आठौँको उद्घाटन चैत २७ गते राष्ट्रपति भण्डारीले गर्ने

आठौँको उद्घाटन चैत २७ गते राष्ट्रपति भण्डारीले गर्ने


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म नेपालगन्जमा आयोजना हुने घोषणा गरिएको छ । उक्त घोषणा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले चैत १० गते आइतबार नेपालगञ्जमा गरेका हुन् ।

प्रतियोगिताको आयोजनाबारे अन्योल सिर्जना भइरहेको बेलामा सदस्यसचिव विष्टले उक्त घोषणा गरेका हुन् । विष्टले आठौँको मिति घोषणा गर्दा बाँकेका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा खेलकुद क्षेत्रका अगुवाको उपस्थिति रहेको थियो ।

आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने विष्टले जानकारी गराएका छन् । विष्टले चैत २७ गते आइतबार बेलुकी ६ बजे राष्ट्रपति भण्डारीले नेपालगञ्जस्थित रंगशालामा आठौँको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । त्यस्तै, सोही दिन राति ८ बजे ओलम्पिक मशाल बालिने कुराको पनि विष्टले खुलासा गरे ।

त्यस्तै आठौँको समापन वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको पनि विष्टले बताए । उदघाटन र समापन समारोह निकै आकर्षक र रोचक हुने विष्टले दाबी गरे । अहिले यसको तयारी युद्धस्तरमा भइरहेको पनि जानकारी गराए ।

आठौँ आयोजनाको घोषणा गरेपछि सम्पूर्ण अन्योल हटेको बताउँदै आगामी चैत १५ गते बस्ने राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले यो मितिलाई लालमोहर लगाउँदै अनुमोदन गर्ने जानकारी गराए । साथै आठौँको सम्पूर्ण तयारी चैत २५ गतेभित्र पूरा हुने पनि विष्टले बताए ।

आठौँमा पहिलोपटक सबैभन्दा बढी ११ वटा टिमले सहभागिता जनाउँदै छन् । खेलाडीको सहभागिताको दृष्टिकोणले पनि आठौँ सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ । प्रतियोगिताका १५ वटा खेल बाँकेमा खेलाइनेछन् भने केही खेल बर्दिया, दाङ र बुटवलमा खेलाइनेछ ।

चैत १० गते आयोजित समन्वय बैठकमा सहभागी जनप्रतिनिधि, सरकारी कर्मचारी र सुरक्षा निकायका प्रमुखबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न सुझाव लिइएको थियो ।