कमलादीमा चञ्चलाको जादुमय कवाली
गत शुक्रबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा बेग्लै रौनक थियो । सङ्गीतको सर्वप्रिय र दक्षिण एसियाकै पुरानो मानिने विधा कवाली गायन आफ्नो मनमोहक आवाजमा पस्कनका निम्ति भारतीय कवाली गायिका चञ्चला भारती उत्साहपूर्वक तत्पर थिइन् भने उनलाई सुनेर साङ्गीतिक आनन्द बटुल्न सङ्गीतप्रेमीहरू खचाखच उपस्थित थिए । यहाँसम्म कि चञ्चलाको जादुमय आवाजमा कवाली सुन्ने अवसर छोप्न राष्ट्रपति रामवरण यादव, प्रधानसेनापति, विभिन्न मुलुकका राजदूतदेखि अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति–व्यक्तित्वहरूसमेत त्यहाँ हाजिर देखिन्थे । दर्शकहरूको दर्बिलो उपस्थितिले चञ्चलालाई पनि सायद निकै रोमाञ्चित तुल्याइरहेको थियो । उनले गायन सुरु गर्नुअघि यस सन्दर्भमा मुखै फोरिन्, ‘नेपालका सम्माननीय राष्ट्रपतिदेखि प्रधानसेनापति एवम् राजदूतहरूसम्मका उच्च व्यक्तिसमक्ष प्रस्तुत हुन पाउँदा गौरव अनुभूति गरिरहेकी छु । नेपालमा सङ्गीतको माध्यमबाट जोडिन पाएकोमा म अत्यन्त खुसी छु ।’
सन्दर्भ थियो मित्रराष्ट्र भारतको ६९औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावास र भारतीय सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘साम ए कवाली’, जहाँ भारतीय कवाली गायनकी रानी चञ्चला विशेष आमन्त्रणका साथ उपस्थित थिइन् । ‘ए खुदा तु हे…’ बोलको कवालीबाट गायन आरम्भ गरेकी चञ्चलाले कवालीलाई माध्यम बनाएर धार्मिक तथा साम्प्रदायिक सद्भावको सन्दर्भ उठाइन्, स्वभावतः विशुद्ध प्रेमका सन्दर्भ त कवाली गायनमा आउने नै भए । प्रेमप्रति हिन्दू, मुस्लिम, क्रिश्चियन दर्शन एवम् विभिन्न धर्मगुरुहरूले भनेका सन्दर्भहरू जोड्दै गायनमार्फत चञ्चलाले मानवीय प्रेमको जमेर वकालत गरिन् । भारतको बनारसमा जन्मेर कवाली गायनमै हुर्किएकी चञ्चलाले एकसे एक सुन्दर कवाली करिब आधा दर्जनको हाराहारीमा उनले पस्किइन् ।
पर्सियाबाट आठौँ शताब्दीमा सुरु भएको मानिने कवाली गायन भट्याउँदै गाउने गरिन्छ । समूहमा गाइने भए पनि मुख्य गायक या गायिकाले शब्द भट्याउँदै समूहले दोहो-याएर गाउनु यसको मुख्य विशेषता हो । बीच–बीचमा तबला र हार्मोनियमको साथले कवालीलाई बेग्लै किसिमको स्वादिलो तुल्याइदिन्छ । मन्द सुरुवातबाट श्रोतालाई बाँध्दै उत्कर्षतिर लैजाने कवाली शैली सुनेर सङ्गीतप्रेमी कतिबेलै थाक्दैनन् ।
‘राते काइँला’लाई अन्तर्राष्ट्रिय फिल्म अवार्ड
भारतीय सिनेमा (बलिउड)मा समेत आफ्नो अभिनय क्षमता देखाएर चर्चामा रहिआएका तथा कलिउडमा ‘राते काइँला’ उपनामले चर्चित अभिनेता सुनील थापालाई अमेरिकामा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । अमेरिकास्थित नेपालीले विगत दुई दशकदेखि आयोजना गर्ने गरेको ‘फेस्टिबल अफ ग्लोब’ नामक अन्तर्राष्ट्रियस्तरको महोत्सवमा अभिनेता थापालाई उनको चलचित्र क्षेत्रप्रतिको योगदानको कदर गर्दै गत शनिबार आयोजित भव्य समारोहबीच बलिउड र हलिउडका कलाकारसँगै सुनीललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । अमेरिकामा यही अगष्ट ७ देखि १६ सम्म उक्त फिल्मी महोत्सव चलेको थियो ।
अभिनेता थापासँगै हलिउड कलाकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड सङ्गीतकार तथा गायक बप्पी लहरी, भियतनामी नायिका किउ चिनलाई पनि सोही ‘अवार्ड’बाट सम्मानित गरिएको छ । महोत्सवमा पहिलोपटक नेपाली चलचित्र तथा कलाकारले सहभागिता जनाएका थिए भने उल्लिखित ‘अवार्ड’ अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको ठूलो सम्मान भएको नेपाली चलचित्रकर्मीहरूले बताएका छन् । महोत्सवमा केही नेपाली चलचित्र पनि प्रदर्शन गरिनुका साथै नेपाली नायिकाद्वय केकी अधिकारी र नन्दिता केसी एवम् नृत्य निर्देशक शङ्कर बीसीले ‘मोहनी लाग्ला है’ बोलको गीतमा नृत्य गरेका थिए ।
किनाबालु चढ्दै विश्व–कीर्तिमानी पण्डित
धावक एवम् विश्व–कीर्तिमानी पर्र्वतारोही सञ्जय पण्डितले मलेसियाको उच्च शिखर किनाबालु आरोहण गर्ने भएका छन् । सात महादेशको सातै पर्वत चुम्ने प्रयासमा रहेका पण्डितले यही भदौको २८ गतेदेखि उनले उक्त शिखरको आरोहण गर्ने बुझिएको छ । यसअघि सगरमाथा, मनास्लु, किलिमञ्जारो, एल्बु्रसलगायत अन्य महादेशका हिमालको पण्डितले सफल आरोहण गरिसकेका छन् । हालै मात्र उनले नेपाली दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर जापानको सर्वोच्च शिखर फुजी आरोहण गरेका थिए, जहाँ उनले नेपाली राष्ट्रिय गीत गाएका थिए । हालै गएको भूकम्पमा परी ज्यान गुमाएका दशौँ हजार नागरिकको सम्झना र समर्पणमा आफूले किनाबालु शिखर आरोहण गर्न लागेको जनाएका छन् । स्मरण रहोस्, किनाबालुमा पनि नेपालमा गएको विनाशकारी भूकम्पलगत्तै सोही प्रकृतिको भूकम्प गएको थियो ।
जीसीलाई बीपी कोइराला स्मृति साहित्य सम्मान
पालुङ साहित्य परिषद् मकवानपुरले कवि तथा गजलकार उज्ज्वल जीसीलाई बीपी कोइराला स्मृति साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । नेपाली साहित्यको उत्थान, सम्ब्द्र्धन र विकासमा उल्लेख्य योगदान पु-याउने अग्रज स्रष्टालाई प्रदान गरिने उक्त सम्मान पालुङस्थित थाहा नगरपालिका भवनको प्रेक्षालयमा आगामी भाद्र १२ गते एक भव्य समारोहकाबीच अर्पण गरिने जानकारी परिषदका अध्यक्ष लक्ष्मणप्रसाद बर्तौला ‘बिर्खे अञ्जान’ले जानकारी दिएका छन् । यसैगरी परिषद्ले हेटौंडाका ह्याग्रिब आचार्यलाई रुपचन्द्र बिष्ट स्मृति साहित्य सम्मान, दाङकी भवानी न्यौपानेलाई पालुङ साहित्य सिर्जनशील नारीस्रष्टा सम्मान र स्याङ्जाका मिलन समीरलाई मदन भण्डारी स्मृति युवा साहित्य सम्मान पनि प्रदान गर्ने बताइएको छ ।
प्रतिक्रिया