जित्ने यहाँ को छ खोइ – रामेश्वर राउत मातृदास
हार्नेले गुमायो जित्ने यहाँ को छ खोइ ?
हाँस्ने मौसम गुमाएर रुँदै हाँस्छन् यहाँ
गोही वनकुख्राका हुलहरू पिउँछन् उन्मादका सुरा
चुकेका चुरा हुन् हारजितहरूका कुरा
।।१।।
बादलले ढाकिँदैमा बिलाउँदैनन् तेजी तारा
घामपानीको मौसम छ बतासे छन् धेरै कुरा
देउरालीमा सुस्ताउँदै चौतारीमा आँखा रुन्छन्
हार्नेहरू फूल रोप्छन् जित्यौ भन्ने ओखल्छन् ।
।।२।।
पानी सुके मुहानमा उठ्छन् धुलोमुलो
उजाड छन् बगैँचा यी बन्दैनन् यहाँ किन किलो ?
जता हे-यो हिरामोती बस्ती शून्य छ उन्नति
उन्मादमा उन्मात्तिँदै झरेको छ मानव मनि ।
।।३।।
पत्करको स-याङ्सुरुङ न्याउली बाजा भन्छन् कोही
पहाडका लालीगुराँस बसेका छन् सधैँ रोई
मन्दिरको गजुरमा हिमालको छाया खस्यो
बोलचाल हुन बाँकी छँदै त्यहीँनिर माया बस्यो ।
।।४।।
मेरो पनि एउटा जित कोइलीले गाको गीत
आँसु भनी नठानिदेऊ होइन यो त फूलको शित
पानी बग्ने खोला हुन् यी रगत बग्ने नदी होइन
सागर छ गहिरो मन सके झिक सुक्ने छैन ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
अनेकताबीचको एकता– जेबी खत्री
सधैँ हाँसेर
मात्र बोल्ने मान्छे ऊ
आजभोलि उसको
अनुहारमा हाँसो देखिँदैन ।
हामीसँगै खान्थ्यौँ ।
सँगै खेल्थ्यौँ ।
सँगै हिँड्थ्यौँ ।
सँगै मेलापात जान्थ्यौँ ।
एउटै घरका सदस्यजस्तै
थियौँ पहिले हामी ।
सँगै लेक–बेँसी गथ्र्यौँ ।
हाट–बजार सँगै जान्थ्यौँ ।
एउटै धागोमा
उनिएका फूलका
थुँगाजस्ता थियौँ ।
हामीबीचको सद्भाव
कति राम्रो थियो ।
सुख–दुःख साट्थ्यौँ
एक–अर्कामा
सँगसँगै हातेमालो गरेर
अघि बढेको
सम्झना ताजै छ ।
सङ्लो पानीजस्तो
थियो हाम्रो मन ।
बिर्सिएछ भनी
सम्झाउन खोज्छु,
म अहिले उसलाई
ती हाम्रा सुमधुर
सम्बन्धहरू
सम्झनै चाहँदैन ऊ
अहिले त्यो अतीतलाई
अनेकताबीचको
एकतालाई ।
प्रतिक्रिया