प्रधानमन्त्री भन्छन्– अब हिंसा र क्रान्तिको औचित्य छैन

प्रधानमन्त्री भन्छन्– अब हिंसा र क्रान्तिको औचित्य छैन


प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन् ।

नेकपाको प्रदेश ३ को प्रथम बैठकको बिहीबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकांक्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । कम्युनिस्टको बर्काे ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानुनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टीपंक्ति स्पष्ट भए हुन्छ ।’

त्यस्तो समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै उनले मुलुकबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको बताए ।

अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन्, कम्युनिस्टको बर्काे ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानुनबमोजिम नियन्त्रण गर्छ

पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गरे । उनले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीको भनाइ छ, ‘नेतृत्वले कुनै लाखापाखा गर्दैन । त्यसैले अब कसैले गुटबन्दी गर्नुपर्दैन । गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिस्ट सरकारको चरणमा पुगेका छौँ । अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ ।’

पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रित जनताको जनवाद विचारधारा लिइएको उल्लेख गर्दै उनले जनतामा भनेर मात्र नभई गरेर देखाउने गरी नेता–कार्यकर्ता प्रस्तुत हुन आग्रह गरे ।

केन्द्र, प्रदेश र स्थानीय तहमा विकासको आधार शुरु भएको र यसबीचमा धेरै कानुन निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना भएन भनिनुको अर्थ नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले कम्युनिस्ट सरकारले आयोजना गरेकाले लगानी सम्मेलन सफल हुँदैन भनेर गरिने टिप्पणी देशको हितविरुद्ध भएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामीले पुँजी र प्रविधिको विकासका लागि विदेशी लगानी स्वीकार गरेका छौँ र निजी क्षेत्रसँग सहकार्य गरेका छौँ । यो दलाल पुँजीवाद होइन । यसो नगर्ने हो भने विदेशबाट सामान किनेर प्रयोग गरिरहनुपर्ने परनिर्भर अवस्थामा हामी रहनेछौँ ।’

कार्यक्रममा अध्यक्ष ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ पनि गराए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव छन् । कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र सहइन्चार्ज हितबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।