भद्रपुर । झापा उद्योग संघ, जिल्ला समिति सर्वसम्यमत चयन भएको छ । असार २१ गते सम्पन्न संघको २७ औँ साधारणसभा तथा अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा शिवकुमार गुप्ता निर्विरोध चयन भएका हुन् । उद्योग संघमा नवचयनित अध्यक्ष शिवकुमार गुप्ता नेपाल चिया उत्पादक संघ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा दिपेश ढकाल, उद्योग उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, कृषि उपाध्यक्षमा विनयकुमार गोयल, महासचिवमा प्रदीपमणि रेग्मी, सचिवमा तीर्थराज ढकाल र कोषाध्यक्षमा प्रदीपकुमार सरावगी चयन भएका छन् ।
यस्तै, कार्सयसमिति सदस्यहरूमा आदित्य पराजुली, अरविन्द अग्रवाल, सुरेशकुमार अग्रवाल, रमेश पराजुली, विनयराज पोखरेल, निर्मल भट्टराई, अजय साहेवाला, धनजुजु श्रेष्ठ र मोहनकुमार मित्तल रहेका छन् ।
उद्योग संघको उद्घाटन सत्रमा उद्योग तथा व्यवसाय क्षेत्रमा विशेष योगदान पुर्याउने उद्यमी, पत्रकार र कर्मचारीहरूलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता एवम् सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा संघकै भवनमा आयोजित कार्यक्रममा सदस्य सम्मानबाट उद्योगीहरू सत्यनारायण तायल, उज्ज्वल श्रेष्ठ, महेश चित्लांगिया र विनय गोयल तथा लाई सम्मान उद्योगमैत्री उत्कृष्ट पत्रकारतर्फ गोपाल गिरी र रोहित काफ्ले साथै संघका कर्मचारी सुष्मा शाक्य समेत ३ जनालाई नगद सहित सम्मान गरिएको थियो ।
सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकाल र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवनियुक्त केन्द्रीय उपाध्यक्ष आदित्य पराजुलीलाई समेत सम्मान गरिएको समारोहमा संघले उत्कृष्ट निर्यातकर्ता सदस्य प्रतिष्ठान तर्फ प्लाइउड, अलैँची र चिया निर्यातकर्तालाई पनि सम्मान गरेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताको स्वागत मन्तव्यपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुली, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिना लगायतले औद्योगिक सुरक्षा र नीतिगत सुधारका विषयमा आ(आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया