विषम परिस्थितिमाथि एउटी युवतीको प्रहार पनि हो ।
यावत् थिचोमिचो, अन्याय र उत्पीडनको विरुद्ध निर्भीकतापूर्वक उरालिएको विद्रोह हो सामनाका कविताहरू । सामना पहाड चाहन्छिन् सबै अन्याय–अत्याचारको अन्त्य होस् । त्यसका लागि उनी विद्रोही भएर निक्लिएकी छिन् कवितामा । उनको कविताको मूल अभीष्ट भनेको नारी जीवनका यावत् यातना, कष्ट र पीडाहरूलाई प्रकट गर्नु हो । उनी समानताको पक्षमा छिन् । समभाव र सद्भावको पक्षमा छिन् । सामनाका यी समग्र कविता नारीवादी चेतनाले घनीभूत छन् । नारी चेतनालाई कुनै एक दलको विचार वा मार्गदर्शनबाट नहेरी विश्वभरिका महिलाको पक्षमा कविता लेख्न सक्नु चानचुने कुरा होइन । अझ त्यसमा पनि समभावले अघि बढ्नु निकै ठूलो उपलब्धि हो ।
सामना पहाड कुन पार्टी र विचारसँग आबद्ध छिन्, मलाई थाहा छैन । तर, उनका कविता पढिरहदाँ विश्वभरिका महिलाप्रतिको सम्मान र सद्भाव पढिन्छ । यही नै सामनाको कविताकर्मको उम्दा पक्ष हो भन्ने मलाई लाग्छ । आममानिसका पक्षमा व्यक्त गरिने विचार नै सर्वोपरि सुन्दर बन्छ । निश्चित व्यक्ति, वर्ग र दलका लागि कविता लेखिरहेकाहरूको भीडमा सामना निकै सुन्दर लाग्यो । उनका कविताले सम्बोधन गरेको आममानिस नै उनको सुन्दरताको कारण हो । कविता भनेको सबैका लागि हो । कविता कर्म भनेकै आममानिसको पक्षमा उभिनु हो ।
‘जुधेर जीवनमा असहजतासँग
जुटाउनु छ सामूहिक सामथ्र्य थाती रहेका लक्ष्यहरूलाई ।
पुग्नु छ तिमी र म उही गन्तव्यमा
कोर्नु छ जीवनको नयाँ गोरेटो
भेट्नु छ जीवनको नयाँ उचाइ ।’
कविता पढिसकेपछि लाग्छ, सामनामा सङ्घर्ष गर्ने प्रचुर जाँगर, हिम्मत र साहस छ । उनी पछिल्लो समयको प्रतिनिधि युवती हुन् जो आफ्नो कर्मक्षेत्रमा अनेकौँ चुनौतीहरूको सामना गर्दै अगि बढ्न चाहन्छिन् । उनका दृष्टिमा समाज विकृति र विसङ्गतिले चुलिएको छ । केही बढार्नुपर्ने संस्कारहरू छन् । केही लडाउनुपर्ने पर्खालहरू छन् र केही पेलेरै हिँड्नुपर्ने परम्पराहरू छन् । यी सबको विरोधमा सामना पहाड उभिएकी छिन् । उनी एक्लै छैनन् । उनीसँगै छन्– यो समयका युवती जो संस्कार र परम्पराका नाममा आफूलाई गुमनाम बनाउन चाहँदैनन् ।
सामनाको स्वभावझैँ उनका कविता पनि ठाडो लाग्छन् । उनी जसरी जब्बर छिन् व्यवहारमा उनका कविता पनि त्यस्तै छन् । अनावश्यक चाप्लुसी नराखी सामना पहाडले बोलेजस्तै कविता पनि कलात्मक पोलिस गरिएका छैनन् । स्पष्ट र सीधै भनिएका छन् । कुरालाई थप जटिल बनाउने काम गरिएको छैन । त्यसो त यो आममानिससम्म कविता पु-याउनका लागि जायज होला । तर, कविताका पाठकले सामना पहाडका कवितामा कला पक्ष कमजोर रहेको टिप्पणी गरे भने त्यो गलत हुँदैन ।
त्यसो त जटिल परिस्थितिसँग सङ्घर्ष गर्ने सिर्जनशील स्रष्टा हुन् सामना पहाड । उनले यहाँ कलापक्षभन्दा पनि विचार पक्षलाई महत्व दिएकी छिन् । आलेखहरूको शैलीमा कवितालाई डोहो-याएकी छिन् ।
उनका कवितामा बढी कृत्रिम विचार र आदर्श भेटिँदैन । उनले जीवनलाई नै कवितामा ढालेकी छिन् । त्यही भएर कहीँ कतै अलि अप्ठ्यारो लाग्न सक्छ । तर, गहिरिएर हे-यो भने जीवन नै भेटिन्छ । आमस्वास्नीमानिसको जीवन । प्रेम, कर्तव्य र दायित्वका कैयौँ गहन जिम्मेवारी वहन गरिरहेछन् स्वास्नीमानिस । कैयौँ अभाव गरिबी र दरिद्रताका पर्खालहरू चढ्न विवश छन् नारीहरू । त्यो जिम्मेवारी र त्यो विवशतासँगै आमनारीले गरिरहेको सङ्घर्ष र त्यस सङ्घर्षपछि भेटिएको घाम हो, सामना पहाडको पर्खालभित्रको घाम ।
प्रतिक्रिया