०२९ मा सिन्धुपाल्चोकको नाम्लाङमा जन्मिएका बलराम श्रेष्ठ यतिबेला ‘अन्तर्राष्ट्रिय अधिवक्ता’को पहिचानसहित जापानमा क्रियाशील छन् । सानै उमेरमा परिवार काठमाडौं बसाइँ सरेकाले उनको स्कुले एवम् उच्च शिक्षादीक्षा राजधानी सहरमै भयो । मास्टर डिग्रीसम्मको अध्ययन स्वदेशमै पूरा गरेका यी उत्साही युवा कानुन व्यवसायीको रूपमा वर्षौं यहाँ प्राक्टिस गरेको अनुभवलाई सदुपयोग गर्दै यतिबेला जापानमा एक मात्र नेपाली ‘इन्टरनेसनल बिजिनेस कन्सल्टेन्ट’का रूपमा परिचित हुन पुगेका छन् । नेपाल घुम्न आएकी जापानी युवती यसुको हिरासावासँगको चिनजान प्रेममा बदलिँदै वैवाहिक सम्बन्धसम्म पुगेपछि उनी सन्दर्भवश जापान पुगेका हुन् । पाँच वर्षको उमेरमा पुस्तकमा हिमालको तस्बिर देखेपछि हिमाललाई प्रत्यक्ष हेर्ने सपना साँचेकी यसुको १९ वर्षको उमेरमा आफ्नो सपना साकार पार्न नेपाल आएकी रहिछिन् । नेपालको सौन्दर्यसँग लोभिएर उनी यतै अल्मलिएको अवस्थामा जाइकालगायत विभिन्न सङ्घ–संस्थामा कानुनी सल्लाहकारको रूपमा काम गर्ने बलराम श्रेष्ठसँग भेट भएको रहेछ । सुरुमा विश्वभाषा कलेजमा नेपाली भाषा पढेकी यसुकोले पनि त्रिविबाट विशेष नेपाली विषयमा स्नातक गरेकी छिन् । यसरी, घनिष्टता बढ्दै उनीहरू जीवनभरका साथी बन्न पुगे । तर, जब श्रीमती यसुको हिरासावा श्रेष्ठ प्रेग्नेन्ट भइन्, पेटमा भएको बच्चाको अवस्था अलिक क्रिटिकल रहेको भन्दै चिकित्सकले सकभर विदेशमै जँचाउन र प्रसूति पनि उतै गराउँदा राम्रो हुने सल्लाह दिए । चिकित्सकको यही सुझावअनुसार बलराम सपत्नी ससुराली देश जापान पुगे र परिबन्दवश आफ्नो अगाडिको करियर नै उतै खोज्न थाले । इन्टरनेसनल बिजनेस कन्सल्ट्यान्टको परिचयसहित हाल जापानबाटै विद्यावारिधि पूरा गर्न लागेका बलराम श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
० तपाईं जापानमा एक मात्र नेपाली कानुन व्यवसायीका रूपमा क्रियाशील हुनुहुन्छ, जापानमा एक सफल कानुन व्यवसायी बन्न तपाईंलाई केले प्रेरित ग-यो ?
– विभिन्न जापानी सङ्घसंस्थामा आबद्ध भएर कानुन व्यवसायीको रूपमा काम गर्ने क्रममा म जापान आउने–जाने गरिरहन्थेँ । सन् २००३ को अक्टुबरमा पत्नीलाई डेलिभरी गराउनका निम्ति जापान गएको थिएँ । पेटमा रहेको बच्चाको अवस्था अलिक समस्यायुक्त देखिएकाले पाँच महिनाको गर्भ रहेकी पत्नीलाई लिएर जँचाउन जापान गएको, तर थप महिनौँ अवधि उतै बस्नुप-यो । जापानको अस्पतालमा जाँच गरेपछि बच्चाको अवस्था नर्मल नै रहेको पत्तो लाग्यो, तर सासू–ससुराले पनि बच्चा उहीँ जन्माउन जोड गरे । कुनै समस्या आइपरेमा आफूहरू नेपालसम्म पुग्न पनि समस्या हुने र जापानमै बढी केयर हुने उहाँहरूको तर्क थियो । मलाई के गरूँ कसो गरूँ भयो । अन्ततः उहाँहरूको कुरा मान्नैप-यो । अन्ततः बच्चा जापानमै जन्मियो, बच्चामा कुनै रोग पनि रहेनछ र त्यहाँको सिस्टमप्रति म आकर्षित हुन पुगेँ । खासमा बच्चा जन्माउन गएको थिएँ, परिबन्दले यसरी उतै करियर बनाउनेतिर लागेँ । त्यतिबेला अर्थात् सन् २००४ तिर जापानमा नेपालीको सङ्ख्या लगभग सात–आठ हजार मात्र थियो । जापानी भाषाको दक्षता नभएर पनि होला नेपाली अनेक खालका समस्यामा परेका, तर कानुनी सेवा लिन नसकेर दुःख पाइरहेका देखेँ । कोहीले पाउनुपर्ने तलब नपाएका, कोही सानो कारणले पनि जेल परेका, कोही प्रगति त गर्न चाहने, तर आफ्नो कुरो सम्बन्धित निकायमा पु-याउन नसक्ने अवस्थाले विरक्तिएका र यस्तै–यस्तै यावत् समस्यामा परेका नेपालीलाई कानुनी सेवामार्फत सहयोग गर्न सकिन्छ भन्ने सोच ममा पलायो । कानुनी पेसालाई माध्यम बनाएर आफ्ना नेपाली दाजुभाइलाई परदेशमा प्रगति गर्न सक्षम बनाउने काम एकप्रकारले राम्रै सेवा पनि हुन्छ भन्ने लाग्यो । मैले पत्नीसँग सल्लाह गरेँ । उनले ‘यहाँ कानुनी सेवा दिने काम सजिलो छैन, तर तपाईंले गर्न सक्नुहुन्छ कि भन्ने मलाई लाग्छ, प्रयास गर्नु उचित होला’ भनिन् । यसपछि म हौसिएँ । तर, जापानमा त्यतिबेला नेपालीको सङ्ख्या धेरै नभएको, नेपाल र जापानबीच ठूलो व्यापार–व्यवसाय पनि खासै नभएको परिवेश बाधक बन्ने देखियो । म परेँ कर्पोरेटसम्बन्धी मामला हेर्ने लयर, जापान र नेपालबीच खास ठूलो कर्पोरेट काम नै नभएकाले क्लाइन्टको अभाव हुने अवस्था रहन्थ्यो । क्लाइन्ट नै नभएपछि वकालत कसरी चल्छ त ? भन्ने प्रश्न स्वभावतः उब्जियो । जब कि वकिल भएबापत अर्थात् त्यहाँको बार एसोसिएसनको सदस्यता लिएपछि मासिक लगभग ५१ सय डलर शुल्क बुझाउनुपर्ने नियम रहेछ । यो त संसारकै महँगो शुल्क हो । सुरुमा बारका मान्छेहरूले ‘तपाईंले यो शुल्क बुझाउन सक्नुहुन्न होला’ भनिदिँदा हो क्यारेजस्तो पनि लाग्यो । तर, मैले हिम्मत हारिनँ, प्रयास गरेँ । मलाई त्यतिबेला के लाग्यो भने अवसर भन्ने कुरा जहिले पनि आउँदैन, तर नाइँ भन्न या नगर्न त जति नै बेला पनि सकिन्छ ! अर्थात् पाउने कुरा सधैँ नपाइन सक्छ, छोड्ने कुरा त जतिबेलै पनि छोड्न सकिन्छ नि ! अनि म आफूलाई आधिकारिक लयरको रूपमा रजिस्टर गराउनेतर्फ लागेँ । २००४ देखि त्यो प्रक्रिया सुरु गरेको बल्लतल्ल २००९ मा मात्र मैले जापान बार एसोसिएसनमा प्रवेश पाएँ । पाँच वर्ष लाग्यो मलाई, किनकि, अन्तर्राष्ट्रिय कानुन व्यवसायीको रूपमा आधिकारिकता लिन त्यहाँको नियम–प्रावधान निकै कठिन रहेछ । त्यो क्राइटेरिया पु-याउने काम अत्यन्त गाह्रो भयो । बीचबीचमा त हुँदैन भनेर फिर्ता पनि पठायो, तर १० वर्षसम्म लगातार प्रयास गरिरहने अठोट गरेँ । हिम्मत हारिनँ, प्रयास छोडिनँ र पाँच वर्षमा सफल भएँ ।
० जापानमा बढी मुद्दा कुन क्षेत्रका हुँदारहेछन् ? अर्थात् न्यायकर्मी र न्यायालयहरूले कस्ता मुद्दामा बढी समय खर्चिनुपर्दोरहेछ ?
