विश्वकप फुटसलका लागि खेलाडी टोली अर्जेन्टिना प्रस्थान गर्दै

विश्वकप फुटसलका लागि खेलाडी टोली अर्जेन्टिना प्रस्थान गर्दै


नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली आज (बिहीबार) अर्जेन्टिनातर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ ।

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।