श्यामको मिहिनेत र अनुवाद साहित्य – मणि लोहनी

श्यामको मिहिनेत र अनुवाद साहित्य – मणि लोहनी


Mani Lohaniप्रेमचन्दलाई भारतीय लेखकको रूपमा मैले पहिलोपटक ०४७÷४८ सालतिर पढेको हुनुपर्छ । त्यतिखेर उनको उपन्यास गोदान मैले खुब चाख मानेर पढँे । हिन्दी भाषा मेरो लागि त्यति सहज थिएन जति अहिले छ । त्यसो त हिन्दी दुरुह पनि थिएन । तर, गोदान पढिरहँदा कति शब्दावलीको मैले अर्थ बुझ्न सकिन । यही होला भनेर अनुमान गरँे । त्यतिखेर त्यो किशोरवयको मलाई लागेको थियो प्रेमचन्दका रचनाहरू नेपालीमा पढ्न पाए ।
पछि प्रेमचन्दका केही रचनाको नेपाली अनुवाद नआएको पनि होइन । तर, हिन्दी भाषा पहिलेभन्दा निकै राम्रोसँग बुझ्ने अवस्थामा म पुगिसकेकाले त्यतातिर ध्यानै गएन । फेरि अनुवादका नाममा नेपालीमा छापिएका प्रेमचन्दका रचनाहरूमा त्यो रस वा त्यो मजा थिएन– जुन प्रेमचन्दका रचनाहरू हिन्दीमा पढ्दा मैले पाउथेँ ।
तर, यतिखेर प्रेमचन्दका उत्कृष्ट कथाहरूको नेपाली अनुवाद बजारमा आएको छ । यो कृति पढिरँहदा मलाई लाग्यो– अनुवादकले प्रेमचन्दका रचनामाथि न्याय मात्र होइन, सम्मान पनि गरेका छन् । र मलाई लाग्छ, रचनाको सम्मानका साथ गरिएको अनुवादले मात्र असल अनुवाद गर्न सक्छ । प्रेमचन्दका रचनालाई नेपालीमा पढिरहँदा म ती दिनहरूमा फर्किएँ जहाँ कति शब्दहरू नबुझेर म हैरान भएको थिएँ ।
सन्दर्भ हो रत्न पुस्तक भण्डारले बजारमा ल्याएको प्रेमचन्दका उत्कृष्ट कथा को । यस कृतिमा सजिएका १३ उत्कृष्ट कथाहरूको नेपाली अनुवाद गरेका छन् श्याम प्रधानले । श्यामले अनुवादका लागि अन्त्यन्तै मिहिनेत गरेका छन् । अनुवाद गरुन्जेल उनी हतारिएका छैनन् । उनलाई के थाहा छ भने अनुवाद भनेको रिक्रियसन पनि हो । यस कुरामा उनी अत्यन्त होसियार छन् । प्रत्येक कथाको अनुवादमा उनले देखाएको होसियारी र सावधानीले कृतिको ओजन बढेको छ । सायद त्यही भएर हो, पे्रमचन्दका उत्कृष्ट कथाको दोस्रो संस्करण बजारमा आएको छ ।
प्रेमचन्दले हिन्दी साहित्यलाई तिलस्मी कथाहरूको संसारबाट नयाँ संसारमा प्रवेश मात्र गराएनन् । उनले मानिसमाथिको विश्वास र सम्मानलाई अलग्गै स्थान पनि दिए । देवता र भूतमाथि विश्वास गरेर उनीहरूको कथा लेखिने हिन्दी साहित्यमा मानिसमाथि कथा लेखेर प्रेमचन्दले नयाँ आयाम नै थपे । उनले देवतालाई होइन मानिसलाई विश्वास गरे । दीनदुःखी उनको नायक भए । गरिब वर्ग उनका पृष्ठभूमि बने । अब मानिस नायक भएका कथाहरू भित्रिए । पाठकलाई आफू नै पात्र भएको देखेर उत्साह पनि बढ्यो । अन्य लेखकहरूलाई पनि मानिसमाथि कथा लेखिन सक्ने ज्ञान भयो । र अब त यस्तो समय आयो – मानिसभन्दा पर पनि सिर्जना हुन्छ र भनेझैँ भयो ।
प्रेमचन्द हिन्दी साहित्यका पहिला त्यस्ता कथाकार थिए, जसले उपन्यास र कथाहरूलाई चामत्कारिक घटनाहरूको जालबाट मुक्त गरी मानव चरित्रतिर मोडे । उनको साहित्यको मुल प्रवृत्ति मानवप्रतिको सहानुभूति नै हो । यही प्रवृत्ति, सरल भाषा र सहज सरल कथाशिल्पका कारण उनी सर्वाधिक लोकप्रिय भएका हुन् ।
प्रेमचन्द यस मामिलामा हिन्दी साहित्यमा सधैँ सम्मानित छन् । र यही सम्मानित स्रष्टाका रचनालाई नेपालीमा सुन्दर पाराले श्याम प्रधानले लिएर आएका छन् । यहाँनेर श्यामको मिहिनेतको कदर गरिनुपर्छ भन्ने हामीलाई लाग्छ ।
श्यामसँग अनुवादको सीप राम्रो छ । अनुवाद आफैँमा सिर्जना हो । यो एउटा सुन्दर कला पनि हो । अनुवाद भनेको रचना छनोटदेखि नै सुरु हुन्छ । सिर्जनाको मौलिकतालाई जोगाएर अनुवाद गरिने भाषामा बुझिने विम्ब र प्रतीकको प्रयोग गरेर, अनुवाद गरिने भाषा र समाजको सन्दर्भमा मिलाएर अनुवाद गर्नु चानचुने कुरा होइन । हिन्दी र नेपाली नजिकका भाषा भए पनि नेपाली भाषा त नेपाली भाषा नै हो नि । नेपालीमा हिन्दीका उत्कृष्ट सिर्जना पढ्न पाउनु कति सुन्दर कुरा । यही सुन्दर अवसर हामीलाई श्यामले मिलाई दिएका हुन् ।
नेपाली र हिन्दी भाषाका लिपि एउटै हो– देवनागरिक । त्यसकारण अनुवाद सहज लाग्न सक्छ । तर, सिर्जनाको सम्मानका साथ अनुवाद गर्नु सानोतिनो कुरा होइन । श्यामले अनुवादको यो सीपलाई भरपूर प्रयोग गरेका छन् । श्यामले प्रेमचन्दका उत्कृष्ट कथाहरू कात्रो, दुई बहिनी, नशा, मिस पदमा, प्रार्थनास्थल, इदगाह, बुद्धिचालका खेलाडी, आत्माराम, मनोवृत्ति, दुई गोरुको कथा, पुसको रात, लेखक, मोटरोमजी शास्त्री र जरिमानालाई नेपालीमा ल्याएका छन् । कथाको अनुवाद सुन्दर र सशक्त भएको छ । मौलिक रचना झैँ लाग्छ । नेपाली र हिन्दी दुवै भाषामा राम्रो पकड भएका श्यामले अनुवादमा पनि आफ्नो बलियो उपस्थिति देखाएका छन् ।
यो कृति प्रेमचन्दका उत्कृष्ट कथाहरूले नेपाल र भारतबीच विद्यमान साहित्यिक र सांस्कृतिक सद्भावलाई पनि बढाएको छ । दुई देशबीच अनुवादको माध्यमबाट जे–जति साहित्यिक आदानप्रदान हुन सक्छ त्यसको हामीले भरपूर प्रयोग गर्नुपर्छ र यो काम गरेका छन् श्यामले र रत्न पुस्तक भण्डारले ।
प्रेमचन्दका धेरै कथा विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् । र विश्वभरि प्रेमचन्दका रचनाहरूले चर्चा पाएका छन् । सन् १८८० मा भारतको वाराणसीमा जन्मिएका प्रेमचन्दको सन् १९३६ मा निधन भएको थियो । यसबीचमा उनले जति सिर्जना गरे सबै मानवका पक्षका रचना नै छन् । प्रेमचन्द उर्दू र हिन्दीमा लेख्थे । श्यामले तयार पारेको किताबमा प्रेमचन्दको सामान्य परिचय पनि छ । जसले पाठकलाई प्रेमचन्दबारे जानकारी लिन सहयोग पु-याउनेछ भन्ने मेरो विश्वास छ ।
यस किसिमका अनुवादहरू अरू पनि श्यामले गरे भने त्यो अझ राम्रो कुरा हुनेछ । त्यति मात्र होइन, श्यामले नेपाली उत्कृष्ट रचनालाई हिन्दी भाषामा अनुवाद गरे भने त्यो अझ फलदायी हुने अनुमान हुने थियो भन्ने मलाई लाग्छ । उनको दुवै भाषाप्रतिको पकडले ममा यो विश्वास पलाएको हो ।
श्यामका दुई कुरा महत्वपूर्ण छन्– पहिलो रचनाको छनोेट गर्ने खुवी । अनि दोस्रो अनुवादमा देखिएको विशिष्टता । यो दुजै कुराको सदुपयोग गर्दै श्यामले अरू विभिन्न कृतिहरूको अनुवादमा पनि सक्रिय हुनुपर्छ । त्यसो भयो भने अनुवाद साहित्यले एउटा उचाइ भेट्ने थियो ।