फन टाइम

फन टाइम


funtimeलन्डनमा उल्लासमय नेपाली मेला
लन्डन/ लन्डनस्थित केम्पटन पार्कमा आयोजित नेपाली मेला, उल्लासमय वातावरणमा सम्पन्न भएको छ । तमु धीं यूकेका केही उपशाखाहरूलगायत जम्मा २७ वटा सङ्घसंस्थाको सहभागिता रहेको २०१५ को नेपाली मेला गत वर्षको भन्दा अत्यधिक जनसहभागितामा सम्पन्न भएको छ । कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको मुख्य आतिथ्यमा रहेको सो कार्यक्रमको सभापतित्व, तमु धीं यूकेका अध्यक्ष रामचन्द्र सूर्जे गुरुङले गरेका थिए । विगतको तुलनामा ज्यादा विस्तारित स्थानहरू मिलेकोले यसपालि नेपाली मेला निकै नै व्यवस्थित रहेको थियो । आकाश धुम्म परेको नरमाइलो दिनमा पनि उल्लेखनीय मात्रामा जनसहभागिता रहेको सो कार्यक्रममा जोयना लुम्लेको समेत उपस्थिति हुने भनिएको भए पनि उनी उपस्थित थिइनन् ।
नेपाली मेलामा आफ्ना झाँकीहरूका साथ सहभागिता जनाउने २७ वटा सङ्घसंस्थामा तमू धीं यूके, द.पू. क्षेत्रीय तमू धीं इकाइ, पुन समाज, लम्जुङ समाज, किरात याक्थुम चुम्लुङ, बीसीसी यूके, सोपाल समाज, मगर समाज, तमु प्येल्हु सङ्घ, शेर्पा एसोसिएसन, श्री मेस्राम बराम घान्द्रुक सेवा समाज, हेभेन्ली निर्वाण पथ, सिक्लेस पार्चे कम्युनिटी, गोर्खा समाज, चार भन्ज्याङ तमु समाज, थकाली समाज, ह्याम्सायर सरी तमु धीं इकाई, खस एकता समाज, तामाङ समाज, यती एसोसिएसन, रेडिङ तमु समाज, तमू धीं लन्डन इकाइ, खो सो भो समाज, पर्वत वेल्फेयर सोसाइटी, मद्दत समूह, चाइनिज ड्रागन झाँकी, युथ नेपाली ब्यान्ड थिए । झाँकीहरूको प्रदर्शनी गर्ने संस्थाहरू यसपालि पहिलेको भन्दा कम थिए । उपस्थित जानकारका अनुसार खराब मौसमको भविष्यवाणीको प्रभावले गर्दा अन्तिम समयमा सहभागिता राख्नेहरू नआएको हुन् ।
अत्यन्तै व्यवस्थित किसिमले सञ्चालित भएको मेलामा यसपालि पनि चासो राख्नेहरूबाट कार्यक्रमको बारेमा आलोचनाहरू नगरिएका होइनन् । मेलामा राखिएका स्टलहरूमा गत सालको तुलनामा विविधताहरू नभएको गुनासो एकातिर रहेको थियो भने अर्कोतिर ती स्टलहरूमा खासगरी नितान्त पारम्परिकता देखाउने क्रममा राख्न खोजिने भेषभूषालगायतका खाद्य परिकारहरूको तुलनामा व्यापारिक प्रयोजनका स्टलहरू भएको असान्दर्भिक मानिएको थियो । सबैभन्दा खट्किने कुरामा एक आमपरिवारले अन्य समुदायका आफ्नो छिमेकी तथा साथी वा तिनका परिवारलाई सम्मिलित गर्न नसकेको मानिएको छ भने आयोजकले पनि यसबारे गम्भीरताका साथ पाइला नचालेको आरोप यसपालि पनि लागेको छ । तर, नेपाली विभिन्न जातजातिका समुदायका नयाँ पुस्तालाई आकर्षित गर्न भने संस्था सफल भएको बताइएको छ । नेपाली संस्कृति तथा पारम्परिकताबारे युवा पुस्तामा चासोलाई अभिवृद्धि गराउनका लागि संस्था सही बाटोमा लागेको महसुस गरिएको छ ।
तमु धीं यूकेको विशालता यसपालि पनि उस्तै गरी देखिएको छ । आफ्ना विविध उपशाखाहरूलाई सम्मिलित गराई तमुमय रूप देखाएको लाग्ने गरी तमु जातिका व्यापक सहभागितामा, अन्य जातिहरूले आफ्ना सहभागितामा उकुसमुकुस अनुभव गरेकोजस्तो पनि देखिएको छ । निश्चय नै, तमु धीं यूकेको शक्तिको राम्रो सदुपयोग यसपालि पनि भएको छ । यत्रो ठूलो कार्यक्रमलाई सजिलोसँग आयोजना गर्नु, सानो कुरा थिएन, जसको सम्पूर्ण रूपमा श्रेय तमु धींलाई जान्छ । तर, नेपाली मेलाको आयोजना गर्ने क्रममा उपसमितिहरूमा अन्य खासगरी जातिविशेष सहभागिता गराई तिनलाई व्यापक पार्न जोड दिन यसपालि पनि संस्था केही चुकेको बताइएको छ । नेपाली मेलामा उपस्थित हुने सहभागिताका साथै उक्त मौकालाई नितान्त नेपाली विशेष अवसरको रूपमा मनमा राख्ने सम्बद्ध बेलायती नेपालीका अनुसार तमु धीं यूकेले आर्जेको शक्तिपछि जिम्मेदारी पनि उत्तिकै महसुस गर्दै मेलाको आयोजनामा व्यापक रूपको सहभागिता राखेर, स्थानीय समाजलाई दर्शकको रूपमा ल्याउनेतर्फ संस्था गम्भीर हुनुपर्ने भएको बताइएको छ । बेलायतजस्तो देशमा नेपाल विविध जातजातिका जनसमुदायहरूलाई एकै ठाउँमा राखेर नेपाली भाइचाराको ज्वलन्त उदाहरण तमु धीं यूकेले जसरी देखाएको छ, त्यसको केही अंशको झलक, नेपाली राजनीतिक पार्टीहरूले नेपालमा देखाउन सके नेपाल सुन्दर हुने विश्वास तिनले गरेका छन् ।
– प्रकाश के.सी. (लन्डनबाट)

