सभापतिले सक्नुभएन अब पार्टी सुधार्ने जिम्मा मेरो काँधमा : महामन्त्री कोइराला

सभापतिले सक्नुभएन अब पार्टी सुधार्ने जिम्मा मेरो काँधमा : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मिहिनेत गरिरहेको बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।

प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता कोइरालाले पार्टी अध्यक्षबारे धेरै टीका–टिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

‘महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु,’ उनले भने, ‘पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागत रूपमा सफल पार्नुपर्छ ।’ उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे ।

नेता कोइरालाले दुईतिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको उल्लेख गरे ।