पारा खेलाडीलाई जापानी सहयोग

पारा खेलाडीलाई जापानी सहयोग


नेपालको पारा तेक्वान्दोलाई जापानको मिकी सिटी महानगरपालिकाले सहयोग गर्ने भएको छ । अर्को वर्ष जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो ।

एकहप्ते विशेष प्रशिक्षणमा खेलाडीहरू पलेसा गोवद्र्धन, विक्रम श्रेष्ठ, रोहित राई, सुवासचन्द्र राई र दिपेश महत तथा प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनेछन् । सोसम्बन्धी सम्झौतापत्रमा जापानको एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष एकेमी मिजुबा र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले एक कार्यक्रममा हस्ताक्षर गरे । नेपाली पारा टोलीले आगामी अगस्ट पहिलो साता जापानको भ्रमण गर्नेछ ।

सम्झौतापछि एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष मिजुबाले जापानमा हुने प्रशिक्षण नेपाली पारा खेलाडीका लागि लाभदायक हुने बताइन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष राणाले जापानमा हुने प्रशिक्षण ओलम्पिकका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

लालीगुराँस नेपालका अध्यक्ष रोशन श्रेष्ठको विशेष पहलमा जापानले पारा खेलाडीलाई प्रशिक्षण दिन लागेको हो । जापान जाने खेलाडी तथा प्रशिक्षकको सम्पूर्ण खर्च मिकी सिटी महानगरपालिकाले व्यहोर्नेछ ।