‘भेडीखर्के साइँला’ अस्पतालमा
‘भेडीखर्के साइँलाको नामले चिनिने ठाडो भाकाका गायक दीर्घराज अधिकारीलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । रुघा, खोकी, दमलगायतका रोगबाट थलिएपछि यही भदौ ४ गते शुक्रबार उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । विशेषतः गण्डकी अञ्चलमा प्रख्यात गायक साइँलाको उपचारका लागि ‘केमराली डाँडागाउँले समाज लमजुङ’बाट एक लाख ३५ हजार पाँच सय २५, बेलायतमा बसोवास गर्दै आएका हरिबहादुर दुरा, ओमराज दुरा र सिंहबहादुर दुराबाट ६० हजार, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानबाट १५ हजार, लक्ष्मीप्रसाद गुरुङबाट करिब १७ हजार, कृष्ण गुरुङबाट १० हजार, गायक कृष्ण कँडेलबाट दुई हजार पाँच सय र रेशम दुराबाट दुई हजार सहयोग गरिएको बताइएको छ । ८२ वर्षीय अधिकारीले आफ्नो गायन कार्यमा लगातार दुई रात तीन दिनसम्म विभिन्न पर्व, सभा, समारोहमा गीत गाएको कीर्तिमान छ । नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान (उपत्यका समिति) बाट ०६६ सालमा उनलाई ठाडोभाका शिरोमणिको उपाधिसमेत दिइएको थियो ।

पूर्वमन्त्री वाग्लेको कृति विमोचन ‘सत्य नबोल्दा सबै बिग्रियो’
पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी वाग्लेको दोस्रो कृति इतिहासमा आधारित उपन्यास ‘बलिदानले बनेको देश’ सार्वजनिक गरिएको छ । नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाहको भूमिकामा केन्द्रित सो उपन्यासको विमोचन गत सप्ताहन्त आयोजित एक कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गरे । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. घिमिरेले पृथ्वीनारायणले एकीकरणपछि देशको नाम ‘गोरखा’ नराखेर ‘नेपाल’ राख्दै उनले आफूलाई दूरदर्शी राजा भएको प्रमाण दिएको बताए । मुलुक फेरि टुक्रिने खतरा बढिरहेका बेला नेपालको पुनर्एकीकरणका लागि पुनः अर्को पृथ्वीनारायण शाहको आवश्यकता परेको तर्क गर्दै उनले नेपाल निर्माणमा राजा पृथ्वीनारायण शाहसहित जंगबहादुर राणा र बीपी कोइराला गरी तीनजनाको आ–आफ्नो कालखण्डमा उच्च योगदान रहेको चर्चा गरे । विद्वान्हरूले मुख खोलेर सत्य बोल्न डराउनुहुँदैन भन्दै उनले भने, ‘हामीले सत्य नबोल्दा मुलुक बिग्रियो, राजनीति बिग्रियो, विचार बिग्रियो र हामी पनि बिग्रियौँ ।’
कार्यक्रममा उपन्यासका लेखक पूर्वमन्त्री वाग्लेले मुलुक विखण्डनको दिशातर्फ गएकाले मुलुक जोड्ने मिहिनेतको प्रसङ्ग उठान गरेको बताए । गोरखा मूलघर भएका आख्यानकार वाग्लेले उपन्यास पृथ्वीनारायणकै नायकत्वमा लेखिएको भए पनि राष्ट्र एकीकरणमा सबै जात, धर्म, भाषा र क्षेत्रका जनताको उत्तिकै साथ रहेको देखाउन खोजिएको जानकारी दिए । उनले भने, ‘विराज बखेती मगर, बिसे नगर्ची, बिजुलीवीर कामीदेखि सबै जात र सम्प्रदायका मानिसले नेपाल एकीकरणमा रगत–पसिना बगाएका थिए, तर कुशल नेतृत्व पृथ्वीनारायणको थियो भन्ने मेरो उपन्यासको आशय हो ।’ उनले यो मुलुक कसरी बनेको हो र कसरी जोडिएको हो भन्ने कुराको मनन गराउन आफ्नो पुस्तक सफल हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लागि राष्ट्रकवि माधव घिमिरेले शुभकामना सन्देश दिएका थिए भने पृथ्वी विचार अभियानका संयोजक भरत बस्नेत, साहित्यकार दिनेशराज पन्त, वाल्मीकि क्याम्पसका शिक्षक नवराज कट्टेललगायतले पृथ्वीनारायणले काठमाडौं उपत्यकाको विजयपछि यहाँकै संस्कृति र परम्परा आत्मसात् गरेकाले उनी प्रजातान्त्रिक राजा भएको धारणा अघि सारे ।
पुस्तकमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सिङ्गो देश एकीकरण गर्दाबखतको सङ्घर्षपूर्ण कथालाई वर्णन गरिएको छ । औपचारिक शिक्षासमेत नलिएका पृथ्वीनारायणले अन्यको तुलनामा आर्थिक विपन्नता भएको तथा भौगोलिक रूपमा पनि सानो गोरखा राज्यलाई बढाएर पूरै नेपालको एकीकरण कसरी गर्नसके भन्ने विषयलाई पुस्तकमा देखाइएको छ । पूर्वमन्त्री वाग्लेद्वारा लिखित ‘बन्धनशालामा खिर’ नामक पुस्तक यसअघि नै प्रकाशित छ ।

‘काठमाण्डू सेल्फी’मा झुल्किए सायमी
साहित्यकार, चलचित्र निर्देशक एवम् पत्रकार प्रकाश सायमीको ‘काठमाण्डू सेल्फी’नामक सिर्जनात्मक गद्य साहित्यप्रेमीमाझ आएको छ । पुस्तक विमोचन गर्दै चलचित्र निर्देशक तथा गीतकार चेतन कार्कीले चन्द्रमामा १६ प्रकारका कला पाइन्छ भने साहित्यकारमा ६४ प्रकारका कला पाइन्छ भन्दै अपार ज्ञान र उच्च अध्ययन क्षमता भएका साहित्यकार सायमीको ‘काठमाण्डू सेल्फी’ समीक्षात्मक कृति भएको बताए । यस्तै, गीतकार नगेन्द्र थापाले प्रस्तुत कृतिले क्यामराको लेन्सले हेरेजस्तै गहन अध्ययन गरेको र यसले विगत, वर्तमान र आगतका कला, साहित्यलाई पनि समेटेको छ भन्दै अनुसन्धान गर्नेका लागि पनि यो कृति राम्रो खुराक बन्न सक्ने दाबी गरे । पत्रकार रवीन्द्र मिश्रले अन्तरदृष्टिले काठमाडौं नियाल्दा देखिने सचित्र नै ‘काठमाण्डू सेल्फी’ भएको उल्लेख गरे । कलाकार कृष्ण मल्लले पनि सर्जक सायमीको लेखन शिल्पबारे मन्तव्य दिएका थिए । ‘काठमाण्डू सेल्फी’भित्र काठमाण्डू सेल्फी, नेपथ्यमा हराएकाहरू, सम्पादक थरीथरीका, मेरो नाम, सवारी मेरो रेलैमा, बम्बई कथा, लखनउ डायरीलगायत ४३ लेख समावेश छन् ।

स्रष्टाहरू सम्मानित
पालुङ साहित्य परिषद्ले हालै एक कार्यक्रमको आयोजना गरी कवि उज्ज्वल जीसीलाई बीपी कोइराला स्मृति साहित्य सम्मान प्रदान ग-यो । पालुङस्थित थाहा नगरपालिका भवनमा आयोजित कार्यक्रममा हेटौँडाका ह्याग्रिब आचार्यलाई रूपचन्द्र विष्ट स्मृति साहित्य सम्मान, स्याङजाका युवाकवि मिलन समीरलाई मदन भण्डारी स्मृति साहित्य सम्मान एवम् दाङकी भवानी न्यौपानेलाई पनि पालुङ साहित्य सिर्जनशील नारी स्रष्टा सम्मानद्वारा सम्मानित गरियोे । उक्त कार्यक्रममा थाहा कला केन्द्रका प्रतिभावान प्रशिक्षार्थीले विभिन्न गीतहरू गाएर उपस्थित सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । सोही कार्यक्रममा कवि तथा समालोचक बिर्खे अञ्जानद्वारा लिखित शल्यक्रिया नामक समालोचना सङ्ग्रहको विमोचन गरिएको थियो । मकवानपुरको पालुङमा सम्पन्न उक्त पहिलो साहित्यिक कार्यक्रममा स्थानीयलगायत विभिन्न जिल्लाबाट आएका अतिथि कविहरूद्वारा कविता, गीत, गजल र मुक्तक वाचन गरिएको थियो ।

गोकर्णेश्वरमा रोपाइँजात्रा
गोकर्णेश्वरमा प्रथम गोकर्णेश्वर शंखडोल रोपाइँजात्रा सम्पन्न भएको छ । भगवती युवा क्लबले आयोजना गरेको उक्त रोपाइँजात्रामा लाखेनाच, धिमेबाजा, बाँसुरी बाजा, धिङ्ताङ् घिसी र रोपाइँजात्राको प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा नेपालका चर्चित हास्यव्यङ्य कलाकारहरूले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।
परम्परागत संस्कृति जगेर्ना गर्न र कृषि विकासमा विशेष योगदान पु-याउन आयोजित रोपाइँजात्रा कार्यक्रम गोकर्णेश्वर अवस्थित भगवती मन्दिरदेखि आरम्भ भई शंखडोल हुँदै जोरपाटी अत्तरखेलमा गएर टुङ्गिएको थियो । सो जात्रामा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको थियो । प्रथम रोपाइँजात्रालाई सफलताका साथ सम्पन्न गर्न गोकर्णेश्वर नगरपालिका र स्थानीयले आर्थिक सहयोग गरेका थिए । जात्राको उद्घाटन क्लबका अध्यक्ष शिवराम कारञ्जितले गरेका थिए । कारञ्जितले यो जात्राले आगामी वर्षमा पनि निरन्तरता पाउने बताउँदै भव्यतापूर्वक आयोजना गर्ने बताए ।