राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका नेकपा (विप्लव) का सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई जिल्ला अदालत (सिन्धुपाल्चोक)ले धरौटीमा छाड्ने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु ६ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिएका छन् ।
उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारेर नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लाका चार महिलासहित १७ जनालाई राज्यविरुद्धको अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
पक्राउ परेकाहरूबाट सैन्य तालीम गराउने कागजात, चन्दा सङ्कलन गर्ने लेटरप्याड, राज्यविरुद्धको पर्चा र पम्ल्पेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
प्रतिक्रिया