– खासगरी अध्ययनको विषय र इन्टरनेसनल लयरको नाताले मेरो कामको क्षेत्र भनेको अन्तर्राष्ट्रियस्तरको कर्पोरेट (वाणिज्यसम्बन्धी) मुद्दा हेर्ने हो । जापान एउटा औद्योगिक क्रान्ति भएको देश भएकाले उद्योग–व्यवसायसम्बन्धी कम्पनीहरू धेरै छन् । चार–पाँच सय वर्षको इतिहास भएका कम्पनी नै त्यहाँ कति छन् कति । तिनीहरू नै मेरा क्लाइन्ट हुन् । आयात–निर्यातसम्बन्धी एग्रिमेन्टअनुसार काम नभएको, समयमा पेमेन्ट नपाएकोजस्ता मुद्दाहरू हुन्छन् । जापानको सिस्टमअनुसार एक–दुई वर्षभन्दा ज्यादा एउटै मुद्दा लम्ब्याइँदैन, फैसला भइसक्छ, अपवादमा एक–दुईवटा कम्प्लिकेटेड मुद्दा वर्षौं तन्किनु बेग्लै पक्ष हो । जस्तो कि, गोविन्द मैनालीको केस २००२ मा सुरु हुँदा म नेपालमै थिएँ, त्यो केस २०१३ मा फैसला हुँदा म स्वयम् पनि उक्त मुद्दासँग जोडिन पुगेको थिएँ । मैनालीको केसमा मैले पनि आफ्नो स्थानबाट सहयोग गरेको हुँ ।
० नेपालीको चाहिँ कस्ता केस आउँछन् नि तपाईंकहाँ ?
– आफ्नै कम्पनी स्थापना गरेर व्यवसाय गर्न चाहने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ । त्यस्ता नेपालीको कम्पनी स्थापित गरिदिने, अर्थात् कम्पनी दर्तादेखि अन्य आइपर्ने सानातिना मामला पनि हेरिदिने गरेको छु । नेपालीलाई भिसा थप्न सघाउने काम पनि अहम् महत्वको हुन आउँछ । कमाइ भइरहेको छ, तर भिसाको म्याद सकियो । यस्तो अवस्थामा परदेशमा नेपाली नछटपटिने कुरै आउँदैन । परदेशमा ज्यानपछिको महत्वपूर्ण कुरा नै भिसा हुन आउँछ । जापानिज लयरहरूसँग मिलेर चाहेअनुसार काम गरिदिने जिम्मेवारी आइपर्छ । एकप्रकारले त्यो पेसा मात्र भन्दा पनि सेवा नै हो भन्दा हुन्छ ।
० नेपाल र नेपालीप्रति जापानमा कस्तो धारणा रहेको छ ?
– जापानिजहरूमा नेपाल र नेपालीप्रति एक सय दुई प्रतिशत सकारात्मक धारणा रहेको पाउँछु म । किनकि, जापानलाई बुद्धिज्म नेपालले दियो, अर्थात् शान्तिको कुरा नेपालले दिएको हो भन्ने भाव उनीहरूमा छातीभित्र गडेर रहेको छ । २५ सय वर्षअघि नेपालमा बुद्ध नजन्मिदिएको भए शान्तिको कुरा हाम्रो देशमा आउँदैनथ्यो भनी खुल्ला हृदयले बताउँछन् उनीहरू । नेपाली भनेका त्यस्ता बुद्ध भगवान् जन्मिएको देशका मानिस हुनाले उनीहरूसँग हामी जापानीको भावनात्मक सम्बन्ध स्वतः रहेको छ भन्ने ठान्छन् उनीहरू । अर्को कुरा नेपाली र जापानीको रहनसहन करिब–करिब मिल्छ । स्वभाव पनि मिल्ने, अनुहार या शारीरिक ढाँचाकाँचा पनि मिल्ने । यस्तै, नेपालीहरू जापानीभन्दा पनि मायालु–दयालु हुन्छन् भन्ने पनि उनीहरूलाई परेको मैले पाएको छु । आफ्ना परिवारजन या पत्नीलाई पनि विशेष माया गर्ने स्वाभाव नेपालीमा रहेको जापानी बुझाइ छ । उनीहरू यसलाई अत्यन्त सकारात्मक पक्षका रूपमा लिन्छन् । समग्रमा भन्नुपर्दा नेपाली भनेपछि जापानीले अत्यन्त सकारात्मक रूपमा लिन्छन्, सहयोगी स्वभावका हुन्छन् भनी नेपालीलाई मन पराउँछन् ।
० जापानबाट नेपाल र नेपालीले सिक्नैपर्ने कुराचाहिँ के–के हुन सक्छन् नि ?
– बुँदागत रूपमा भन्नुपर्दा जापानको शिक्षा या शैक्षिक प्रणाली अत्यन्त राम्रो छ । कामप्रति इमानदार हुन त्यहाँको शिक्षाले नै सिकाउँछ । आफ्नो जिम्मेवारी आजै पूरा गर्नुपर्छ भन्ने भाव हरेक जापानीमा छ । यस्तै, आफ्नो कारणले अरूलाई दुःख नपरोस् भन्ने भाव जापानी नागरिकमा भरपूर हुन्छ । आफूले पहिले अरूलाई सम्मान दिनुपर्छ भन्ने गुण पनि उनीहरूमा पाइन्छ । जतिसुकै ठूलो मान्छे भए पनि अरूलाई सम्मान दिन उनीहरू चुक्दैनन् । हामीकहाँजस्तो पहिले नमस्कार गर्नेलाई आफूभन्दा सानो रहेछ भनी मूल्याङ्कन गर्ने स्वभाव उनीहरूमा पाइँदैन । तेस्रो, नागरिक उत्तरदायित्वको भाव उनीहरूमा अत्यन्तै पाइन्छ । म यो राज्यमा जन्मेको छु, देशले नै मलाई हावा, पानी, वास, खाना दिएकाले राज्यप्रति म नतमस्तक हुनुपर्छ भन्ने सोच हरेक जापानीमा रहेको हुन्छ । मेरो कारणले मेरो देशको, मेरो सहरको, मेरो टोलको, मेरो परिवारको नाममा रत्तिभर धब्बा लाग्न हुँदैन भन्ने सोचअनुरूपको व्यवहार गर्न उनीहरू हरदम सचेत रहेका हुन्छन् । चौथो, जापानको शिक्षाप्रणालीअनुसार पासमार्क अर्थात् डिमार्केसन नै ७०–८० प्रतिशत छ । एउटै पुस्तकलाई उनीहरू गहिरिएर तीन–चारचोटि पढ्छन् । हामीले डिग्री पास गरेको र उनीहरूले सोही स्तरको पढाइ पूरा गरेकोमा क्षमता या विज्ञताको हिसाब लगाउँदा उनीहरू कता हो कता माथि हुन्छन् । समयानुकूल परिमार्जन गरिएको व्यावसायिक/व्यावहारिक शिक्षा प्रदान गरिन्छ जापानमा । त्यसले नागरिकलाई काम गरिखाने बनाउँछ ।
० शिक्षित र सक्षम नेपाली समृद्ध मुलुकतिर र शिक्षामा कमी भए पनि बलिया–बाङ्गा युवाहरू मलेसिया र खाडी मुलुकतिर ओइरिने क्रम जारी छ, यसले नेपाललाई कहाँ पु-याउला भन्ने लाग्छ तपाईंलाई ?
– यसको जवाफमा पनि म शिक्षाकै कुरा जोड्न चाहन्छु । बैले बुझेअनुसार नेपालमा तीन प्रकारका शिक्षा हाबी भइरहेको छ । एउटा, अङ्ग्रेजी पढ्ने, बोलचाल गर्न जान्ने र अङ्ग्रेजी बोल्नुपर्ने ठाउँमा गएर काम गर्ने । अमेरिका/युरोप गए पनि तिनले दिमागको काम गर्नेचाहिँ होइन, शारीरिक परिश्रम लाग्ने काम नै गर्न पाउने हो । एकथरी शिक्षा यो भयो । अर्को, गाउँबाट आउने अनि जसरी हुन्छ निजामती सेवा प्रवेश गर्नका लागि टुप्पी कसेर पढ्ने (रट्ने) । सरकारी सेवामा छिरेपछि त्यहाँको सुविधा लिएर जसरी हुन्छ आफू सम्पन्न बन्ने । तेस्रो, एसएलसीसम्म पनि पढाइ गर्न नसक्ने, अनि पढाइलेखाइ नभए पनि काम चल्ने ठाउँमा काम खोज्ने, अर्थात् खाडी/मलेसिया छिर्ने र लेबरको काम गर्ने । यस्तो भएपछि मुलुकको गति कता जाला, सहजै अनुमान गर्न सकिन्छ । यस्तो संवेदनशील कुरामा राज्यको ध्यान पुगेको महसुस गर्न पाइएको छैन । यस विषयमा त अत्यन्त गम्भीरताका साथ विशेष पोलिसी बन्नुपर्छ भन्ने लाग्छ मलाई । एक्सपर्टहरूको रायसुझाव लिएर शिक्षा प्रणालीमा सुधारका साथै रोजगारीका अवसर सिर्जना हुने वातावरण निर्माण गर्न राज्य लागिहाल्नुपर्छ ।
० नेपाल नबन्नुको मूल कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– यसमा म के भन्न चाहन्छु भने संसारका विभिन्न देशको उदाहरण लिएर भन्नुपर्दा जब–जब देशमा ट्रेड युनियनहरू बलियो बन्दै आउँछ, जुन देशमा मजदुर युनियनहरू धेरै खुल्छन्, त्यहाँ आर्थिक क्रान्ति हुन सक्दैन । औद्योगिक क्रान्ति गर्न त निजी लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाइदिनुप-यो नि । लगानीकर्तालाई कानुनैकानुनले घेरिदिने, लगानी गरेको ठाउँमा पनि अनेक प्रकारका व्यवधान, बन्द–हडताल गरिदिने भएपछि लगानीकर्ता स्वतः पछि हट्छन् । लगानी नै नभएपछि कम्पनी र उद्योगहरू खुल्दैनन् अनि रोजगारी रहँदैन, युवाहरू बिदेसिन्छन् । मुलुक कसरी बनोस् ?
० जापानमा चाहिँ ट्रेड युनियन हुँदारहेनछन् कि कसो हो ?
– हुन्छ, तर जहाँका नागरिक आफ्नो करणले मुलुकमाथि रत्तिभर पनि आँच पुग्नुहुँदैन भन्ने सोच राख्छ, ट्रेड युनियनमा रहने पनि तिनै नागरिक हुनाले देशलाई हानि पुग्ने होइन, उचाल्ने काम नै गरिरहेका हुन्छन् । शिक्षा या शैक्षिक प्रणालीकै कमाल हो त्यो पनि ।
० नेपाल सुधार्न के गर्नुपर्ला, केही उपाय छन् ?
– दैनिक जीवन निर्वाह गर्न पनि नसकिने महँगी कन्ट्रोल गर्न सरकार विशेष रूपले लागिपर्नुपर्छ । छिमेकी भारतमा जस्तो राशन कार्डकै मोडलमा केही विधि अपनाउने हो कि या अरू कुनै त्यस्तै गर्न सकिन्छ । आमनागरिकले राहतको सास फेर्न नपाएसम्म राम्रो कुराको सुरुवात हुन गाह्रै पर्छ । अर्को कुरा भोकेसनल या प्राक्टिकल शिक्षा प्रदान गर्ने व्यवस्था हुनुपर्छ । त्यसले गफ गरिखाने होइन कि गरिखाने नागरिक उत्पादन गर्छ । उपायहरू त अरू पनि अवलम्बन गर्न सकिन्छन्, तर मूलभूत रूपमा यी काम गर्नुपर्छ ।
० देशको राजनीतिक अवस्थाप्रतिचाहिँ तपाईं कत्तिको चासो राख्नुहुन्छ नि ?
– जति टाढा पुग्यो आफ्नो देशको उत्ति नै ज्यादा माया लाग्दोरहेछ । फेरि सञ्चार जगत्मा भएको क्रान्ति र विश्वव्यापीकरणले साँघुरिन पुगेको परिवेशका कारण छिटोभन्दा छिटो र पलपलका खबर लिन सकिन्छ । म पनि यसको अपवाद छैन । एक त वर्षमा आधाजसो यता र आधा समय उता हुनेगरी आतोजाते गरिरहेको हुन्छु म, त्यसमाथि चासोपूर्वक यहाँका गतिविधिप्रति ध्यान पु-याइरहेको हुन्छु ।
० वर्षौं भयो यहाँ संविधान बन्न सकेको छैन, यसबारे के भन्नुहुन्छ ?
– संविधान बन्छ र बन्नैपर्छ । कतिपय विदेशका साथीहरू मलाई यदाकदा प्रश्न गर्छन् कि तिम्रो देशमा त कानुन नै छैन रे नि हो ? यस्तो प्रश्नले एकातिर हाँसो उठाउँछ अर्कोतिर दुःख पनि लाग्छ । संसारको परिवेश सुहाउँदो संविधान यथाशीघ्र बनाएनौँ भने विश्वबाटै हामी एक्लिन सक्छौँ । नेताहरू र प्रत्येक नेपालीले यो महसुस गर्नुपर्छ । मुलुकको नेतृत्वमा असक्त वृद्धावस्थाका मानिस हावी भएका छन् । यसरी काम चल्दैन । नेताहरूको अनार गर्न खोजेको होइन, तर देशको नेतृत्व युवा पिँढीमै हुनुपर्छ । तल्लो निकायसम्म राज्यको सेवासुविधा या स्रोतको समान रूपले वितरण हुनुपर्छ । नेताहरूकहाँ धाउन नपरीकन नागरिकले काम (रोजगारी) पाउने व्यवस्था हुनुपर्छ । जापानमा मान्छेले काम खोज्ने होइन, कामले मान्छे खोजिरहेको हुन्छ ।
० अन्त्यमा केही… ?
– भूकम्पबाट पीडित बनेका दाजुभाइहरूलाई केही भए पनि राहत दिने अभिप्रायले हामी भूकम्प प्रभावितमध्येका ६ जिल्लामा पुग्यौँ । करिब पचास लाख रुपैयाँभन्दा बढी मूल्यका जस्तापाता र खाद्यान्न आदि उपलब्ध गरायौँ । राहतकै काममा हिँड्दा रसुवामा त झन्डै ज्यानै जाने अवस्था आएको थियो । तथापि, कर्म गर्न जापानमा रहे पनि मन त नेपालमै भएकाले र आफ्नो मुलुकका पीडितजनको सेवामा हिँडेको अवस्था हुनाले विपत्तिले पनि हामीलाई हल्लाउन सकेन ।
– जेपी त्रिपाठी
प्रतिक्रिया