रङ्ग–विरङ्ग

रङ्ग–विरङ्ग


ramailo-ghamailo2सिंहसँग सुत्ने युवती
दक्षिण अफ्रिकाको ब्लोइमफोन्टनेनिवासी युवती मेकी वेन टोन्डरको सोख यस्तो छ कि सामान्य मानिस त सुन्दैमा थरथरी काँप्न सक्छ । मेकी आफ्नो एक पाल्तु पोथी सिंहसँग यस्तो मस्त अन्दाजमा सुत्छिन्, मानौँ त्यो हिंस्रक जङ्गली जनावर नभई प्रेमी या मायालु पति नै हो । देखावटीको लागि एक–दुईपटक होइन, मेकीको यो नित्य व्यवहार नै बनेको छ । जङ्गलमा आफ्नी आमासँग विछोडिएको सिंहको बच्चीलाई उनले निकै वर्षअघि ‘धर्मसन्तान’को रूपमा अपनाएकी थिइन् । एक रात उनी सुतिरहेकै ओछ्यानमा आएर एल्सा नाम दिइएको उक्त बच्चा सिंह सिरकभित्रै घुस्रियो । मेकीलाई त्यसप्रति यति स्नेह जाग्यो कि त्यसयता हररात उनले एल्साकै साथ सुत्ने निर्णय गरिन् । सुरु–सुरुमा त मेकीले सिंहको छालाको एक वस्त्र तयार गरी आफूले पनि त्यो पहिरिएर एल्सालाई अपनत्व दर्शाउने प्रयत्न गरिन्, तर पछि त यो पनि आवश्यक परेन । एल्साकी आमासरह बन्न पुगेकी मेकीले सिंहसँग सुत्ने आफ्नो आदतलाई दुनियाँसामु प्रस्तुत गरेर पैसा कमाउने माध्यमसमेत बनाएकी छिन् ।

झप्की लिनेलाई अब केको खप्की ?
थकाइ लाग्दा दिउँसै तन्द्रामा पर्नु सामान्य कुरा हो । कहिल्यै तन्द्रामा नपर्ने या दिउँसै ननिदाउने संसारमा सायदै कोही होलान् । कामको बेला कार्यालय, घर, सवारीसाधन आदिमा झप्की लिने या केहीबेरका लागि निदाउने कार्यलाई राम्रो भने मानिँदैन । तर, अब यो सोच पूरै उल्ट्याउनुपर्ने भएको छ । अर्थात्, दिउँसै निदाउने बानी परेकालाई खुसीकै खबर छ । एक अनुसन्धानले कामको दौडानमा थकाइ लागेर अचानक निदाउँदा आराम महसुस हुने मात्र नभई रक्तचाप नियन्त्रित हुने र भविष्यमा हुनसक्ने हर्ट अट्याकबाट समेत सुरक्षित रहन सकिने देखाएको छ । ६१ वर्ष उमेर समूहका करिब चार सय महिला र पुरुषमाथि गरिएको उक्त अनुसन्धानबाट दिनमा एक घन्टा निदाउने व्यक्तिको रक्तचाप अत्यन्त राम्रो अवस्थामा रहने पत्ता लाग्यो । सोही अनुसन्धानका क्रममा दिनमा चार या त्यसभन्दा बढी कप कफी लिने व्यक्तिलाई उच्च रक्तचापको समस्या रहनेसमेत पत्ता लागेको सम्बन्धित अध्येताहरूको दाबी छ ।

पैँतीस वर्षदेखि अनिँदो
कुनै व्यक्ति विगत ३५ वर्षदेखि निदाएकै छैन भनियो भने पत्याउन गाह्रै पर्छ । तर, भारतको बिहार गयानिवासी ५५ वर्षीय सुधीरमोहन सिन्हा यस्तै अपत्यारिला पात्र बन्न पुगेका छन् । ३५ वर्षअघि व्यापारमा धोका भएपछि निदाउन छोडेका उनी हालसम्म अर्थात् १२ हजार सात सय ५५ भन्दा बढी रात निदाएकै छैनन् । सन् १९७८ मा म्याट्रिक पास गरेपछि ट्युसन पढाएको पैसा जम्मा गरेर उनले पार्टनरसिपमा एक स्कुल खोलेका थिए । १९८५ मा आएर पार्टनरको जालझेलमा परेपछि आफैँले स्थापना गरेको स्कुल सुधीरको हातबाट गुम्यो । त्यस घटनाबाट डिप्रेसनमा गएका उनी अहिलेसम्म ननिदाईकन बाँचिरहेका छन् । १५ मे १९८९ मा बिहे भएदेखि नै एक रात पनि लोग्ने निदाएको आफूले नदेखेको सुधीरकी पत्नी बताउँछिन् । रातभर जाग्राम बस्नुपर्ने भएपछि उनले रातभर खट्नुपर्ने प्रिन्टिङ प्रेसको काम अपनाएका छन् । स्थानीय चिकित्सकले सुधीरको यो अवस्था रिसर्चको विषय भएको बताएका छन् ।

बाइकमाथि नाङ्गै युवती
बाइक चलाउँदा सुरक्षाका हिसाबले हेलमेट पहिरिने चलन विश्वव्यापी नै छ । त्यसैले बाइकमा सवार हुनेले हेलमेट लगाउनु कुनै अनौठो विषय बन्न सक्दैन । तर, कसैले यदि शिरमा हेलमेट पहिरिएर शरीरचाहिँ पूरै नाङ्गै छोडी खुलेआम सहर घुम्छ भने त्यो अवश्य नै रोचक विषय बन्न पुग्छ । रुसको एक सहरमा यस्तै दृश्य देखियो, जो यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । एक मस्त उमेरकी युवती कुनै पुरुषको पछिल्तिर मोटरसाइकलमा सवार छिन्, उनको टाउकोमा हेलमेट छ भने पाइतालामा जुत्ता पनि, बाँकी शरीर नाङ्गै । यस रूपमा युवतीलाई सहरमा मस्त घुमिरहेको देखेपछि धेरैको ध्यान तानियो । मानिस आँखै नझिम्क्याई युवतीको साहसपूर्ण बाइक–यात्रा नियाल्न थाले । ती कुनै सन्की या पागल युवती नभई कुनै स्टन्टका लागि त्यसरी नाङ्गै सहर घुमेकी रहिछिन् भन्नेचाहिँ पछि मात्र खुलासा भयो । जे होस्, युवतीको साहसको त तारिफ गर्नैपर्छ ।

गुडिरहेको कारमा यौनक्रीडा गर्दा…
कार दुर्घटना हुँदा घाइते अवस्थामा नाङ्गै भेटिएपछि एक युवकलाई बेलायतको अदालतले सात वर्षको जेल सजाय सुनाएको छ । दुर्घटनामा परेको व्यक्तिलाई यति लामो जेल हाल्नुपर्ने अवस्था निम्तिनुको कारणचाहिँ रोचक छ । भारतीय मूलका ३६ वर्षीय मिनेश परवटले बीएमडब्लू कारलाई प्रतिघन्टा सय किमिको रफ्तामा हुँइक्याउँदै आफ्नी २८ वर्षीया प्रेमिकासँग ड्राइभिङकै क्रममा यौन क्रियाकलाप गरेका रहेछन् । सोही उत्तेजनामा परेर कार दुर्घटना हुँदा दुई बच्चाकी आमा लिसा वाटलिङ नामक ती प्रेमिकाको इहलीला समाप्त भएछ, मिनेशचाहिँ सामान्य घाइते भई बाँच्न पुगेछन् । उद्धार टोलीले दुवैलाई नाङ्गै फेला पारेपछि केरकार गर्दा आफू प्रेमिकासँग यौनक्रीडा गरिरहेको अवस्थामा कार दुर्घटना भएको मिनेशले खुलासा गरेका थिए । यही प्रमाणलाई आधार बनाएर अदालतले उनमाथि सात वर्षको जेल सजाय तोकियो ।