नेपाल एथलेटिक्स संघले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई चैत १२ गते मंगलबार सम्मान गरेको छ । दरबारमार्गको अन्नपूर्ण होटेलमा आयोजित कार्यक्रममा अजितलाई सम्मान गरिएको हो ।
सो कार्यक्रममा एथलेटिक्स संघले अजितलाई टीभीएस मोटरसाइकल प्रदान ग¥यो । प्रशिक्षक घनीराम चौधरीलाई नगद १ लाख प्रदान ग¥यो । चौधरी भने सहोदर दाइको निधनका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहे । अजितलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नबिल बैंक, गोल्डस्टार, रुसलान, गोल्छा अर्गनाइजेसन र होटेल अन्नपूर्णले मासिक १२ हजारका दरले जम्मा ६० हजार रुपैयाँ १ वर्षसम्मका लागि अजितलाई प्रदान गर्ने घोषणा गरेका थिए । साथै अन्नपूर्णले १ वर्षसम्मका लागि पौडी र जिमको सुविधा निःशुल्क उपलब्ध गराउने पनि प्रतिबद्धता जनायो । उक्त सुविधा वार्षिक २ लाख रुपैयाँबराबर रहेको बताइएको छ ।

एथलेटिक्स संघले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणालगायत विभिन्न प्रतिष्ठित बिजनेस हाउसका व्यक्तित्व, राष्ट्रिय खेलकुद संघका अध्यक्ष, ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
उक्त सम्मान कार्यक्रममा बिजनेस हाउसका व्यक्तित्वहरूले अजितले पाएको सफलताप्रति शुभकामना दिएका थिए । साथै उनीहरूले यो शुरुवात मात्र हो भन्दै अन्तर्राष्ट्रियस्तरमा अझ सफलता पाउन कठिन परिश्रम गर्नुपर्ने जुझाए । सो अवसरमा उनीहरूले उनको मिहिनेतमा आफ्नो साथ रहने कुरामा प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस्तै, संघका अध्यक्ष राजीवविक्रम शाहले यो नेपाली एथलेटिक्स खेलको ऐतिहासिक क्षण भएको बताउँदै अजितको सफलताले नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सक्ने कुरालाई प्रस्ट पारेको बताए । खेलकुदको यस्तो विषम स्थितिमा समेत अजितले जुन उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण पदक जिते त्यो तारिफयोग्य भएको पनि अध्यक्ष शाहले खुलासा गरे ।
यस्तै, सो कार्यक्रममा अध्यक्ष शाहले नेपाल एथलेटिक्स संघको निर्वाचन आगामी चैत २४ गते हुने घोषणा गरेका थिए । नेपाल एथलेटिक्स संघको निर्वाचनको लागि आफूले थुप्रैपटक राखेपसँगै पत्राचार गरे पनि पटकपटक टाल्दै आएको खुलासा गर्दै यसपटक अन्तर्राष्ट्रिय एथलेटिक्स संघले प्रतिबन्ध लगाउन पत्राचार गरेपछि आफूले चैत २४ गते एथलेटिक्स संघको निर्वाचन गर्न लागेको बताए ।
प्रतिक्रिया