सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र भन्ने माग अघि सार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर हस्ताक्षर अभियान शुरु गरेको छ । आइतबार (चैत १७) शुरु भएको अभियान यही चैत २३ गतेसम्म सञ्चालन गरिने राप्रपाले जनाएको छ ।
देशका सबै जिल्ला सदरमुकाममा हस्ताक्षर सङ्कलन केन्द्रको व्यवस्था गरिएको र उक्त अभियानलाई सोमबारदेखि स्थानीय तह, क्षेत्रीय तह, नगर तहसम्म पुऱ्याइने बताइएको छ । तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकीकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने राप्रपाको कार्यक्रम छ ।
पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौँ, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले क्रमशः झापा र बाँकेमा अभियानको नेतृत्व गरेका छन् ।
सो पार्टीका प्रवक्ता भुवन पाठकले जनाएअनुसार राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तामाङले मुलुकको प्राचीन सभ्यता, संस्कृति, सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको पहिचान खाँचो रहेको बताउँदै उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक शक्तिहरूबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया