कङ्कालसहित फेला प-यो डाइनोसारको अण्डा
‘डायनोसारको घर’ उपनामले समेत चिनिने चीनको ग्वाङडोङ प्रान्तस्थित हेनान सहरमा डाइनोसारको साढे ६ करोड वर्ष पुरानो दुई सय १३ वटा अण्डा फेला परेको छ । अण्डाको साथमा उक्त भीमकाय जीवको एक कङ्कालसमेत प्रहरीले नियन्त्रणमा लिएको हो । गत जुनमा निर्माणाधीन एक बिल्डिङ परिसरमा स्थानीयवासीले डाइनोसारका थुप्रै अण्डा फेला पारेका थिए । त्यसपछि सो क्षेत्रमा प्रहरी निगरानी बढाइएको थियो । प्रहरीले छापा मारेर डाइनोसारको एक कङ्कालसहित उक्त सङ्ख्यामा अण्डा जफत गरेको बताइएको छ । हेनानमा यसअघि पनि पटक–पटक पुराना जीवका जीवाश्म फेला परेका छन् । हेनानमा रहेको सरकारी म्युजियमले दश हजारभन्दा बढी जीवाश्म अण्डा सङ्ग्रहित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गराएको छ । चीनमा जीवाश्मको सङ्ग्रह गर्ने अधिकार सरकारलाई मात्र छ भने त्यस्ता सामग्रीको कारोबार गैरकानुनी मानिन्छ ।
मोडल हजुरबा !
उमेर त यिनको ७२ वर्ष पूरा भयो, तर यिनको फेसनप्रतिको लगाव देख्दा कहलिएका मोडलहरू नै छक्क पर्न सक्छन् । लियु जायपिङ हो यी चिनियाँ फेसनेबल ‘हजुरबा’को नाम । यिनको विशेषता के पनि छ भने यिनी पुरुष पहिरनभन्दा बढी महिला वस्त्रमै सजिन रुचाउँछन् । त्यसो त उनले पहिरिएर तस्बिर खिचाउन बाँकी राखेको कुनै कपडा नै रहेनछ । आफ्नो कामप्रति अत्यन्तै लगाव राख्ने जायपिङ आफ्नै नातिनीको निम्ति मोडलिङको काम गर्छन् । फेसन डिजाइनरको रूपमा ख्याति कमाएकी नातिनीले डिजाइन गरेका कपडा पहिरिएर देखाउनु उनको बुढेसकालको धन्दा छ । लिउले यसरी मोडलिङमा साथ दिएकैले उनकी नातिनीको अनलाइन स्टोरको व्यापार पाँच गुणाले बढेको छ ।
गोहीलाई भोकको रन्को
भोक मीठो कि भोजन भन्ने उखान हामीकहाँ प्रचलित छ । भोक लागेपछि सामान्य अवस्थामा नमिठो लाग्ने खाना पनि मीठो मानेर खानु अस्वाभाविक होइन । तर, दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्कमा संरक्षित एक गोहीले भने अचाक्ली नै ग-यो । भोकले असाध्यै रन्थनिएपछि उसले अन्य आहारको प्रतीक्षा गर्ने धैर्य नै गुमायो । फलतः आफ्नो अघिल्तिर आएको अर्को सानो गोहीलाई नै उसले जिउँदै चपाउन थाल्यो । मानिसले मान्छेकै मासु खाएको समाचार बेलाबखत सुनिँदै आए पनि गोहीले गोहीलाई नै आहार बनाएको घटना भने अनौठो थियो । संयोगवश उक्त दुर्लभ क्षणको साक्षी बनिन्– सौखिन फोटोग्राफर तन्जा मेरेन्सकी । एउटा गोहीले अर्को गोहीलाई निल्दै गरेको अपत्यारिलो दृश्य देखेर वर्षौंदेखि वाइल्डलाइफ फोटोग्राफी गर्दै आएकी तन्जा सुरुमा त झस्किइन्, तर सम्हालिँदै उनी त्यस दृश्यलाई क्यामेरामा कैद गर्न थालिन् ।
क्यारोलिनामा छेपारेमानव !
अमेरिकाको दक्षिणी क्यारोलिना सहरमा एक रहस्यमी प्राणी देखिएको बेलायती न्युज वेबसाइट मिररले जनाएको छ । छेपारो रूपको मानिस (लेजर्ड म्यान) जस्तो देखिने उक्त प्राणीको उचाइ करिब सात फुट भएको अनुमान गरिएको छ । मिररले जनाएअनुसार आजभन्दा तीस वर्षअघि पनि यस्तै आकृतिको प्राणी देखिएको थियो, तर त्यसयता फेरि कतै लेजर्ड म्यान देखिएको थिएन । सराह बेरा नामक महिलाले हालै आफूले उक्त रहस्यमयी प्राणीको तस्बिर खिचेको दाबी गरेकी छिन् । साँझको बेला आफू एक साथीसँग चर्चमा बसिरहेको बेला बाहिर रूखहरू भए ठाउँ उक्त जीव देखिएको र तत्काल त्यसको फोटो खिचेको उनको दाबी छ । के साँच्चै साउथ क्यारोलिनामा ‘लेजर्ड म्यान’को बास छ त ? अनुसन्धानको विषय भएको मिररले जनाएको छ ।
स्मग्लर परेवा !
ड्रग्स स्मग्लिङमा संलग्न एउटा परेवा रेडह्यान्ड अमेरिकी पुलिसको फन्दामा परेको छ । घटना क्यालिफोर्नियाको हो । स्थानीय जेलवरपर प्रायः उडिरहेको देखिने उक्त परेवामाथि प्रहरीलाई शङ्का लाग्यो । उसको अस्वाभाविक रूपले भुक्क परेको शरीरका कारण त्यस्तो शङ्का गरिएको थियो । नभन्दै सुरक्षाकर्मीको शङ्का खेर गएन, ‘ल रिफोर्मा पेनिटेन्टिया’ (जेल)मा थुनिएका कैदीहरूसम्म ड्रग्स पु-याउने धन्दामा उक्त परेवालाई माध्यम बनाइएको रहेछ । जेलका गार्डहरूले शङ्कास्पद परेवालाई पक्रिएर जाँच गर्दा चौध–चौध ग्राम लागूपदार्थका दुई थैली त्यसको शरीरमा बाँधिएको पाइयो । थप जाँचपछि त्यो परेवा तालिमप्राप्त रहेकोसमेत पुष्टि भयो । उक्त परेवालाई चालीस दिन लकअपमा थुन्ने सजायसहित सम्बन्धित प्रशासनले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया