इन्द्रेणी

इन्द्रेणी


indreniटीकापुर प्रहरी हत्याकाण्ड – रत्ननिधि रेग्मी
बहत्तर सालको भदौ हो मैह्ना सात गते सोमबार
आतङ्कवादी समूह पस्यो कैलाली–टीकापुर
भाला र बर्छी, लाठी र फर्सा हात–हातमा लिएका
कैलाली बेग्लै बनाउन प्रदेश उद्यत् भएका ।।१।।
सुरक्षा–शान्ति गर्नलाई भनी खटिए प्रहरी
निषेध आज्ञा तोड्नलाई भीड वैरियो आखिरी
सशस्त्र पनि साथैमा थियो ड्युटीमा खटेको
प्रहरीमाथि आक्रमण हुँदा पछाडि हटेको ।।२।।
एसएसपी हाम्रा असाध्यै राम्रा लक्ष्मण न्यौपाने
हो जन्मस्थल उनको भन्छन् भोजपुर–गोगने
झापामा घर भए तापनि काठमाडौं बस्दथे
जनता मार्नुहुँदैन भन्ने धारणा राख्दथे ।।३।।
मुनुवा भन्ने गाविसभित्र चिलिम– चौराहा
आतङ्ककारी हुलका हुल ओरियो अथाहा
तैपनि उनी निःशस्त्र गए सम्झाउन बुझाउन
उनैका माथि लाठी र भाला थालेछन् बर्साउन ।।५।।
चक्कुले चिरे, छुरीले रोपे, भालाले घोपेर
जिउमा खाली थिएन कहीँ फर्साले हानेर
तैपनि भाग्दै सीताको घरमा पुगेर लुकेछन्
तानेर ल्याई यातना दिँदै तड्पाई मारेछन् ।।६।।
पचास बढी प्रहरी थिए घाइते भएका
प्रहरीचाहिँ संयम बनी काम गर्दै रहेका
तैपनि मारे प्रहरी त्यहाँ लखेटी–लखेटी
सुन्दैमा पनि भक्कानो फुट्छ सबैको एकचोटि ।।६।।
निरीक्षकद्वय बलराम विष्ट, केशव बोहोरा
ढुङ्गाले हानी, भालाले रोपी जिउँदै मारेका
प्रहरीद्वय श्यामबहादुर खड्का, लोकेन्द्र चन्दका
जिउभरि रगत देखिन्थ्यो त्यहाँ भल्भली बगेका ।।७।।
वरिष्ठ हल्वदार ललित साउद मारेर फालेछन्
सशस्त्र हल्वदार चौधरी रामविहारी पक्रेछन्
रूखमा बाँधी जिउँदै आगो लगाइदिएछन्
जनक नेगी दुई दिनसम्म बाँचेर मरेका
टेकेन्द्र साउद बालक गोली निसाना परेका ।।८।।
सुरक्षाकर्मी तड्पाई मार्ने देशका शत्रु हुन्
हात–हातमा भाला बोकेर हिँड्ने आतङ्ककारी हुन्
जातीय सद्भाव बिगार्नेहरू नेपालका वैरी हुन्
यिनैको निर्मुल नगरेसम्म आउँदैन राम्रो दिन ।।९।।
मधेसी नेता बद्मास लाग्छन्, जनता सोझा छन्
विध्वंश यत्रो मच्चाउन माओवादी नै घुसेछन्
दश वर्षअघि नेपाल सखाप यिनैले बनाए
देशमा शान्ति छाउँथ्यो यिनलाई नौ डाँडा कटाए ।।१०।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।

सक्ने भए म– वसन्त ढुङ्गाना ‘यात्री’

यदि सक्ने भए म
केही परिवर्तन अवश्य गर्थें
साँच्चै सक्ने भए म
यी परिवर्तन अवश्य गर्थें

तीखा वाचन गर्ने ओठमा
मीठा शब्दका लाली लाइदिन्थेँ
कुकर्म गर्ने ती हातहरूमा
मिहिनेतको नसा भरिदिन्थेँ
स्वार्थले भरिएको दिमागमा
मानवताको बिउ रोपिदिन्थेँ
रिसले मुर्मुरिएका नयनमा
प्रेमको अत्तर छर्किदिन्थेँ

नाबालक पिट्ने हातमा
ममताको रङ पोतिदिन्थेँ
अत्याचार गर्ने आत्मालाई
अलिकति तर्साइदिन्थेँ
धनका घमण्डी त्रिनेत्रलाई
जीवनको मिठासले ढाकिदिन्थेँ
अपराध गर्ने सोचाइहरूलाई
सुन्दर गोरेटोमा धकेल्दिन्थेँ

यदि सक्ने भए म
केही परिवर्तन अवश्य गर्थें
साँच्चै सक्ने भए म
यी परिवर्तन अवश्य गर्थें

यन्त्ररूपी संसारबाट
केही यन्त्र मेटाइदिन्थेँ
सम्बन्ध बिर्सेका रेखाहरूलाई
मिलनको बिन्दुमा पु-याइदिन्थेँ
जनता अल्झाउने अङ्कुशेहरूमा
देशभक्तको भाव अल्झाइदिन्थेँ
ती भिजेका आँखाहरूमा
मुस्कानको सुवास छरिदिन्थेँ

देश बिर्सेर बिदेसिएका मुटुमा
देशभक्तिको बिउ रोपिदिन्थेँ
एक्लोपनका प्रेमीहरूलाई
साथको मिठास चखाइदिन्थेँ
बन्चरो चलाउने हातमा
प्राकृतिक सुन्दरताले बाँधिदिन्थेँ
हरेस खाएका आँतहरूलाई
जोसका ज्वालाले जलाइदिन्थेँ

हरेस खाएका आँतहरूलाई
जोसका ज्वालाले जलाइदिन्थेँ ।।