चन्द्रगढी वनमा प्रदेशकै नमूना वृक्षारोपण

चन्द्रगढी वनमा प्रदेशकै नमूना वृक्षारोपण


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

वातावरणसित पर्यापर्यटनको विकास गर्ने उद्देश्यले भद्रपुर ९ र १० मा अवस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको खाली रहेको १० हेक्टर जमीनमा कोशी प्रदेशकै नमूना वृक्षारोपण सुरू गरिएको छ ।

डिभिजन वन कार्यालय झापाको सहकार्यमा समितिको नेतृत्वमा यही असार महिना भित्र १५ हजार बिरूवा रोप्ने गरी कोशी प्रदेशकै नमूना वृक्षारोपणको थालनी भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका हुन् ।

१५ विगाह जमीनमा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवासम्म रोपिने सो क्षेत्रमा डिभिजन वन कार्यालय झापाको १५ लाख ५० हजार तथा वन समूहको २ लाख २५ हजार लागत सहभागितामा वृक्षारोपण सम्पन्न गरिने समूहका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूल लगायतका बिरूवा रोपिने छन् ।

समूहका अध्यक्ष खतिवडाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षरोपण शुभारम्भ कार्यक्रममा प्रकाश पार्दै डिभिजन वन कार्यालय योजना शाखा प्रमुख रामभगत यादवले तीव्र जनसंख्या वृद्धि भइरहेको झापा जिल्लामा ११।५ प्रतिशत मात्र वन क्षेत्र रहेकाले जनसंख्या अनुपातमा वन क्षेत्रको सन्तुलन मिलाउने सरकारी नीति अनुसार चन्द्रगढी वन क्षेत्रको खाली जग्गामा हरियाली क्षेत्र विस्तारका लागि कोशी प्रदेशकै नमूना वृक्षारोपण कार्यक्रम समेटिएको जानकारी दिए ।

यस्तै डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षारोपण कार्यलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै समूहले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको जानकारी गराएका छन् ।

समूहका उपाध्यक्ष श्रीमननारायण पौडेलले स्वागत गरेको कार्यक्रममा नगर प्रमुख पोखरेल तथा उपप्रमुख राधा कार्कीले धारणा राख्दै वन तथा वातावरण संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए भने कार्यक्रमको सञ्चालन सचिव कमला थापाले गरेकी थिइन् ।